सम्पादकीय—विचार बिर्सिएका विद्यार्थी संगठन

समाधान संवाददाता २०८१ असोज १७ गते १२:३७

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ । बिहीबार सुरु भएको यो सम्मेलनले अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन गर्ने र संगठनको नयाँ कार्यदिशा तय गर्ने अपेक्षा थियो । यद्यपि नेतृत्व परिवर्तनसहित हुने सम्मेलनमा अरु पक्ष ओझेलमा पर्ने गर्छन् । क्रान्तिकारीको यो सम्मेलन पनि नेतृत्व परिवर्तनकै मुद्दामा बढी केन्द्रीत भएको छ ।

Advertisement

नेतृत्व चयनबारे सहमति नहुँदा सम्मेलन स्थल तोडफोडसमेत भएको छ । जुन लज्जाको विषय हो । २३ सयभन्दा बढी प्रतिनिधिको मतबाट नयाँ नेतृत्व आउनु पथ्र्याे । अझ माओवादीभित्र रहेको गुटगत राजनीति यो सम्मेलनमा पनि देखिएको छ । अध्यक्ष पुष्पकमल दाहालले कसलाई साथ देलान्, अरु नेताका उम्मेवार को को हुन् भन्ने विषय नै अहिले मूल भएको छ । उमेर हदबारे विवाद भएपछि विद्यार्थी नेताहरु नै तोडफोडमा उत्रिएको देखियो ।


यसअघि २१ औं सम्मेलनमा मतदानबाट क्रान्तिकारीको नेतृत्व चुनिएको थियो । त्यसअघिका महाधिवेशनमा निर्विरोध हुने गरेको छ । पहिले पार्टी नेतृत्वले अगाडि बढाएकै व्यक्तिको नेतृत्वमा समिति घोषणा भएर सम्मेलन सकिने गरेको थियो । यो सम्मेलनले जुनसुकै विधि अपनाएर भए पनि नेतृत्व चयन गर्ने छ, गर्नुपर्छ । सम्मेलनलाई नाममात्रको बनाउने र नेतृत्व पार्टीले टीका लगाएर चयन गर्ने चलन त्याग्नैपर्छ । नेतृत्व चयनका कारण ओझेलमा पर्ने नीतिगत प्रश्न भने सम्मेलन पश्चात् पनि कायमै रहनेछ ।

मुलुकको शिक्षा प्रणाली, शैक्षिक नीति तथा कार्यक्रम, राज्यको लगानी लगायत तमाम प्रश्नबारे हलले खासै छलफल गरेको देखिएन । त्यहाँ विद्यार्थी राजनीतिकै भविष्य र आवश्यकताबारे समेत कुनै बहस भएन । अन्य विद्यार्थीका सरोकारबारे छलफलै नगर्ने र आफ्नो नेतृत्वसमेत सफलतापूर्वक चयन नगर्ने हो भने यस खालका संगठनको औचित्यमा प्रश्न उठ्नेछ ।


देशले अहिले अनेकौं समस्या भोगिरहेको छ । त्यसमध्ये शैक्षिक क्षेत्रको समस्या पनि हो । वैदेशिक अध्ययनकै नाममा बर्सेनी अर्बाै रकम बाहिरिन थालेको छ । यहाँका विश्वविद्यालयहरु बेरोजगार उत्पादन स्थल बनेको छन् । गाउँहरु युवाविहीन पहिले नै थिए, अब विस्तारै सहरमा पनि युवा कम हुँदै छन् । ग्रामीण भेगको जनसंख्यासमेत घट्न थालेको छ । विश्वविद्यालयहरुले विद्यार्थी नपाउने अवस्था सिर्जना हुँदै गएको छ ।

Advertisement

विदेशमा पढ्दै र कमाउँदै गर्ने अवसरका कारण विकसित देशतिर युवा पलायनको लहर डरलाग्दो छ । यहाँ समयमा परीक्षा सञ्चालन नहुने, शिक्षा नीगित विभेदकारी हुने, पढाइ सिध्याएपछि पनि अवसर नपाउने, विश्वविद्यालयहरुमा अतिराजनीतिकरण हुने जस्ता समस्या छन् । अहिलेका सबैजसो नेता विद्यार्थी राजनीतिबाटै आएका हुन् । अहिलेका विद्यार्थीमा राजनीतिप्रति वितृष्णा छ । सबै विद्यार्थी संगठन र राजनीतिक दलहरुले बेलैमा नसोच्ने हो भने देशको शिक्षा प्रणाली त बिग्रिने निश्चित नै छ, राज्यको नेतृत्व गर्ने योग्य युवा पाउन पनि मुस्किल पर्न सक्छ ।

तपाईको प्रतिक्रिया