निषेधित क्षेत्र खुला गर्न माग गर्दै उत्तरी गोरखामा हेलिकोप्टर उडानमा रोक, पर्यटक अलपत्र

समाधान संवाददाता २०८१ असोज ९ गते १६:०१
फाइल तस्बिर

पोखरा । गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका स्थानीयले हेलिकोप्टर उडानमा रोक लगाएका छन् । सरकारले चुमनुब्री लगायतका क्षेत्रलाई निषेधित क्षेत्रमा राखेकामा त्यसलाई खुला गर्न माग गर्दै स्थानीयले हेलिकोप्टर उडानमा रोक लगाएका हुन् ।
स्थानीयले सामागाउँको हेलिप्याडमा ढुंगा थुपार्नुका साथै झण्डा समते गाडेर हेलिकोप्टर ल्यान्ड गर्न नदिएका हुन् । गाउँमा आपतविपत परेका बेला उद्धारका लागि हेलिकोप्ट ल्याउन समेत अप्ठेरो परेकामा सरकारको बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको स्थानीयको आरोप छ । निषेधित क्षेत्र खुला गरेर हेलिकोप्टर उडान सहज बनाउनुपर्ने माग आफूहरुले राखेको स्थानीय मिङमार लामाको भनाइ छ ।

यसका बारेमा गाउँलेहरु बसेर संघ सरकार, जिल्ला प्रशासन र गाउँपालिकामा स्थानीयले लिखित माग नै पेस गरेका थिए । माग पूरा गर्न ५ दिनको समय दिए पनि त्यसको बेवास्ता भएपछि हेलिकोप्टर उडान रोक्न वाध्य भएको उनको भनाइ थियो ।

स्थानीयको आन्दोलनका कारण मनाश्लु क्षेत्रबाट फर्कने पर्यटक अलपत्र परेका छन् । हिमाल चढेर फर्केका धेरैजसो पर्यटक सामागाउबाट हेलिकोप्टर चढेर काठमाडौं फर्कने गर्छन् ।

Advertisement

गोरखाका प्रमुख जिल्ला अधिकारी अधिकारी भोला दाहालले चुमनुब्रीका नागरिकको आन्दोलनका बारेमा गृह मन्त्रालयमा लेखी पठाइएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया