राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको वार्षिक साधारण सभा सुरु

समाधान संवाददाता २०८१ असोज ११ गते २१:३०

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २४ औँ केन्द्रीय वार्षिक साधारण सभा तथा विधान महाधिवेशन शनिबारदेखि पोखरामा सुरु भएको छ ।

Advertisement

महाधिवेशनमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यबाहेक ६ सय जना प्रतिनिधिले भाग लिएको अध्यक्ष रीता थापामगरले जानकारी दिइन् ।

पोखरा सभागृहमा भएको समारोहको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

Advertisement

साधारण सभामा प्रतिष्ठानलाई समय सापेक्ष एवं थप मजबुद बनाउनका लागि विधान संशोधन गर्न लागिएको छ । प्रतिष्ठानका अध्यक्ष थापामगरले साधारण सभाको आइतबार हुने बन्दसत्रमा विधान संशोधनका लागि मस्यौदा पेश गर्ने प्रतिष्ठानका केन्द्रीय सचिव शंकरविरही गुरुङले बताए ।

नयाँ पद थप्नुभन्दा पनि विधानमा सामाजिक सहायता कोषको व्यवस्था गरी विनियमावली बनाएर औपचारिक रुपमा सञ्चालन गर्ने तयारी प्रतिष्ठानले गरेको छ । संघीय संरचना अनुसार प्रतिष्ठानको संरचनालाई पालिकास्तर पुर्‍याउने तयारीसमेत गरिएको छ । उद्घाटन समारोहमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजीलाई २५ हजार नगदसहित विशेष सम्मान गरिएको छ ।
कार्यक्रममा लोकबहादुर क्षत्री स्मृति पुरस्कार २०८१ कौरा तथा खैजडी संरक्षणमा लागेका कलाकार रेशम गुरुङलाई प्रदान गरिएको छ । नारायण पाण्डे प्रतिभा पुरस्कार प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष शान्ता न्यौपाने प्रदान गरिएको महासचिव शिव हमालले जानकारी दिए । कार्यक्रममा लोक पत्रकारिता पुरस्कार लाली गुराँस डटकमका प्रकाशन कमल सरगम चौलागाईलाई प्रदान गरिएको छ ।

Advertisement

प्रतिष्ठानको वर्ष गायकको रुपमा कुशल बेलबासे र वर्ष गायिकाका रुपमा सम्झना भण्डारीलाई सम्मान गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लोक संस्कृति राष्ट्रिय एकताको प्रतीक भएको बताए । लोक संस्कृति र खेलकुदले राष्ट्रिय भावनाको विकास गरेको उल्लेख गर्दै उनले लोक दोहारीमा आफ्नो नेपाली पन भएको चर्चा गरे ।

‘लोक तथा दोहोरी गीतमा गण्डकी प्रदेश धनी छौं र हौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘ लोकदोहोरी भन्ने बित्तिकै मानिसको मन गण्डकी पुग्छ ।’ उनले लोक गीत निश्चित जात भाषा र भूगोलमा सीमित नभएर सबै नेपालीलाई भावना र सांस्कृतिक रुपमा जोडेको बताए । प्रदेश सरकारले श्रष्टा सम्मान, स्वास्थ्य बिमाको व्यवस्था गरेको जानकारी दिँदै उनले गण्डकीको लोक संस्कृतिको अध्ययन र अनुसन्धानमा ध्यान दिने उल्लेख गरे ।

उनले कोही कोही कलाकारबाट छाडापन आएको भएता पनि लोकगीतमा पश्चिमी संस्कृतिको प्रभाव पर्न दिन नहुने तर्क गरे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले अनुशासित र विधि सम्मत ढंगले विधान महाधिवेशन गर्ने जानकारी दिए । कार्यक्रममा हिमाली सांस्कृतिक परिवार पोखरा तथा प्रतिष्ठानका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

२४ औं वार्षिक साधारण सभा र विधान महाधिवेशनको सहआयोजकको जिम्मेवारी प्रतिष्ठान गण्डकी प्रदेश र स्थानीय व्यवस्थापनको जिम्मेवारी जिल्ला समिति कास्कीले पाएका छन् ।

तपाईको प्रतिक्रिया