रास्वपा र सहकारी पीडितका नाममा सडकमा स्वार्थ समुह
सानो झिल्कोले जल्न सक्छ पोखरा !

पोखरा ।
सहकारी ठगी अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पोखरामा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । शुक्रबार राजधानीबाट पक्राउ गरेर रातारात पोखरा ल्याइएका लामिछानेलाई आज कास्की प्रहरीले अदालतमा पेश गर्नै पर्ने हुन्छ । हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिनै पर्ने हुन्छ ।त्यसका लागि आजै दिउसो जिल्ला अदालत कास्कीमा लामिछानेलाई उपस्थित गराउने तयारी प्रहरीको छ ।
यही मौकामा अदालतलाई दवावमा पार्न पोखरामा २ थरी समुह कस्सिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु ठूलो संख्यामा रविको पक्षमा प्रदर्शन गरेर अदालतलाई प्रभावमा पार्न चाहान्छन् । त्यसैगरी रवि लामिछाने कै विरुद्ध किटानी जाहेरी दिने पोखराका सहकारी पीडितहरु पनि प्रदर्शनकै तयारीमा छन् । उनीहरुले पनि रविको पक्षमा उत्रने भिडबाट अदालत प्रभावित नहोस् भनेर अदालतलाई नै दवाव दिन चाहान्छन् । त्यसैले उनीहरुले पनि रविको विरुद्धमा प्रदर्शनको तयारी गरेका छन् ।
दुवै पक्षले प्रदर्शन गर्ने स्थान लगभग लगभग एकै ठाउ छ । रास्वपाले सहिद चाेकस्थित जिल्ला प्रशासन कार्यालय अघिल्तिर जम्मा हुन आव्हान गरेको छ भने सहकारी पीडितहरुले राष्ट्रबैक चाेकमा जम्मा हुन सूचना प्रवाह गरेको छ । दुवै पक्षको प्रदर्शन स्थल मुश्किलले ५० मिटरको दुरीमा छ ।
दुवै प्रदर्शनस्थल वरिपरी सरकारी कार्यालय भएको स्थानमा छ । गण्डकी प्रदेश सरकारको मुख्यालयसहित विभिन्न मन्त्रालय यही छन् । जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको निवास, गण्डकी प्रदेश प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, राष्ट्र बैैक, आन्तरिक राजस्व कार्यालयय लगायत दर्जनौं सम्वेदनशिल कार्यालयको आसपासमा प्रदर्शन हुँदैछ ।
परिस्थिति कस्तो छ भने प्रदर्शनमा पनि राजनैतिक ध्रुवीकरण देखिएको छ । रास्वपालाई नेकपा माओवादी केन्द्र लगायत प्रतिपक्षका पार्टीका कार्यकर्ताको समर्थन छ भने सहकारी पीडितको पक्षमा कांग्रेस एमालेका कार्यकर्ता देखिएका छन् । दुवै पक्षका प्रदर्शनमा ती पार्टीका कार्यकर्ता देखिए भने पनि अनौठो नमान्दा हुन्छ ।
दुवै पक्षको प्रदर्शनमा घुसपैठको सम्भावना पनि उत्तिकै छ । केही व्यक्तिहरु राजधानीबाटै परिचालित भएर पोखरा आएको र उनिहरुले दुवै पक्षमा घुसपैठ गरेर परिस्थिति चर्काउने तयारीमा रहेको सूचनाहरु समेत प्राप्त भएका छन् । देशमा अराजक स्थिति बनोस् भन्ने चाहाना राख्ने गिरोहलाई यो भन्दा उपयुक्त मौका अर्को नहुन सक्छ । उनीहरुको त्यही अनुसारको तयारीलाई नजर अन्दाज गर्न मिल्दैन ।
परिस्थिति बिग्रन नदिनु पहिलो जिम्मेवारी गृह प्रशासनको हो । तर कास्कीको गृह प्रशासन दुवै पक्षलाई एकै स्थानमा प्रदर्शन गर्न दिएर चुकिसकेको छ । प्रदर्शनस्थल सम्वेदनशिल छ भन्ने जान्दा जान्दै पनि एउटालाई मात्र होइन् दुवै पक्षलाई एकै ठाउ स्वीकृती दिनु किमार्थ सही निर्णय हैन । त्यसैले कास्कीको गृह प्रशासन गम्भिर बन्नै पर्छ ।
दोश्रो जिम्मेवारी रास्वपा कै नेता कार्यकर्ताको हो । भाेलि देशको नेतृत्व गर्छौ भन्दै राजनीतिमा होमिएकाहरुले भिडबाट न्यायालय प्रभावित पार्न खोज्नुलाई सही भन्न सकिदै सकिन्न । त्यसमाथि धमिलो पानीमा माछा मार्ने समुह सकृय छन् भन्ने कुरा २-२ पटक गृहमन्त्री भैसकेका रवि लामिछाने र उनको पार्टीका नेतालाई थाहा छ । त्यही समुहलाई बल पुग्ने गरी सडकलाई उत्तेजित पार्ने काम नयाँ राजनीतिको मानक स्थापित गर्छौ भन्नेहरुले गर्न हुँदैन ।
तेश्राे जिम्मेवारी सहकारी पीडितहरुको हो । पोखराका सहकारी पीडित कै किटानी जाहेरीका कारण कास्की प्रहरीले दुई दुई पटक गृहमन्त्री भैसकेको मान्छेलाई सयौं कार्यकर्ताको बिचबाट पक्राउ गरेर पोखरा ल्याएको छ । उसको अनुसन्धानमा पीडितहरुले विश्वास गर्नु पर्छ । त्यसैगरी प्रहरीको माग अनुसार बहालवाला प्रतिनिधि सभा सदस्यलाई पक्राउ पुर्जी जारी गर्ने कास्की अदालत प्रति पनि सहकारी पीडितले भरोषा गर्नु पर्छ ।
चौथो दायित्व सत्तापक्ष र प्रतिपक्षका पार्टी कार्यकर्ताको हो । यो पिंध उठेको लोटा जस्तो राजनीतिमा को कहिले कति बेला सत्ता पक्ष र विपक्ष बन्छ भन्ने एकिनै नभएको बेलामा आगोमा ध्यू थप्ने काम गर्नै हुँदैन् । प्रदर्शनमा दलका कार्यकर्ता सहभागी भए भने भोलि घुसपैठ गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन असजिलो हुन्छ ।
पाँचौ र महत्वपूर्ण दायित्व नागरिक समाजको छ । सडकमा पक्ष र विपक्षमा हुन थालेको भिडन्त रोक्न वा राेक्नका लागि दवाव दिन नागरिक समाज चुक्नु हुँदैन । बिग्रिसकेपछि निकाल्ने सद्भाव र्याली भन्दा त्यसभन्दा पहिले गर्ने खवरदारीको मूल्य कैयौं गुणा बढी हुन्छ ।
त्यसैले सबै सजग बनौं, जिम्मेवार बनौं । सानो झिल्कोले पनि पोखरा जल्न सक्छ भन्नेमा सावधान बनौं ।

रामकृष्ण ज्ञवाली
ज्ञवाली समाधान दैनिक र समाधानन्युज डटकमका प्रधान सम्पादक हुन् ।







हुलाक सेवालाई समयसापेक्ष बनाउन जोड
मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया