पानीका लागि कुवा धाइरहेको खौलालाँकुरी

पोखरा ।
‘नमस्कार सबैलाई । बोल्न त केही आउँदैन । मैले आकाशको पानी बलेनीमा थापेर खान थालेकी छु, घरमा धारा छैन । कुवासम्म पानी लिन जान सक्दिनँ,’ ८३ वर्षीय चन्द्रकला सुवेदीले आफ्नो विवशता पोखिन् ।
अघिल्लो वर्ष भदौसम्म चन्द्रकला डोको बोकेर २ घन्टा लगाएर पँधेरासम्म पुग्थिन् । पानी लिन जाँदा गत वर्ष मंसिरमा लडेपछि उनको शरीर गलेको छ । त्यसयता उनलाई हिँड्डुल गर्न नै समस्या छ । खानेपानीका लागि घन्टौं हिँडेर कुवासम्म पुग्न नसक्ने भएपछि आकाशकै पानीले आफ्नो प्यास भेटाउँदै आएको उनले सुनाइन् । परिवारमा एक्लै हुँदा पानी समस्याले सताएको उनले सुनाइन् ।
चन्द्रकलाको मात्र होइन, खौलालाँकुरीका बासिन्दा खानेपानीको चरम अभावमा जीवन कष्टकर बन्दै गएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले बुधबार पर्वत कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीको वडा कार्यालयमा गरेको नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले पानीकै समस्या राखे ।
खौलालाँकुरी बाम्राकी माया परियारलाई पनि मंसिर महिना आइहाल्ला कि भन्ने डर छ । बर्खा सकिएर हिउँद लागेपछि पलाएका मूल पनि सुक्ने र पानी लिन घन्टौं हिँडेर सिस्नेपानीको कुवामा पुग्नुपर्ने सम्झँदा अत्यास लाग्न सुरु भएको उनले सुनाइन् । ‘बिहान उठेर अरु धन्दा नै नगरी डोकोबोकेर पानी लिन जानुपर्छ । कतिखेर खाना पकाउने, कतिखेर घरधन्दा गर्ने,’ उनले थपिन्, ‘एकदुई ठाउँ मूल पलाइरहेको छ । त्यो पनि कहिलेसम्म हो । नत्र त तल सिस्नेपानी नै पुग्नुपर्छ,’ उनले भनिन् ।
खौलालाँकुरीका मञ्जु नेपाली, शान्ति दमाई, गोमा परियारको दुखेसो पनि उहीँ छ । पानीकै लागि दिन फाल्नुपरेकाले सरकारले छिट्टो पानीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो । नागरिक सुनुवाइ कार्यक्रममा प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरसँग खौलालाँकुरीबासीले स्वास्थ्य उपचारका लागि सहयोगको पहल र रोजगारीका लागि व्यवस्था गर्न विशेष गरी जोडदार रुपमा माग गरे ।
स्वास्थ्य चौकीमा आउने अधिकांश मुटुरोग र मधुमेहका बिरामी बढेको तथ्यांक
मूल समस्या गाउँसम्म पक्की बाटो र खानेपानी समस्याको समाधान गरिदिन् उनीहरुको आग्रह थियो । सांसद कुँवरसँग स्थानीय शेरबहादुर नेपालीले छोरी किड्नीको बिरामी भएकाले उपचार खर्च जुटाइदिन आग्रह गरे । उनले त्यसका लागि प्रदेश सरकारले कसरी सहयोग गर्छ भनेर प्रश्न गरे ।
स्थानीय तेजेन्द्र सुनारले रोजगारी नहुँदा गरिबी बढेको सुनाए । खौलालाँकुरी स्वास्थ्य चौकीका स्वास्थ्य अधिकृत श्यामकुमार यादवले वडामा सबैभन्दा बढी बालविवाह हुने गरेको तथ्यांक प्रस्तुत गरे । उनले १२ देखि १८ वर्षका बालबालिकाले विवाह गर्दा स्वास्थ्यमा गम्भीर असर देखापरिरहेको बताए । जसले स्वास्थ्य चौकीमा आउने अधिकांश मुटुरोग र मधुमेहका बिरामी बढेको तथ्यांक प्रस्तुत गरे ।
स्थानीय तेजबहादुर कार्कीले स्थानीय उपभोक्ता समितिमा बसेर काम गर्दा अख्तियार धाउनुपरिरहेको सुनाए । ‘पैसा खाएको छैन । केही गर्न लाग्यो अख्तियार पु¥याउँछन् । त्यसले यहाँको विकास हुन सकेको छैन,’ उनले भने । स्थानीय युवा मनोज सुवेदीले विकास निर्माणको जिम्मा लिएर अघि बढेकासँग पारदर्शिता खोज्ने बताए ।
उनले प्रदेश सभा सदस्य कुँवरलाई निर्वाचनका बेला गरेका वाचा कति पूरा भए भन्दै प्रश्नसमेत गरे । कुश्मा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष तेजप्रसाद शर्माले वडामा खानेपानी नहुँदा झन्डै २ सय घरधुरी नै दूषित पानी पिइरहेको सुनाए । उनका अनुसार वडाका ४ वटा गाउँ खौला, बाम्रा, कोटफेरा, पिप्लेकाबासीले आकाशको पानी र बर्खाको पानीले दैनिकी गुजारिरहेको सुनाए ।
‘वडासँग खानेपानी समस्या समाधान गर्ने बजेट नै छैन । हाम्रो बजेट ४० लाखको हुन्छ । यसले केही गर्न सक्दैन । यो पालिकाले व्यवस्था गर्न पनि सक्दैनँ, हामी प्रदेश सरकार र केन्द्रसँग भरपर्नुपर्ने अवस्था छ । त्यसले यहाँका जनताले हैरानी व्यहोर्नुपरेको छ,’ वडाध्यक्ष शर्माले भने ।
खानेपानी समस्या समाधान गर्न काउनेदेखि जुम्लेथानसम्म ९५ करोडको ठेक्का लागेकोसमेत उनले बताए । ‘वडामा ३७ वटा ट्यांकी छन् । ट्याक्की भएर के गर्ने पानी छैन । केन्द्र सरकारको योजनामा लिफ्ङि खानेपानी योजना त सुरु भएको छ । कहिले हो कहिले ?,’ उनले भने ।
काकाकुल गाउँको प्यास मेटाउन बनेका संरचनाको संरक्षण हुनुपर्ने उनले सुनाए । सोही क्षेत्रका जनप्रतिनिधि गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले आफूले गरेका वाचा कतिपय पूरा भएको र कतिपय काम बाँकी ३ वर्षे कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जाहेर गरे । यद्यपि कुँवरले खानेपानी समस्या समाधानका लागि भने पहल गरिहाल्ने सुनाए ।
‘गण्डकी प्रदेश सरकारमा मन्त्रीपछि सबैभन्दा बढी बजेट हाल्ने सांसद मै हुँ । हुन त मैले तोक लगाएर बजेट दिने ठाउँमा छैन । तैपनि मन्त्री पछाडि पर्वतमा बजेट ल्याउने अग्रणी स्थानमै छु । सकेको लबिइङ गरिरहेको छु,’ कुँवरले भने ।
उनले चालु आर्थिक वर्षमा मात्र पर्वतको क्षेत्र नम्बर १(१)मा ८ करोडको बजेट पारेको सुनाए । ‘यो वर्ष यहीँ ठाउँमा १२ वटा योजना निर्माण हुने चरणमा छ । कतिपय समस्या गम्भीर पनि छन् । तपाईंहरुले उठाएका समस्या मैले पहल लिनेसम्म लिन्छु,’ उनले भने, ‘यस वर्ष नसमेटिएका कतिपय समस्या आगामी वर्ष समेट्छु ।’
संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले स्थानीयका समस्याका बारेमा सरकारलाई अवगत गराउने बाचा गरे । ‘हामी पत्रकार संसदमा त रिपोटिङ गर्छौं नै । गाउँगाउँमा पुगेर जनताका समस्या वास्तवमा के छन् भनेर नागरिक सुनुवाइ कार्यक्रम लिएर आएका छौं । तपाईंहरुले भोगेका समस्या सम्बन्धित ठाउँमा पुर्याउँछौं ।’ नागरिक सुनुवाइको सहजीकरण संसदीय पत्रकार मञ्च गण्डकीका सल्लाहकार केशवशरण लामिछानेले गरेका थिए ।
तपाईको प्रतिक्रिया