जर्सी नम्बर १०

प्रमिला कुँवर २०८१ असोज १२ गते ९:१९

पोखरा ।
सानैदेखि भलिबल भनेपछि हुरुक्कै हुन्थिन् उनी । अरुले भलिबल खेलेको देख्दा आफू पनि भलिबल खेल्ने सपना देख्थिन् । उनमा विस्तारै भलिबल खेल्ने इच्छा अंकुराउन थाल्यो । हुर्किंदै जाँदा भलिबलमै केही गर्छु भन्ने इच्छा झन् दृढ बन्दै गयो ।

Advertisement


मेहनती र अनुशासित उनी विद्यालयमा हुने भलिबल प्रतियोगितामा सधैं सहभागी हुन्थिन् । राम्रो खेल्ने र उचाईं पनि राम्रो हुँदा सुनमा सुगन्ध जस्तै भयो । विद्यालय तहैबाट उनले बलियो जग बनाउँदै गइन् । उनको खेल हेर्ने जोकोही पनि खेलको प्रशंसा गर्थे, त्यसपछि उनी पनि फुरुंग पर्थिन् । भलिबल खेल्ने चाहनाले उनलाई कहिल्यै छोडेन पनि ।


सपना निरन्तर पछ्याइरहेकी उनी हुन् नेपाली महिला भलिबल टिमकी मिडल ब्लकर २८ वर्षीया सफिया पुन । बागलुङको गलकोट नगरपालिका १० काप्रेमा उनको जन्म भएका हो । लहैलहैमा सानैदेखि गाउँघरमा भलिबल खेल्न सुरु गरेको उनी सम्झिन्छिन् । अग्ली र राम्रो खेल्ने भएकाले सानै उमेरमा उनले गाविस स्तरीय प्रतियोगितामा मौका पाउन थालिन् ।


‘गाविस स्तरीय प्रतियोगिता खेल्ने क्रममा बागलुङको दगातुङडाँडामा राष्ट्रिय रेफ्री खुम गाउँलेसँग भेट भएको थियो । उहाँसँगको चिनजानले काठमाडौंमा हुने ढोरपाटन महिला भलिबल प्रतियोगितामा धादिङको टिमबाट खेल्न पाएँ,’ सोफियाले सम्झिइन् । उनका बाआमाको पनि भलिबलमा रुचि थियो । त्यसैले खेल्नका लागि घरपरिवारबाट पूर्ण सहयोग मिल्यो । खेल्न, सिक्न ऊर्जासमेत परिवारले दियो ।


प्रतियोगितामा राम्रो नतिजा नआए पनि उनका लागि भने अवसरको बाटो खुल्यो । प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनका कारण त्रिभुवन आर्मी क्लबले उनलाई अनुबन्धनको प्रस्ताव गर्‍यो । २०७३ सालमा उनी आर्मीमा आबद्ध भइन् ।

Advertisement

नेपालमा पनि खेल क्षेत्रबाटै आम्दानी र पहिचान बनाई बाँच्न सकिनेरहेछ भन्ने देखिएको छ


५ फिट ८ इन्च उचाइकी पुन विभागीय क्लब आर्मीकी खेलाडी हुन् । सफियाको भलिबल जीवनले तब सार्थकता पायो, जब उनी नेपाली राष्ट्रिय टिममा परिन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदबाट उनले राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । त्यसयता उनले राष्ट्रिय टिममा नियमित स्थान बनाइरहेकी छन् । उनकाे अर्काे परिचय समेत थपिएकाे जर्सी नम्बर १० ।


पुनले भनिन्, ‘गाउँतिर खेल्ने शैलीभन्दा फरक तरिकाले खेल्नुपर्ने भएकाले प्राविधिक रुपमा भलिबल सिक्न गाह्रो भएको थियो । क्लबमा आएपछि भलिबलको बारेमा बुझ्न पनि झन्डै एक वर्ष जति लाग्यो ।’ टिममा चिनजान नभएकाले पनि गाह्रो भयो । तर, सबैसँग घुलमिल भएपछि सजिलो भयो । गाउँमा खेल खेलिन्थ्यो मात्र, क्लबमा कसरी खेलिन्छ भनेर पनि सिकाइयो । बाह्रै महिना तालिमको अवसर आयो ।


आर्मीको टिममा धेरै खेलाडी नभएकाले सफियाले प्लेइङ सेटमा आफ्नो स्थान सुरक्षित गर्न धेरै समय कुर्नु परेन । चाँडै स्थान बनाइन्, भलिबलमा जम्दै छिन् । पुन पहिलो पटक नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको नेपाली टिममा परेकी थिइन् । त्यही टोलीले १३ औं सागमा रजत पदक जित्यो ।


त्यसयता राष्ट्रिय टिममा नियमित रहेकी सफिया गत वर्ष बंगलादेशमा एभिसी सेन्ट्रल जोनको उपाधि रक्षा गर्ने टोलीकी सदस्यसमेत हुन् । बंगलादेशमा नेपालले अपराजित रहँदै उपाधि जितेको थियो ।


सपनालाई निरन्तरता दिँदै अनुशासन र मेहनत गर्ने हो भने खेल क्षेत्रमा जम्ने आफ्नो बलियो आधार भएको बताउँछिन् उनी । भलिबलमा छोरीले केही गर्छे भन्ने लागेपछि उनका बाआमाले खेल्न निकै प्रेरणा दिएका थिए । भलिबललाई निरन्तरता दिने उनको योजना छ । प्रतियोगिता सहभागी हुन पुन चीन, बंगलादेश, थाइल्यान्ड लगायतका देश पुगिसकेकी छन् ।

खेल जित्नमात्रै खेलिने होइन, सिक्नका लागि पनि खेलिन्छः सफिया पुन


राम्रो खेलाडी आए पनि सेवा, सुविधा नहुँदा टिक्न समस्या भएकोप्रति उनको चिन्ता छ । खेल क्षेत्रमा थुप्रै सम्भावना उनले देखेकी छन् । खेलमै लागेर केही गर्छु भन्ने वातावरण नेपालमा नरहेको औंल्याउँदै उनी खेलेरमात्र खान नपुग्ने तथा खेल क्षेत्रमा लाग्ने भए नाममात्र रोज्नुपर्ने अवस्था रहेको सुनाउँछिन् ।


पछिल्लो समय नेपालमा खेलकुद क्षेत्रमा कस्तो भविष्य छ त ? सफिया भन्छिन्, ‘नेपालमा पनि खेल क्षेत्रबाटै आम्दानी र पहिचान बनाई बाँच्न सकिनेरहेछ भन्ने सन्देश जान थालेको छ । भत्ता, स्वास्थ्य बिमा, खेलकुदका सामग्री उपलब्ध गराई तालिमको व्यवस्था, व्यवस्थित खेल मैदान, खाने, बस्ने व्यवस्था गरिदिएमा खेल क्षेत्रमा विकास हुन्थ्यो । विस्तारै हुन्छ होला, समय लागे पनि । पछिल्लो समय खेल क्षेत्र राम्ररी विकसित भइरहेको छ ।’


सेवा, सुविधा सरकारले के उपलब्ध गराएको छ भन्ने प्रश्नमा उनी सोचमग्न बनिन् । धेरै बेर सोचे पछि भनिन्, ‘छ भनूँ भने केही देख्दिनँ, छैन भनूँ भने अलिअलि छ ।’


सफिया थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी छन् । कहिले जितेकी छन् भने कहिले पराजित बनेकी छन् । पराजित भए पनि उनको मलोबल घटेको छैन । ‘खेल जित्नका लागि मात्रै खेलिने होइन, सिक्नका लागि पनि खेलिन्छ । प्रतियोगितामा कहिले हार कहिले जित हुन्छ,’ उनले भनिन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया