दसैंको खुसी किन्ने बालुवा
बालुवा बिक्री भए दसैं मनाउने हो नत्र यत्तिकै हुन्छ
पोखरा
दसैंको चहलपहल बढिरहेको छ । दसैंमा के किन्नेदेखि लिएर कसरी मनाउने भनेर योजना बनाइरहेका छन् । दसैं भन्ने बित्तिकै मिठो खाने राम्रो लाउने, परिवारका सदस्य आफन्तजन जमघट भएर खुसीयाली मनाउने पर्व भनेर बुझिन्छ ।
तर कोहीलाई भने दसैं खर्च जुटाउन सकस छ । पोखरा महानगरपालिका ९ रामघाटमा बालुवा, ढुंगा जम्मा गरेर बेचेर दसैं खर्च जोहो गरिरहेका देख्न सकिन्छ । उनीहरू एकाबिहानै रामघाट पुग्छन्, बालुवा सोहोर्छन्, जम्मा गर्छन् अनि राति अबेर पछि मात्रै घर फर्कन्छन् ।
दसैंमा खाउँला, पिउँला, रमाइलो गरौंला दुख बिर्साैंला भन्ने हुन्थ्यो तर अहिले दसैं आए जस्तै महसुस नभएको बालुवा जम्मा गर्दै गरेकी एकजना मजदुर महिलाले भनिन् । पसिनै पसिना भएर बालुवा जम्मा गर्दै छिन् उनी । दसंै सुरु भएसँगै दर्सै खर्चको जोहो गर्न पसिना चुहाउँदै, बेल्चा बालुवामा गाडिरहेकी छिन् । उनको त्यति ठूलो सपना पनि होइन । बस्, दसैंको खर्च चलाउने ।
स्याङजाकी ५३ वर्षीया उनले आफ्नो परिचय खुलाउन चाहिनन् । ‘साथीभाइ, आफन्त छन्, छोराछोरीका सासुससुरा छन्, के सोच्लान् उनीहरुले । रहरले होइन बालुवा सोहोर्न आको, बाध्यताले हो,’ पसिना पुछ्दै उनले भनिन् ।
उनी ३० वर्षदेखि बालुवा जम्मा गरिरहेकी छन् । उनको १३ वर्षकै उमेरमा बिहे भएको थियो । एउटा छोरा जन्मेपछि श्रीमानसहित उनी पोखरा आइन् । केही वर्ष सुखमै बिते । पोखरा आएको ५ वर्षपछि उनको श्रीमानको निधन भयो । त्यसपछि उनले कहिल्यै सुखको अनुभूति गर्न पाइनन् ।
दसैं खर्च निकाल्न लुकिछिपी बालुवा सोहोर्न आएको उनले बताइन् । बालुवा बिक्री हुँदैन कि भन्ने चिन्ताले उनलाई सताएको छ । उनी भन्छिन्, ‘बालुवा बिक्री भए दसैं मनाउने हो नत्र यत्तिकै हुन्छ । एक्लै संघर्ष गरेर जीवन धाने । छोराछोरी हुर्काएँ पढाएँ । घरभित्रको कुरा भन्दै हिँड्न भएन, अहिले एक्लै परियो ।’
चाडबाडमा आराम गर्ने चलन छ । उनको त उमेर पनि आराम गर्ने भएको छ तर बालुवा नसोहोरे घरमा चुलो बल्दैन । एक टिप्पर बालुवालाई ४ हजार देखि ४५ सय रुपैयाँ सम्म पर्ने उनले जानकारी दिइन् । ‘एक टिप्पर बालुवा जम्मा गर्न ३÷४ दिन लाग्छ । बाटो सम्म बोकेर लग्नेले ३ हजार माग्छन्,’ उनले भनिन्, ‘आफैं बोकेर लान सक्दिनँ । ३÷४ दिन लगाएर बालुवा बेच्यो ४÷५ सय मात्र कमाइ हुन्छ ।’
यो वर्ष बाढीले बालुवा धेरै नल्याएको तथा ल्याएको पनि बगाएर लगेको उनले बताइन् । अवैध रुपमा बालुवा जम्मा गरेको बताउँदै उनले टेन्डरबाट काम गर्न पाए सहज हुने उनले सुनाइन् । बालुवा छैन ५÷६ करोेडको टेन्डर कसले हाल्छ ।
नगर प्रहरी आएर डोको, बेल्चा उठाएर लगदिएको उनले आक्रोश पोखिन् । ‘कहिले त डोको, बेल्चा खोलामा पनि बगाइदिन्छ । माग्न गयो भने जरिवाना तिर्न भन्छ, सामान भन्दा मंहगो हुन्छ जरिवाना, जरिवाना तिर्न भन्दा नयाँ किन्दा सस्तो पर्छ । बालुवा उठाए वापत कर तिर्न तयार छौं । ४÷५ सय कमाउन पनि यत्रो हरिविजोक छ । हाम्रो चाहना यति हो । कर तिरेर सहज तरिकाले कमाउन दिने वातावरण भइदिओस् ।’ उनले भनिन् ।
गुल्मीकी अर्की ७३ वर्षीया लक्ष्मी दर्जीको पनि दैनिकी उस्तै छ । उनी पनि दसैं सुरु हुनु केही दिनअघिबाट बालुवा किन्ने ग्राहक पर्खिंदै बसेकी छन् । बिहानदेखि साँझसम्म बालुवा जम्मा गरेर बेचेर सय, दुई सयमात्र कमाइ हुन्छ ।
तर लक्ष्मीलाई बालुवा सोहोर्ने बाध्यता भने होइन । काम गर्ने बानी भएकाले खाली बस्न मन नलाग्ने उनले बताइन् । उनी भन्छिन् ‘सामाजिक सुरक्षा भत्ताले एक्लो ज्यानलाई जत्ति पनि पुग्छ । घरमा एक्लै बस्न भन्दा साथीसँगी बोलचाल हुन्छ । शरीर पूmर्तिलो हुन्छ भनेर आएकी हुँ ।’
दसैंमा छोरीज्वाइँ, नातिनातिनी आउने भएकाले उनलाई दसैंको तिव्र प्रतीक्षा छ । पहिला जस्तो रमाइलो नलागे पनि दसैं भने सि आन्नद लाग्ने दर्जीको भनाइ छ । ‘यसपालि टीका पनि छ । टीका लगाइदिएर आशीर्वाद दिन पाउँदा खुसी लाग्छ । मैले टीका नलगाएको त धेरै वर्ष भयो । आफू भन्दा ठूलो कोही छैन कसको हातबाट लगाउने ।’ उनले भनिन् ।
दसैं मनाउने चलन परिवर्तन भएकोमा उनले चिन्ता व्यक्त गरिन् । बजारिया दसैं फिका लाग्ने उनले बताइन् । दसैंको बजारीकरणले गाउँघरको मौलिकता ध्वस्त पारेको छ । गरिबलाई दसैंले दशा ल्याउने दर्जीले धारणा व्यक्त गरिन् । ‘जमरासँगै टुसाउँथे दसैंको खुसी । दसैंको रौनकले गाउँघर हलहलाउँथ्यो । घर पोत्न रातो माटो र कमेरोको भारी बोकेर फर्किँदा दसैं बोकेर ल्याएजस्तो लाग्थ्यो । पिङ खेलिन्थ्यो । मिठो मसिनो खाइन्थ्यो,’ उनले विगत सम्झिन् ।
प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया