हिरासतको कोठामा एक्लै रवि
रवि लामिछाने एउटा कोठामा एक्लै रहँदा उनका पूर्व सहकर्मी छविलाल जोशी र जिबी ग्रुपकी कर्मचारी लीला पछाइसमेत अहिले हिरासतमै छन्

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने यति बेला कास्की प्रहरीको हिरासतमा छन् । सहकारीको रकम ठगी प्रकरणमा लामिछानेलाई शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय काठमाडौंबाट सिआइबीले पक्राउ गरेर कास्की ल्याएको हो ।
शुक्रबार राति स्थल मार्ग हुँदै लामिछानेलाई काठमाडौंबाट पोखरा पठाइएको थियो । शनिबार बिहान ३ बजे लामिछानेलाई पोखरा ल्याइएको प्रहरीले जनाएको छ । हिरासतमा राख्नुअघि लामिछानेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल चेकजाँच गरिएको थियो । त्यसलगत्तै लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार लामिछानेलाई हिरासतको एउटा कोठामा एक्लै राखिएको छ । लामिछानेले परिवारका सदस्यबाहेक अरुसँग नभेटेको प्रवक्ता शर्माले जानकारी दिए । ‘भेट्न चाहने त हुनुहुन्छ होला । तर, उहाँले परिवारका सदस्यबाहेक अरुसँग भेटन् खोज्नुभएको छैन,’ शर्माले भने ।
प्रवक्ता शर्माका अनुसार लामिछानेको स्वास्थ्य अवस्था सामान्य छ । आइतबार उनलाई अदालत उपस्थित गराउने प्रहरीको तयारी छ । अदालतबाट म्याद थप गरेपछि मात्र बयान सुरु गरिने शर्माले जानकारी दिए ।
कास्की प्रहरीको हिरासतमा लामिछाने आराम गरिरहँदा शनिबार चिप्लेढुंगा स्थित मानव अधिकार चोकमा रास्वपाका कार्यकर्ताले लामिछानेको पक्षमा नाराबाजी गरेका छन् । उनका समर्थकले सरकारको विरोध गर्दै लामिछानेलाई रिहाइ गर्न माग गरे । बिहान ११ बजेदेखि जम्मा भएका भीडले बेलुका करिब ३ बजेसम्म नाराबाजी गरेको थियो ।
समर्थकहरू पोखराको मानव अधिकार चोकमा जम्मा भएर रिहाइको माग गर्दै महेन्द्रपुलसम्म पुगेका थिए । प्रहरीले निषेधित क्षेत्र भन्दै महेन्द्रपुलदेखि माथि जान उनीहरुलाई निषेध ग¥यो । त्यसअघि मानव अधिकार चोकमा गरिएको सभामा रास्वपा उपसभापति स्वर्णीम् वाग्लेले संगठित अपराधमा सहभागीहरु अहिलेको मन्त्रीपरिषद् रहेको आरोप लगाए ।
भर्खरै उम्रदै छौं । गर्न धेरै बाँकी छ । चिमोट्ने, निमोठ्ने र नाश गर्न खोज्ने खेल जनतालाई बुझाउन आवश्यक छ ।
डिपी अर्याल, रास्वपा उपसभापति
वाग्लेले नक्कली भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधीहरु अहिलेको मन्त्रिपरिषद्मा रहेको भन्दै उनीहरुबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको दाबी गरे ।
सांसद वाग्लेले नेतापिच्छेका विभिन्न स्वार्थ र प्रतिशोधको भावनाले सरकारले लामिछानेलाई पक्राउ गरेको तर्क गरे । ‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिध्याएरै छोड्नु थियो । कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो । कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो । कसैलाई गिरीबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो । कसैलाई ललिता निवासलाई दक्षिणमा बदलेर गोजी भर्नु थियो । कसैलाई लुटको रंगशालामा बाँचुन्जेल फुटबल हान्नु थियो,’ उनले भने ।
रास्वपा सांसद मनिष झाले रवि लामिछानेलाई पक्राउ गर्न सफल भएकोमा कांग्रेस महामन्त्री गगन थापालाई व्यग्यात्मक रुपमा धन्यवाद दिए । लामिछाने पक्राउको घटनाले गगन थापा पनि नांगिएको उनको तर्क छ ।
‘कांग्रेसका महामन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु । गगन थापा तिमी पनि नांगियौ,’ झाले भने, ‘किन कि यो देशका नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा नयाँ दल, केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्न चाहनेहरू आउँदै गर्दा उ आत्तियो र ओलीको संगतमा मात्तियो ।’
अर्का उपसभापति डिपी अर्यालले सभापति लामिछाने निर्धक्क रहेको बताए । ‘भर्खरै पार्टी सभापतिज्यूलाई भेटे । उहाँ निर्धक्क हुनुहुन्छ । उहाँलाई न्यायालयप्रति विश्वास छ,’ अर्यालले भने, ‘सभापतिज्यूले नेतृत्व गर्नुभएको अभियानलाई पूर्णता दिनु छ । भर्खरै उम्रदै छौं । गर्न धेरै बाँकी छ । चिमोट्ने, निमोठ्ने र नाश गर्न खोज्ने खेल जनतालाई बुझाउन आवश्यक छ ।’
सांसद तोसिमा कार्कीले पार्टी सभापतिलाई जेल हालेर रास्वपा सिध्याउन सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिइन् । ‘प्रधानमन्त्रीज्यू, रवि लामिछानेलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला, सकिँदैन ! अझै ठूलो हुन्छ, अझै शक्तिशाली हुन्छ । अझै बलियो हुन्छ । जति हामीलाई जिस्काउनुहुन्छ, त्यति नै बलियो भएर आउछौं । जति हामीलाई चिढ्याउनु हुन्छ, त्यति अझै शक्तिशाली भएर आउँछौं,’ कार्कीले भनिन् ।
अघिल्लो महिना सहकारीसम्बन्धी छानबिन गर्न बनेको समितिले गोर्खा मिडियामा करौडौं रकम लगिएको निष्कर्ष निकालेको थियो । सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो ।
‘सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५ सय ३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ।’
संसदीय समितिले सहकारी ठगी प्रकरणका गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसहित कार्यकारी अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया