पाहार ट्रस्टद्वारा ३०० विद्यालय भवन निर्माण
पुस्तकालयबाट २० हजार ७ सय ७ विद्यार्थीलाई सुविधा
पोखरा ।
शिक्षाको क्षेत्रमा कार्यरत समाजिक संस्था पाहार ट्रस्ट नेपाल पोखराले नेपालका ग्रामिण क्षेत्रमा ठूलासाना गरी ३ सयभन्दा बढी सामुदायिक विद्यालयका भवन निर्माण गरेको छ ।
पूर्वको ताप्लेजुङदेखि पश्चिमको दैलेखसम्मका २७ जिल्लामा विद्यालय भवनका अलवा स्वास्थ्य चौकी, छात्रावास, पुस्तकालय तथा बाल विकास केन्द्रका भवन बनाएको संस्थाका अध्यक्ष बिजुलीबहादुर गुरुङले जानकारी दिए । संस्थाको शनिबार भएको १२ औं वाषिक साधारण सभामा अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८०/०८१मा विद्यालय भवन निर्माण तथा मर्मत, विज्ञान प्रयोगशाला, बालविकास केन्द्र गरी १० वटा परियोजना सञ्चालन भएको बताए ।
उनले १७ जिल्लाका ७१ विद्यालयमा पुस्तकालय निर्माण गरेको उल्लेख गरे । पाहार ट्रष्टले बनाएका सबै भवन सुविधा सम्पन्न, पक्की, भूकम्प प्रतिरोधी तथा बालमैत्री भएको उनले उल्लेख गरे । ‘संस्थाले विगत ३० वर्षयता नेपालको विकट तथा दुर्गम क्षेत्रको बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भवनका अलवा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको छ,’ अध्यक्ष गुरुङले भने, ‘शिक्षासँगै संस्थाले स्वास्थ्य चौकीको निर्माण र उपकरण सहयोग प्रदान गर्दै आएको छ ।’ उनले संस्था ३० वर्ष पुगेको सन्दर्भमा बाल विकास केन्द्र र छात्रवृत्ति कार्यक्रम समेत चलाएको जानकारी दिए ।
संस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङले पाहार ट्रस्ट नेपाल युके लगायत दातृ निकायको सहयोगमा सन १९९१ देखि सामुदायिक विद्यालयको भवन सुरुवात गरेको बताए ।
संस्थाका महासचिव टेकमान प्रधानांगले केन युकेसँगको सहकार्यमा सञ्चालिन पुस्तकालय कार्यक्रम संस्थाको महत्वपूर्ण कार्यक्रम भएको जनाए । उनले सबै पुस्तकालयबाट २० हजार ७ सय ७ विद्यार्थी र १ हजार २ सय १२ शिक्षकले पठनपाठन सुविधा लिएको उल्लेख गरे ।
संस्थाका कोषाध्यक्ष रिना रानामगरले दातृ निकायबाट प्राप्त सबै परियोजना तथा बजेटलाई समाज कल्याण परिषद् र सम्बन्धित स्थानीय तहबाट अनुमति लिएर वडा कार्यालय र स्थानीय समुदायको समन्वयमा परिचलान गरेको जानकारी दिइन् । उनले सार्वजनिक खरिद ऐन अन्तर्गत रही आर्थिक अनुशासनको पालना गर्दै आय व्ययको सबै हर हिसाब पारदर्शी रुपमा राखेको दाबी गरिन् ।
सभाले महासचिव प्रधानांगले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र कार्यालय प्रमुख कान्ता घलेले पेश गरेको वार्षिक प्रस्तावित कार्यक्रमलाई सुधार सहित पारित गरेको छ । कार्यक्रममा समाजसेवी पूर्णबहादुर ह्योल्मो, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पाहार ट्रष्ट नेपालका उपाध्यक्ष कृष्णबहादुर गुरुङ, कार्यसमितिका सदस्य लक्ष्मी थापा गिरी, भक्त आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र दाहाल, सूर्योदय माविका विद्यार्थी सोमितना गुरुङ लगायतले संस्थाले शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
तपाईको प्रतिक्रिया