अन्नपूर्ण फेरोमा साइक्लिङ

सुन्दरकुमार थकाली २०८१ कार्तिक १ गते १६:१३

जोमसोम ।
लमजुङको बेसीसहरदेखि मनाङ हुँदै थोरङ पास गर्दै मुस्ताङ प्रवेश गर्ने कतिपय विदेशी पर्यटक रोमाञ्चक साइक्लिङमा रमाउने गरेका छन् । साहसिक यात्रा गर्न रुचि राख्ने विदेशी पर्यटकले अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने क्रम बढेको हो ।


अनुकूल मौसमसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा यात्रा गर्ने विदेशी पर्यटकको संख्या सन् २०२४ को सेप्टेम्बरदेखि ह्वात्तै वृद्धि भएको हो । यस पदमार्गमा विदेशी पर्यटक पैदलयात्रा तथा साईकलिङ यात्रा गर्न रुचाउँछन् । विभिन्न देशका विदेशी पर्यटक लमजुङको बेसींसहर हुँदै मनाङबाट साइक्लिङ गर्दै मुस्ताङको मुक्तिनाथ आइपुगेका छन् ।


समुन्द्री सतहको झन्डै ५ हजार मिटरमा अवस्थित अन्नपूर्ण पदयात्रा गर्ने क्रममा १५ विदेशी र ३ नेपाली पथप्रदर्शकको टोली साइक्लिङ गर्दै आइतबार जोमसोम आइपुगेको हो । साइक्लिङमा ३ जना अमेरिकी, ३ अस्ट्रेलियन, ३ क्यानेडाली, २ बेलायती र ४ जना युरोपियन पर्यटक छन् । उनीहरु ५ दिनको रोमाञ्चक साइक्लिङ यात्रा गर्दै मनाङ हुँदै मुस्ताङ आइपुगेको पथप्रदर्शक अजय पन्डित क्षेत्रीले जानकारी दिए ।

Advertisement


टोलीमा नेपाली र विदेशी गरी १८ जनाको सहभागिता छ । ती १५ विदेशी पर्यटकले अक्टोबर ६ तारिखमा लमजुङको बेंसीसहरबाट साईकलिङ पदयात्रा सुरु गरेका थिए । एकमा टोली मुस्ताङ आइपुगेको हो । अन्नपूर्ण पदमार्गमा साइक्लिङ गर्दै मुक्तिनाथ झरेको टोलीले त्यहाँबाट आफूले बोकेका झोलाहरु गाडी रिर्जभ गरी पठाएको थियो ।

बेंसीसहरदेखि मनाङ हुँदै थोरङ पास गरी केही विदेशी साइक्लिङ गर्दै मुस्ताङ आउने गरेका छन्

Advertisement


टोली बेनी जोमसोम राजमार्ग सडक हुँदै सोमबार म्याग्दीको तातोपानीमा बास बसेको प्रथप्रर्शक क्षेत्रीले खुलाए । मंगलबार पोखरा आइपुगेर राउन्ड अन्नपूर्णको साइक्लिङ पदयात्रा सकिएको छ । मनाङको यात्रा विदेशी पर्यटकका लागि रोमाञ्चक र अविष्मरणीय भएको पथप्रदर्शक क्षेत्रीले सुनाए ।


क्षेत्रीले भने, ‘आहा कति राम्रो भूगोल, कति राम्रो प्राकृतिक सौन्दय । यहाँ आईपुग्दा त स्वर्गमै पुगेको अनुभूति भयो ।’ नेपाल आउँदा राउन्ड अन्नपूर्ण पदयात्रामा जानैपर्नेमा पर्यटकहरुको जोड छ ।


राउन्ड अन्नपूर्ण पदयात्राका क्रममा खोलानाला, अप्ठ्यारो, जोखिमयुक्त पदमार्ग र उच्च स्थानको भूगोलले विदेशी पर्यटकले साइक्लिङ यात्रामा पृथक अनुभूति गरेका हुन् । ७ दिनको यात्रा गर्दै मुस्ताङ भित्रिएका ५ मुलुकका १५ पर्यटकले समुन्द्री सतहदेखि ५ हजार ४ सय १६ मिटर अग्लो मनाङ र मुस्ताङको सिमाना थोरङ पास गर्दै मुस्ताङ प्रवेश गरेका थिए ।

थोरङ क्षेत्रमा भिरोलो सतह र सेताम्मे हिउँका कारण करिब ४ घण्टाको पदयात्रामा विदेशी पर्यटक आफैंले लगेजसँगै साइकल बोकेर यात्रा गर्नुपरेको उनले सुनाए । पछिल्लो समय सडक सञ्जाल विस्तार हुँदै गर्दा विदेशी पर्यटकको अन्नपूर्ण पदयात्रासमेत छोडिँदै जान थालेको छ ।


मुस्ताङमा दशक अघिका पर्यटकीय पदमार्ग नै मासिदै जान थालेका छन् । नेपाल भ्रमण गर्ने पर्यटकका लागि राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग उपयुक्त छ । अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने सार्क राष्ट्रका पर्यटकलाई एक हजार र अन्य मुलुकका विदेशीले ३ हजार रुपैयाँ प्रतिव्यक्ति राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई बुझाउनु पर्छ ।


सन् २०२४ को अक्टोबर १३ तारिखसम्म सार्क तथा अन्य मुलुकका गरी ८ हजार ९ सय ५ जना अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । मनाङबाट मुस्ताङ प्रवेश गर्नेहरुमा ८ हजार ६ सय ६५ जना विदेशी छन् भने २ सय ३८ जना सार्क राष्ट्रका हुन् ।


सन् २०२४ मा अन्नपूर्ण पदयात्रा गर्दै सबैभन्दा बढी विदेशी पर्यटकको फलो अक्टोबरमा हुने प्रक्षेपण गरिएको छ । अक्टोबर सकिन अझै आधा महिना बाँकी रहदा यस याममा १ हजार २ सय ६१ जनाले पदयात्रा गरिसकेको एक्याप जोमसोमको तथ्यांकमा उल्लेख छ ।

चेकपोस्टको तथ्यांक अनुसार यसअघि सेप्टेम्बरमा ९ सय ७४ जनाले राउण्ड अन्नपूर्ण पदयात्रा पूरा गरेका थिए । जनवरीदेखि सेप्टेम्बरसम्मको अभिलेख हेर्दा सबैभन्दा बढी अप्रिलमा २ हजार ७ सय २६ जना र सबै भन्दा कम जुलाईमा १ सय २२ जनाले अन्नपूर्ण पदयात्रा गरेका छन् ।


सन् २०२४ मा अन्नपूर्ण चक्रीय पदमार्गमा यात्रा गर्ने पर्यटकको तथ्यांंक हेर्दा ९७ दशमलव २५ प्रतिशत विदेशी छन् भने २ दशमलव ७५ प्रतिशत सार्क राष्ट्रका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया