तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

लेखनाथ ।
पर्यटकीय राजधानी पोखराको बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो ।
यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ । दसैँमा पुनःनिर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनःनिर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो ।
पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिए । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले २ करोड र पुरातत्व विभागले २५ लाख गरी २ करोड २५ लाख लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको हो ।
समितिले १० करोड लागतमा लाग्ने गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो । अबको छ महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषाध्यक्ष खत्रीले दाबी गरे । तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उनको भनाइ छ ।
फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ । स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको ४ करोड ७० लाख समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ ।
कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गरेको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सचिव धु्रव बरालले बताए । ‘मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ’, सचिव बरालले भने, ‘प्राचीन कालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ ।’
मन्दिर पुनःनिर्माणका क्रममा सकेसम्म त्यहीका ढुङ्गा र काठ प्रयोग गर्ने भनिएको भए पनि ढुङ्गा काम नलाग्ने अवस्थामा रहेको र काठ भने केहीमात्रामा प्रयोगमा आएका सचिव बरालले बताए । मन्दिर पुनःनिर्माणका लागि मन्दिरमा आउने दर्शनार्थीले दान सहयोग गरिरहेका छन् ।
तालबाराही मन्दिरबाट अन्नपूर्ण हिमशृंखलाका साथै धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने त्यहाँबाट पर्यटकीय सराङकोट, पुम्दीभुम्दी, कास्कीकोट दरबारसमेत दृष्यावलोकन गर्न सकिन्छ । स्थानीय वासु त्रिपाठीले मन्दिरको पुनःनिर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
पोखराको गहना फेवाताल र तालबाराही मन्दिरको अवलोकन र दर्शन गर्न देशविदेशबाट धार्मिक पर्यटक आउने भएकाले पुरानै स्वरुपमा मन्दिर चाँडो सम्पन्न गर्नुपर्ने त्रिपाठीले सुझाव दिए । तालबाराही मन्दिरमा दर्शन गर्न बाराही घाटबाट डुंगा चढेर जानुपर्छ । रासस









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया