सम्पादकीय—अब विपद् व्यवस्थापनमा अर्जुनदृष्टि

यसपालि वर्षात सकिनै लाग्दा भएको अविरल वर्षाका कारण देशभर ठूलो क्षति पुगेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै भूभागमा यसले ठूलो जनधनको क्षति गर्यो । पछिल्लो वर्षातले काठमाडौं उपत्यकामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जस्ता देशको संघीय राजधानी रहेका जिल्लामा भएको यो क्षतिले एकातिर हाम्रो सहरीकरणको दुरावस्थालाई नराम्ररी उजागर गरेको छ भने अर्कोतिर विपत् व्यवस्थापनमा सरकारको तयारीलाई पनि निकम्मा साबित गरिदिएको छ ।
लगातार २४ घण्टाभन्दा बढी अविरल वर्षा हुँदा पनि सरकारले सम्भावित जोखिमस्थल पहिचान तथा उद्धारका लागि तदारुकता देखाउन नसक्नु गम्भीर कमजोरी हो । उचित ढल निकासको अभावमा सामान्य वर्षा हुँदा पनि सडकहरु जलमग्न हुनु काठमाडौंको विशेषता नै भइसकेको छ । तर यस पटक वर्षातको वितण्डा त्यत्तिमा मात्रै सीमित रहेन, नदी तथा खोला किनारामा सबैभन्दा बढी क्षति भएको छ ।
बढी क्षति व्यहोरेका तिनै बस्ती हुन्, जहाँ दशकौंअघि पानी बग्ने खोला नै थिए । यहाँका पुराना नदी र खोलामध्ये केहीमात्र पुरानै रुपमा रहेका छन्, अधिकांश खोला बस्तीमा परिणत भइसकेका छन् । असुरक्षित बस्ती विकासका दृष्टिले हेर्दा अब काठमाडौं उपत्यका त सुधार्नै नसक्ने गरी बिग्रिसकेको छ । तर त्यसो भनेर उम्किने ठाउँ भने छैन । काठमाडौंलाई थप बिग्रन नदिने र बाँकी सहरोन्मुख क्षेत्रले यसबाट पाठ सिकेर सुरक्षित वस्ती विकासका लागि काम गर्नैपर्छ ।
यसरी बेला बेलामा विपत्ति भोग्ने नेपालले चाँडै जलवायु परिवर्तनको असर पनि भोग्नुपर्ने अवस्था आउँदै छ । जलवायु परिवर्तनका कारण अनावृष्टि र अतिवृष्टि बढिरहेको छ । कुनै बेला पानी नै नपर्ने र कुनै बेला अनियन्त्रित पानी आउने यसको विशेषता हो । यस पटक पनि त्यसरी नै अत्यधिक पानी परेर जनधनको क्षति गरेको छ । ठूलो संख्यामा नागरिकको ज्यान गएको छ, बेपत्ता भएका छन् भने सार्वजनिक सडक लगायतका पूर्वाधार र व्यक्तिका घरहरुमा क्षति भएको छ । सुरक्षित वस्ती विकास, पूर्वसूचना र सचेतना तथा प्रभावकारी उद्धार र राहतको तयारी नगरी हामीकहाँ क्षति न्यूनीकरण गर्न सकिन्न ।
अहिले मौसम विज्ञानका सवालका पूर्वानुमान प्रणाली प्रभावकारी बन्दै गएको छ । यति धेरै सूचना प्राप्त गर्दागर्दै पनि त्यसलाई आम नागरिकसम्म पुर्याउने, सम्भावित जोखिमस्थलको पहिचान गर्ने र जोखिममा परेका नागरिकको तत्काल उद्धार गर्ने सवालमा यस पटक सरकार चुकेको छ । मन्त्री निवास भैंसेपाटीको नजिकै रहेको ललितपुरको नख्खुखोलामा उद्धारका लागि ४५ मिनेटदेखि जोखिममा परेका नागरिकले टिनको टहरामाथि उभिएर याचना गर्दा पनि तत्काल हेलिकोप्टरबाट उद्धार भएन । यद्यपि केही स्थानीय साहसी युवाले केहीको ज्यान बचाए । अहिले भोगिएको विपत्ति नै अन्तिम होइन, अनेक विपत्ति आउन सक्छन्, सबै तहका सरकार र सरोकारवाला मिलेर पूर्वतयारी सँगसँगै विपत्तिपछि राहत र उद्धारको काम प्रभावकारी रुपमा गर्नैपर्छ ।
तपाईको प्रतिक्रिया