कविता
त्यसैले, तपाईं आउनुस्, बा !

नारायणप्रसाद सापकोटा
बेसीमा लोकमार्ग कोरियो,
गैरी खेत बाँझै छ,
के समय आयो, बा !
भलछोप्ने गैरीस्वरो त उहिल्यै छोडियो ।
कस्ती छोडेर जानुभाथ्यो कुन्नि,
आमा कासझै फुलिसक्नु भो, बा !
दिनभर भगवान सम्झनुहुन्छ,
पारिजातका फूल बटुलेर,
तपाईंकै कृतन गर्नुहुन्छ ।
दिदीहरुको विहादान भइसक्यो, बा !
ठुल्दिदी त हजुरआमा भैसक्नु भो,
तपाईं हिँडे पछि हजुरबुवा हजुरआमा पनि मधेस झर्नु भो,
उतै बाट स्वर्ग तिर लाग्नु भयो अरे,
तपाईंले भेट्नु भा’छ र बा?
यता त केही खबर आएन ।
तपाईं पनि कहाँ जानुभएको हो, बा?
केही भन्नु भएन, खबर पनि गर्नुहुन्न,
पीपलगेडी ल्याइदिनुहुन्थ्यो, आउँदै आउनु भएन,
कुर्दा कुर्दा आत्तिसकेँ,
तपाईं गएको बाटो हेर्दा हेर्दा थाकीसकेँ,
पीपलगेडिको गुलियो पनि विर्सिसकेछु, बा ।
तपाईं गएदेखि आमाले वर्षमा दुइवटा पूजा लगाउनु हुन्छ, बा
श्राद्ध भन्नुहुन्छ, चोखो निष्ठा गर्नुहुन्छ,
पण्डित बोलाउनुहुन्छ, उनी पाठ गर्छन,
दाई बुढी औँलो थाप्छ, म जल खन्याउँछु ,
तपाईंको नाम पहिलो पटक मैले,
बाहुनकै मुखबाट सुनेथे, बा ।
छोरा कत्रा भए, के गर्दै होलान् ,
देख्न मन लाग्दैन बा ?
म पनि दाई जत्रै भइसके,
बाजा बजाएर विवाह गरें,
तपाईं संधि हुन आउनुभएन,
अहिले त तपाईंले मलाई जत्रो छोड्नु भा’थो
तेत्त्रै नाति भइसके,
थाहा पाउनु भा’छ की माया नै मार्नुभो, बा?
अघिल्लो वर्षदेखि पूजामा राखेको फोटो हेरेर,
नातिले प्रस्न गर्न थालेकाछन्,बा
को, किन, के, कसरी ?
कहाँ जानुभएको हो, कहिले आउनुहुन्छ?
मैंलाई थाहा छैन, म के भन्दिउँ बा ?
भोलि तपाईंकै यस वर्षको पहिलो पूजा छ,
नातिले फेरि सोध्लान, म के भन्दिउँ, बा?
खेतबारी बाँझै हुँदापनि हामीलाई खान पुगेकै छ,
बेसीमा दुई छिमल धान रोप्न किन परेको भन्दिउँ बा?
चैतमा रोप्न माघमै कुलो किन खन्न परेको भन्दिउँ बा?
खन्दा खन्दै माटैमा अस्ताउन किन परेको भन्दिउँ बा?
म सक्दै सक्दै सक्दिन,
आमालाई अब मेसो छैन बा,
दाई दिदी झन कमजोर छन्,
त्यसैले, तपाईं आउनुस्, बा
नातिलाई बुझाइदिनुस,
अर्को पूजा भगवानको गरौंला,
मान्छेको किन ?
सापकोटा भद्रकाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन्

तपाईको प्रतिक्रिया