मुआथाई विश्व युथ च्याम्पियनसिपमा नेपालका खेलाडीले जिते स्वर्णपदक

पोखरा ।
थाइल्यान्डमा हालै आयोजित विश्व मुआथाई युथ च्याम्पियनसिप (आइएफएमए) मा नेपालले एउटा स्वर्णपदक जितेको छ । १८ वर्षमुनिका खेलाडीको प्रतियोगितामा ३९ देखि ४१ किलो तौल समूहमा नेपालका रमित महर्जनले स्वर्णपदक जितेका हुन् ।
नेपाल मुआथाई संघका राष्ट्रिय प्रशिक्षक दीपक गोदारको नेतृत्वमा नेपाली टोली उक्त प्रतियोगितामा भाग लिन गएको थियो । भदौ २६ देखि असोज ३ गतेसम्म भएको प्रतियोगितामा जितेर नेपाली टोली मंगलबारमात्रै नेपाल आइपुग्यो । प्रशिक्षक गोदारले तेस्रो चरणको प्रतिस्पर्धामा रमितले अफगानिस्तानका खेलाडीलाई नकआउट गर्दै स्वर्णपदक जित्न सफल भएको जानकारी दिए । रमितले पहिलो चरणमा पाकिस्तानबाट वाकओभर पाएका थिए । घाइते भएका कारण पाकिस्तानी खेलाडीले वाकओभर दिएका हुन् । दोस्रो चरणमा बहराइनका खेलाडीलाई पनि रमितले नकआउटमै पराजित गर्न सफल भएका थिए ।

आइएफएमएमा स्वर्णपदकसहित प्रमाणपत्र नेपालले प्राप्त गरेको छ । मुआथाईको युथतर्फ विश्व प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको यो पहिलोपटक हो । यसअघि पनि मुआथाईका एसियाली लगायत प्रतिस्पर्धामा भने विभिन्न देशमा नेपालले भाग लिँदै आएको थियो । थाइल्यान्डमा यसपालिको च्याम्पियनसिपमा वाटर स्पोर्टस्तर्फ पनि वाटर मुआथाईमा रमितले स्वर्णपदक नै जितेका थिए ।
कोभिड १९ को महामारीअघि दक्षिण कोरियामा भएको युथ एसियन च्याम्पियनसिपमा नेपाल दोस्रो हुन सफल भएको थियो । मुआथाई नेपालमा ओलम्पिक कमिटीद्वारा मान्यताप्राप्त अफिसियल खेल हो । तर राज्यले भने यो खेलमा लगानी गरेको छैन । यसपालिको प्रतियोगितामा पनि खेलाडी, प्रशिक्षक र व्यवस्थापक लगायतको टोलीलाई राज्यको लगानी थिएन । सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिक प्रतियोगितामा पनि नेपाली खेलाडीहरुले सहभागिता जनाउने भएका छन् ।
तपाईको प्रतिक्रिया