पत्रकार वासुदेव पौडेललाई ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार    

समाधान संवाददाता २०८१ असोज १५ गते २०:२३

कास्की । राष्ट्रिय समाचार समिति (रासस) का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ बाट पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजारसहित उहाँलाई पुरस्कार प्रदान गर्नुभयो ।    
    
पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप पौडेललाई छनोट समितिको सिफारिसअनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापकसमेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनुभयो । पोखरामा शैक्षिक एवं सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउनुभएका प्रजातन्त्र सेनानी एवं पोखरा वृद्धाश्रमका संस्थापक अध्यक्ष आफ्ना पिता स्व ऋषिकेशव पराजुली र आमा लीलादेवी पराजुलीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । पत्रकारिताका माध्यमबाट वृद्धाश्रमको उन्नयन र ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई वृद्धाश्रमले बर्सेनि सम्मान गर्दै आएको छ ।    
    
कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकार ज्येष्ठ नागरिकका हकअधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले ज्येष्ठ नागरिकका पक्षमा कानुनी प्रबन्ध गर्न र अधिकारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । पुरस्कृत पौडेलले ज्येष्ठ नागरिकका पक्षमा बनेका कानुनहरुको कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुहुँदै सञ्चारक्षेत्रले जहिले पनि सरकारलाई खबरदारी गर्ने गरेको बताउनुभयो । रासस

Advertisement


विसं २०५३ मा स्थापना भई असहाय एवं विपन्न ज्येष्ठ नागरिकको सेवा संरक्षणमा क्रियाशील रहँदै आएको पोखरा वृृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक र १० जना अपाङ्गता भएका व्यक्ति एवं स्याहारकर्ताले आश्रय लिँदै आउनुुभएको संस्थाका सचिव धर्म गुरुङले जानकारी दिनुभयो । आश्रमले विशेष गरी पोखरा महानगरका ज्येष्ठ नागरिकलाई प्याथोलोजी, मनोपरामर्श र फिजियोथेरापी सेवासमेत प्रदान गर्दै आएको छ ।    
—  

तपाईको प्रतिक्रिया