हवाई त्रासदीका ४० घन्टा ……..

समाधान संवाददाता २०८१ असोज १४ गते ६:५२

रात्रु क्षत्री

पशुपति होटल, गौशाला । काठमाडौं ।

समय : रातको २ बजे ।

Advertisement

अहिले रातको ११:३२ भएको छ । हामी उडेको बुद्ध एअरको जहाज पोखराको आकाशमाथि चक्कर लगाइरहेको छ । केही सूचना आएको छैन, के भएको भन्ने बारे । यी शब्द लेखिरहदा ककपिटबाट खबर आयो – जहाज सुरक्षित लेन्डिङ गर्न नसकेको कारण पुनः काठमाडौं फर्कदैछ ।

हाय !

Advertisement

हवाई यात्राको यो कष्टको कथा न यहाँबाट आज सुरु भएको हो न आज नै अन्त हुने छाँट देखिन्छ ।

हिजो २८ तारिखको बिहान चिनको छिन्दुबाट उडेको चाइना एअरको जहाज २ घन्टा बढी आकाशमा उडेपछि काठमाडौंको मौसममा आएको खराबीका कारण पुनः छिन्दु फर्कियो । चिनको पट्यार लाग्दो करिब १ महिना लामो बसाइपछि घर फर्किन लागेका सबै जना निरास थियौं । ४ घन्टाको उडानबाट थकित भएका हामीलाई एउटा तारे होटेलमा लगेर राख्यो ।

आज बिहान आँखा मिच्दै ५ बजे उठेर फेरि एअरपोर्ट आयौं । लामो र झन्झटिलो सुरक्षा चेकिङपछि बल्ल जहाज उड्यो । काठमाडौंको मौसम कस्तो होला ? फेरि फ्लाइट रिटन हुने हो कि भन्ने भयले गर्दा यात्रुका मुहारमा बेचैनी देखिन्थ्यो ।।

धन्न – समयमै जहाज काठमाडौं लेन्ड भयो । सबैका मुहारमा देखिएको खुसीमा खुसी साटासाट गर्‍यौं । तर मेरो हवाई यात्रा अझै बाँकी थियो । सरीताले बुक गरिदिएको पोखराको यात्राको लागि दिनभर एअरपोर्टमा पर्खेर बसे । बल्ल साझ ६ बजेको टिकट हात पर्‍यो ।

अनुमान नै नगरेको भिड थियो एअरपोर्टमा । अघिल्लो दिनदेखिका रद्द भएका उडानका यात्रु आफ्नो उड्ने पालो पर्खेर बस्दा र नयाँ यात्रु थपिदा बिमानस्थल अस्तब्यस्त देखिन्थ्यो । असनको जस्तो भिड छिचोल्दै बल्ल काउन्टरसम्म पुगें । साझको ५ बज्दै थियो । तर जहाजको बोर्डिङ हुने समय इन्वाएरी गरेको र बल्ल २:३० को फ्लाइटको बोर्डिङ हुँदैरहेछ ।

बसें। बसिरहें । ५ बज्यो । ६ बज्यो । ७-८-९-१० बज्यो । अहँ ! मेरो फ्लाइटको बोर्डिङ हुदैन त । मित्र निर्मल ज्ञवालेले फोन गरेर खाना लिएर आउछु भनेका थिए , मैले घरमै पुगेर खान्छु , धन्यवाद् भने । बल्ल – बल्ल १० बजे पछि बोर्डिङ भयो । ११ बजे रनवेमा लग्यो । एअर ट्राफिकका कारण १५ मिनेट जहाजमै होल्ड गरायो ।

धन्य प्रभु ! जहाज उड्यो । घर फोन गरें । ड्राइभर लिन आयो । तर धावन मार्गमा पुग्ने बेला ल्यान्डिङ गर्ने अनुमति पाइएन भनेर जहाज फेरि माथि उठायो र पोखराको आकाशमा चक्कर लगाउन थाल्यो । र अन्तिममा काठमाडौं डाइभर्ट गर्‍यो हवाई यात्रामा सँगै थिए गण्डकी प्रदेशका माननीय पन्चराम गुरुङ । उनले भने , राजुजी ! मेरो मोटर छ , भोलि सँगै जाउला है । सँगै छिन् नायिका सुरक्षा पन्त । ऊनी भन्दै थिइन – म पनि सँगै जाने दाइ भोलि पोखरा ।

एअरपोर्टमा उत्रिए पछि फेरि सानो ठूलो ४ वटा लगेज तानेर बाहिर ल्याएँ । बुद्ध एयरका स्टाफले भने – गौशलाको होटल महाराजामा गएर बस्नुस्, हामी पे गर्छौ । बाहिर निस्केर ट्याक्सी सोधें – ८०० भन्छ १ किमि बाटोको । ट्रली तान्दै बाहिर निस्कें । बाहिरबाट ट्याक्सी समाएँ । महाराज होटल आएँ । ५०० फोन पे गरे । होटेलले भन्यो – यहाँ बुक छैन ।

म आफै तिर्छु भने । नाम लेख्यो र यहाँ फोन पे गर्नोस् भन्छ । मैले भने अहिले पैसा सकिएको छ, भोलि तिर्छु । उसले हुन्न भन्यो र म मेरो कमजोर हातले ४ वटा लगेज तान्दै अघि बढे । । अलि पर सोधे – भन्छ – होट्ल महंगो छ । पालेको कर्कश आवाज देखेर मलाई कति भनेर सोध्न मनै लागेन र अझ अघि बढें ।

देखें , बाटोमा म जस्तै अरु पनि भौतारिइरहेका थिए । एउटा अर्को होटेलको पालेलाई सोधे – उ पनि भन्छ – रुम महँगो छ । उसको बोल्ने तरिका देखेर कति पैसा पर्छ भनेर सोध्ने जागर पनि आएन । कतै होटेल खुला छैनन । आधा घन्टा यताउता गरे पछि लुत्रुक्क पर्दै अघि नोकझोक परेको एउटा गेस्ट हाउसमा छिरे र रुम छ भने , उसले रुम दियो ।

रुममा छिरेको चारैतिर उडुस मारेका टाटैटाटा छन, बाथरुम ठुस्स गन्हाएको । रातको १: ५० भैसक्यो , अब जानु कहाँ ?

ए प्रभु ! कस्तो अप्ठ्यारो हो यो ।

होटेलको भाइले आफूले खान राखेको चाउचाउ दियो र धन्न सास आयो । निद्रा लागेको छैन । लेखिरहेछु र हासिरहेछु आफैलाई देखेर । बत्ती निभाएर पल्टेको मात्र छु , लाम्खुट्टे ट्या गर्दै आइपुगे । पंखा लगाउन खोजेको हाइ स्पिडमा रहेछ , कम गर्नै नमिल्ने ।

पशुपति मन्दिरकै सामुन्ने भगवानलाई साक्षी राखेर अहिले रातको २:२२ बजे म प्रिय लामखुट्टेहरुसँग प्रेमालाप गरिरहेको छु ।

राजु क्षत्रीको फेसबुकबाट

तपाईको प्रतिक्रिया