घटेन गण्डकीमा डेंगी संक्रमण

समाधान संवाददाता २०८१ असोज १७ गते १५:१३

गण्डकी ।

Advertisement

गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेंगीकाे संक्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेंगी संक्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो ।

मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेंगीकाे संक्रमणदर बढ्दै गएको बताए । जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेंगी देखिएको उनले जानकारी दिए । सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको संक्रमणको पुष्टि भएको हो ।

शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा दुई हजार ७३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । डेंगीका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक/एक जना पुरुष छन् ।

डेंगीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेंगी संक्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए ।

Advertisement

महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेंगी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । “वर्षा रोकिएको केही दिनपछि डेंगीकाे संक्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ” रेग्मीले भने ।

चार प्रकारको भाइरसबाट मानिसमा डेंगी संक्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेंगीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेंगीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ ।

डेंगी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगीकाे संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया