प्रहरी प्रवक्ता डिआइजी कार्कीले दसैंमा ल्याए ३ गीत

पोखरा । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको ‘फूलको बास्ना सरी’, ‘दसैँ रमाइलो’, ‘आयो दसैँतिहार’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना दर्साइएको ‘फूलको बास्ना’ मा दीपक शर्माले सङ्गीत दिनुभएको छ । गीतमा गायक राजेशपायल राईसहित मेलिना राई, बेनिशा पौडेल र समीर खरेलको स्वर रहेको छ । गीतको भिडियोमा रमेश उप्रेती, प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिशा हमालले प्रहरीको भूमिकामा अभिनय गरेका छन् । गीत गम्भीर विष्टले निर्देशन गरेका हुन् ।
‘दसैँ रमाइलो’ मा दसैँ आउने समय र दसैँ आउँदा कस्तो अनुभूति हुन्छ भन्ने खुलाइएको छ । दसैँ आउँदा गाउँघरमा कति रमाइलो हुन्छ र सबै परिवार एकसाथ भेट्दा कस्तो हुन्छ भन्ने कुरा पनि गीतमा पाइन्छ । बाल्यकालमा कसरी दसैँ मनाइएको हो भन्ने जस्ता सम्झनाका कुरा पनि गीतमा देखाइएको छ । गीतमा सरोज ओली, प्रियङ्का कार्की, दीपाश्री निरौलाको अभिनय छ भने सङ्गीत दीपक शर्मा, आवाज राजेशपायल राई र मेलिना राईले दिएका छन् ।
वैदेशिक रोजगारी, यसबाट सिर्जित पारिवारिक–सामाजिक विषयवस्तु, परदेसिएका मानिसले परिवारसँग बसेर चाडपर्व मनाउन नपाउँदा पोखिएका कथाव्यथा अनि परदेसिएका आफन्तको पर्खाइमा भोगेका वेदनालाई ‘आयो दसैँतिहार’ गीतमा देखाइएको छ । गीतमा समीर खरेल, मनीषा राई र दीपा तामाङले आवाज दिएका छन् । खरेल आफैँले सङ्गीत भरेका छन् ।
तपाईको प्रतिक्रिया