विन्ध्यवासिनीमा घटस्थापनादेखि नवदुर्गा महोत्सव

पोखरा । पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा दसैँका बेला नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले १७ वर्षदेखि गर्दै आएको महोत्सवले यसपालि पनि निरन्तरता पाउने भएको हो ।
घटस्थापनादेखि महानवमीसम्म आयोजना गर्ने नवदुर्गा महोत्सवमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । । घटस्थापनाको दिन १७ गतेदेखि २५ गते महानवमी सम्म उक्त महोत्सव हुन लागेको छ ।
महायज्ञमा संगीतमय झाँकीसहित कथा वाचन गरिने जानकारी श्रेष्ठले दिए । उनले मन्दिरमा बेलाबखतमा हुने पर्वविशेष पूजनोत्सव, धार्मिक गतिविधि, आध्यात्मिक प्रवचन लगायतले धर्म र संस्कृतिको संरक्षणमा टेवा मिल्ने विश्वास गरे ।
घटस्थापनामा नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्या, आरुढ नौरथ, विन्ध्यवासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका भेषभूषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षहरुको उजागर गरिने समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए ।
घटनास्थापनाको दिन विन्ध्यवासिनी पार्कबाट सुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर परिसर पुगेर समापन हुनेछ । त्यही दिनदेखि महायज्ञ सुरु हुने सदस्यसचिव श्रेष्ठले जानकारी दिए ।
विजयादशमी अवधिमा मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा हुनेछ । भक्तजनका लागि ५ बजेदेखि मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ । प्रत्येक साँझ ६ बजे आरती गरिनेछ । बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद्भागवत् कथा प्रवचन हुनेछ ।
मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको जनाएको छ । २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य हुने गरेको छ । यसलाई कक्षा १२ सम्म बिस्तार गर्ने समितिको लक्ष्य छ ।
२०७२ सालदेखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत मन्दिरले सञ्चालन गर्दै आएको छ । जहाँ ज्येष्ठ नागरिकले दिवा सेवा प्राप्त गर्ने गरेका छन् । हाल केन्द्रका लागि सुविधायुक्त भवन निर्माण करिब सम्पन्न भएको समितिले जनाएको छ । समितिले एम्बुलेन्स सेवा पनि सञ्चालन गरिसकेको छ । मन्दिरमा ज्येष्ठ नागरिक तथा असहायका लागि आवतजावत गर्न विद्युतीय भर्याङ (लिफ्ट) व्यवस्था गरिएको छ ।
पोखराको अधिकारीटोलमा २६ रोपनीमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालित छ । चिकित्सालयको भौतिक पूर्वाधार निर्माण जारी छ । उक्त चिकित्सालय यही मंसिरमा उद्घाटन लक्ष्य रहेको समितिका सचिव आनन्द श्रेष्ठले बताए । चिकित्सालयमा उपचारार्थ दैनिक करिब ४०/५० जना मानिस आउने गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया