विवादको भुमरीमा कांस्की कांग्रेस
सभापति बराल र पूर्व सभापति केसीबीच फेसबुकमा जुहारी

पोखरा । सांगठनिक रुपमा निकै कमजोर सावित भएको नेपाली कांग्रेस कास्कीभित्र विवादै विवाद छ । कहिले महिला संघ, कहिले नेविसंघका नाममा विवाद हुन्छ । सार्वजनिक कार्यक्रममै नेतृत्व तह आरोप प्रत्यारोपमा उत्रिन्छ । अनि भित्रको विवाद वाहिर आएर छताछुल्ल हुन्छ ।
तीजका बेला पोखरामा नेपाल महिला संघका नाममा दुईवटा कार्यक्रम भए । एउटाको प्रमुख अतिथि प्रदेश सभापति शुक्रराज शर्मा थिए भने अर्कोमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । यी दुई नेता गुटगत हिसावमा फरक समूहमा छन् । फरक समूहमा रहनु एउटा कुरा रह्यो । तर सांगठनिक गतिविधि पनि त्यहि अनुसार सञ्चालित हुन्छन् । मुख्यमन्त्रीलाई साक्षी राखेर कांग्रेस कास्की सभापति किशोरदत्त बरालले प्रदेश सभापतिमाथि आरोप लगाए । त्यो आरोपको प्रदेश सभापति शर्माले मिडियाबाट खण्डन गरे ।
कास्कीमा यस्ता जुहारी चलिरहन्छन् । गएको संसदीय चुनावताका सभापति बराललाई असहयोग गरेको भन्दै पूर्व सभापति कृष्ण केसीको घर अगाडि नारावाजी नै गरियो । नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप नै चल्यो । चुनावमा हराउन सक्रिय भूमिका खेलेको भन्दै सभापति बरालले केसीविरुद्ध अनुशासन समितिमा नै उजुरी हाले । उजुरी कहाँ पुग्यो थाहा छैन, तर विवाद भने झनै चुलिएको छ ।
आइतबार दिउँसो पूर्व सभापति केसीले बरालको यस्तो क्रियाकलाप बढ्दै गए कार्यकर्ताले विकल्प खोज्न वाध्य हुनुपर्ने बताएका छन् ।
हेर्नुहोस् केसीको स्टाटस्
आज एउटा समाचार सुन्नेर नराम्रो लाग्यो माछापुच्छ्रे गाउँपालिका २ सार्दीखोलाबाट नेपाली कांग्रेसको पुरानो साथी लोक घले र त्यस्तै गरेर मादी ८ रबैडाँडाबाट धन बहादुर गुरुङ केही समयअघि पार्टी छाडेर एमालेमा प्रवेश गर्नुभएको छ ।
कास्कीका सभापतिज्यू लाई संगठन नचाहिएको हो वा जे गरे पनि हुन्छ भने सोच हो । किन नेपाली कांग्रेस कास्की संगठनका बारेमा गम्भीर र जिम्मेवार देखिँदैन ।
फेसबुकमा फोटा राखेर, कविता गाएर र उद्यमशीलताको नाउँमा कहिले नगरपालिका कहिले प्रदेशबाट पैसा ल्याएर एसीमा बसेर ल्यापटपबाट आदर्शका भाषण गरेर संगठन बन्दैन । संगठन गर्न जनताको बीचमा पुग्नुपर्छ कार्यकर्ता परिचालन गर्नुपर्छ । यदि यस्तै अवस्था रहने हो भने जिल्लाको नेतृत्वको विकल्प कार्यकर्ताले खोज्नुपर्छ र खोज्छ्न । जयनेपाल

केसीको स्टाटसमा प्रत्युत्तर गर्दै सभापति बराल
आज नेपाली कांग्र्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी जीको फेसबुक पेजमा पोस्ट भएको एउटा स्टाटस पढ्ने मौका मिल्यो । पार्टीको बारेमा चिन्ता गर्नु भएको रहेछ । पार्टीको इमान्दार र निष्ठावान सदस्यले यस्तो चिन्ता गरेको भए उक्त चिन्तामाथि ओज हुन्थ्यो, आकर्षण हुन्थ्यो र एउटा ठूलो दबाब महसुस हुन्थ्यो । कांग्र्रेसको नेता हुँ भनेर कांग्रेसलाई नै भोट नहाल्ने र कांग्रेसको मुल्य, मान्यता र आदर्शका विपरित आचरण र व्यवहार देखाउनेहरुबाट भएको चिन्ता एउटा छट्पटी, आक्रोश र कुण्ठा मात्रै हो । मान्छेले यसलाई यसरिनै बुझ्दा रहेछन् ।
नेपाली कांग्रेसका साथीहरूले पार्टी छोडेर जानु निश्चय पनि एउटा चिन्ताको विषय हो । यसको समाधान गर्नै पर्छ । तर समस्याको समाधान कसरी गर्ने होला ? यो एउटा अहम् प्रश्न हो । केही साथीहरूले पार्टी किन छोड्नुभयो होला ? साथीहरूले पार्टी छोड्नुभन्दा अगाडि सोधिएका प्रश्नहरुको जवाफ किन दिन सकिएन होला ? यी फेरि अर्का अहम प्रश्नहरु हुन् ।
जबसम्म पार्टी छोडेर जाने साथीहरूबाट सोधिएका प्रश्नहरुको चित्त बुझ्दो जवाफ दिन सकिँदैन तबसम्म यो समस्याको समाधान सजिलै हुने देखिँदैन । कांग्रेस हँु भनेर कांग्रेसकै विरुद्ध भोट माग्ने, कांग्रेसकै उम्मेदवारकोविरुद्ध अर्के पार्टीको उम्मेदवारलाई भोट हाल्ने, म कम्युनिस्टबाट आएको हँु कसरी विद्रोह गर्नुपर्छ जानेको छु देखाइदिन्छु भन्ने व्यक्तिलाई नेता मान्नु पर्ने र आफ्नो दुखले आर्जेको आफ्नै पार्टीको मञ्चमा त्यस्ता व्यक्तिले माला लागाएर बसेको टुलुटुलु हेरिराख्नु पर्ने हो भने हामी किन कांग्रेस हुनुप¥योे ? हामीले किन कांग्रेसको संगठन बलियो बनाउनु प¥यो ? कांग्रेसको विरुद्ध जघन्य घात र अपराध गरेर पनि फेरि कांग्रेस नै भै राख्न पाइने हो भने हामीले पनि यस्तै गल्ती गरेर भोलि कांग्रेस हुन किन नपाइने ? भन्ने यस्ता बर्गेल्ती प्रश्नहरुको जबसम्म जवाफ दिन सकिँदैन हामीले संगठनलाई सोचे जस्तो गरी बलियो र समृद्ध बनाउँनै सक्दैनांै । फेरि साथीहरूसग जिज्ञाशा हुन सक्छ तिमी त सभापति हौ नि यो तिमीले गर्नु पर्ने होइन ? यो प्रश्न सोध्नु भन्दा पहिला साथीहरूलाई राम्रोसँग जानकारी भएको हुनु पर्छ कि यस्तो गलत कार्य गर्नेलाई कार्यवाही गर्ने कुरा जिल्ला पार्टी सभापतिको क्षेत्राधिकार भित्र पर्दैन । यसका बारेमा मैले अधिकार सम्पन्न निकायमा निवेदनसहित जानकारी गराएको छु । यथेष्ट प्रमाणहरु पेस गरेको छु र यदि यस्तो गलत प्रवृत्तिको नियन्त्रण गर्न सकिएन भने यसले निम्त्याउने निराशा र छाडापनलाई नियन्त्रण गरेर पार्टीको सुदृढीकरण गर्न सकिँदैन भनेर केन्द्रीय कार्यसमिति र केन्द्रीय अनुशासन समितिमा समयमै खबरदारी समेत गरेको छु । यस्ता गलत क्रियाकलापको नियन्त्रण गर्ने प्रक्रियास्वरुप केन्द्रीय अनुशासन समितिबाट पहिलो स्पष्टीकरण माग समेत भएको छ । आशा गरौं, पार्टीले यस्तो गलत प्रवृत्तिको नियन्त्रण गर्दछ र पार्टी सुदृढीकरणकरणको उत्साहजनक बाटो निर्माण गर्दछ ।
मेरो एउटा कमजोरी के रह्यो भने म खुराफाती गर्न, अर्काको कुरा काट्न, तास खेल्न र हुलहुज्जत गर्न जान्दिन । म फेरि यसलाई राजनीति पनि भन्दिन । त्यसैले पार्टीको कामका अलावा अलिकति फुर्सद भयो भने कविता लेख्छु, गीत लेख्छु, लेख लेख्छु, किताब पढ्छु, २१ औ्र शताब्दीको डिजिटल जमाना हो यसैले ल्यापटप चलाउँछु र नयाँनयाँ कुरा खोज्छु । बिपीको असल अनुयायी हुँ त्यसैले बिपीले प्रतिपादन गर्नु भएको प्रजातान्त्रिक समाजवादको आर्थिक लक्ष्य प्राप्तिका निम्ति प्रचुर उत्पादन गर्नु पर्ने भन्ने भएकोले उद्यमशीलतालाई राजनीतिसँग जोड्नु पर्ने बहस चलाउँछु ।
अबका जनतालाई अनावश्यक कुरा र भाषणले जोड्न सकिँदैन भन्ने बुझेको छु । यसैले जनतालाई कसरी उद्यमशीलतासँग, सिर्जनासँग र आय आर्जनसँग जोड्न सकिन्छ भनेर छलफल र बहस चलाएको छु । यसका लागि कार्यक्रमहरुको तय गर्नु पर्ने भएकोले सबैको सहयोग जुटाएर वर्कसप, सेमिनार आदि गरेको छु । यस्ता कामको परिणाम आजको भोलि आउँदैन केही वर्ष लाग्छ भन्ने पनि बुझेको छु । कुराको थालनी गर्नु र त्यसको परिणाम आउन लाग्ने समयका बिचमा केही फासला रहने गर्छ । यो फासलामा कुरा काट्नेहरुबाट आउने टिप्पणीले अभियानलाई झनै बलियो बनाउने तर्फ पनि सचेत छु । मैले राजनीतिलाई निर्वाचन र सत्तासँग होइन देश र जनताको समृद्धिसँग जोडेर हेरेको छु । यसलाई यसैगरी बुझ्नुहुन पनि अनुरोध छ ।
पार्टी संगठन भित्रका आफ्ना गुनासा र असन्तुष्टिको जवाफ पार्टीकै विधि विधानबाट खोज्ने हो । जो चोर उसकै ठूलो स्वर भने जस्तै आफ्ना जघन्य अपराधहरुलाई छोप्न फेरि अर्को अपराध कोही कसैले पनि गर्नु हुँदैन भन्ने चेतना दुर्गा माताले हामी सबैलाई प्रदान गरुन भन्ने शुभेच्छा राख्दै विजया दशमी २०८१ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । जय नेपाल ।

तपाईको प्रतिक्रिया