श्रद्धाञ्जली

आँखामा राखे पनि नबिझाउने धनञ्जय

रामजीप्रसाद लम्साल २०८१ कार्तिक ४ गते १३:४०

गैरागाउँमा हुर्केका धनञ्जय स्वर्गीय गंगाधर आचार्य र नन्दकला आचार्यका कान्छा छोरा, पाँच दिदीहरू र दुई दाजुका प्यारा, सबैले बोलाउने प्यारो नाम–कान्छा । विसं २०४२ माघ १९ गते जन्मिएका धनञ्जयको बाल्यकाल जन्मस्थल गैरागाउँमा बित्यो । बाबुआमाले गर्ने कृषि र पशुपालनमा सहयोगसँगै घर नजिकैको ब्रम्हज्योति प्राविमा प्राथमिक शिक्षा र शान्तिउदय मावि वरपाण्डेथुमबाट माध्यामिक शिक्षा अध्ययनपछि जेठा दाजु शिवप्रसाद आचार्यसँगै पोखरा झरे ।

Advertisement


बाल्यकालमा समेत अत्यन्तै विवेकी र बुद्धिमतापूर्ण निर्णयमा पारंगत उनले दाजुसँगको सिकाइबाट व्यावसायिक कामसँगै आफ्नो उच्च शिक्षा अध्ययनको यात्रा जारी राख्दै त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर उपाधि हासिल गरे । औपचारिक होस् वा अनौपचारिक अध्ययनमा उच्च आकांक्षा राख्ने उनी पछिल्लो समय एक कुशल, कर्तव्यपरायण, शिक्षकको परिचयसहित अध्यापन र प्राध्यापन पेशामा समेत क्रियाशील थिए ।


समाजमा कैयन स्वार्थ मिश्रित गतिविधि हाबी हुँदै गइरहेको वर्तमान समयमा उनमा न कुनै स्वार्थपूर्ण गतिविधि भेटिन्थ्यो त न कुनै घमण्ड र अहंताको शृंखला नै । अति विनयशील, नेतृत्वदायी गुणले भरिएका उनी हरेक सामाजिक कार्यहरूमा सक्रियताका साथ प्रस्तुत हुन्थे । कुनै पनि समस्या भेट्ने बित्तिकै त्यसको दीर्घकालीन समाधान खोज्ने अदभूत क्षमता त थियो नै तत्कालदेखिने सक्ने सम्भावित जोखिमलाई समेत पूर्बानुमान गर्ने शक्ति र सामर्थ्य राख्थे ।


आफू र आफ्नालाइ मात्रै होइन सबैको कल्याण र परोपकारी कार्यलाई काधमा पहिले बोक्न मन मन पराउने उनी स्वभाव, व्यवहार र कार्यशैलीकै कारण सबैका प्यारा थिए । आपूm आबद्ध भएर आस्था राख्ने संघसंस्थाप्रति त उनी काममा जिम्मेवारी र दायित्व सम्झेर लगनशीलताका साथ खटिन्थे । सबैभन्दा कठिन काम सम्पादन गर्ने उपयुक्त पात्रको खोजी हुँदा उनी नै सबैको पहिलो रोजाइमा पर्थे ।

आज उनी हामीमाझ नरहँदा हेर्ने दृष्टि गुमेको जस्तो, चल्ने मुटु बसेको जस्तो, उज्यालो दिन अँध्यारोजस्तो भएको छ

Advertisement


कास्कीका राजनीतिक नेता कार्यकर्ता मात्रै होइन समाजका अगुवा र नेतृत्वसंग उत्तिकै चिरपरिचित मात्रै नभएर परिवारिक ब्यबस्थापन र संयोजनमा समेत अब्बल थिए । जेठा दाजु शिवप्रसाद आचार्यका अति प्रिय त थिए नै, अधिकांश कामको व्यवस्थापन उनकै जिम्मेवारी हुन्थ्यो । आज उनी हामीमाझ नरहँदा हेर्ने दृष्टि गुमेको जस्तो, चल्ने मुटु बसेको जस्तो, उज्यालो दिन अँध्यारोजस्तो भएको छ ।


विश्वास जितेर काम गर्नु, त्यसको परिणाम अधिक दिन सक्नु अनि विश्वास कायम राख्न सक्नु महत्वपूर्ण हुन्छ । सबैका विश्वास जितेर निरन्तर त्यो विश्वासको जगमा उत्कृष्ट नतिजा दिन सक्ने अर्को अतुलनीय क्षमता थियो । धनञ्जय जोखिम उठाउन मन पराउने, कम बोल्ने, धेरै सुन्ने, जिम्मेवारीबाट पछि नहट्ने, आजको काम अर्को दिनलाई नसाँच्ने कसैसँग नरिसाउने, नपिराउने जस्ता महत्वपूर्ण सफल गुणले भरिएका थिए ।

हामीबाट बिदा त भए तर मनभरि पीडा असह्य वेदनाको पोको दिएर गए । एउटा निभ्नै नहुने दियो नियतिले निभाइदिएको छ । गुम्नै नहुने कर्मशील युवा समाज र राष्ट्रले गुमाएको छ । कर्मठ मिहिनेती लगनशील उनी दिवंगत भएको आज तेह्रौं दिन भएको छ । अर्धांगिनीको गर्भमा हुर्कँदै गरेको उत्तराधिकारी समेत देख्न नपाउँदै नियतिले उनलाई हामीबाट चँुडेर हृदय विदारक पीडा दियो । जन्मपछि देहवसान त प्रकृति नै हो ।

तर, ४० वर्ष पनि नकाट्दै नियतिले उनलाई लग्यो, त्यही नै ठूलो बज्रपात भयो परिवार र हामीलाई । त्यसैले त भनिएको होला मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ । धनञ्जयले हामीलाई छोडेर जाँदा त्यही फरक अभास भइरहेको छ । यस्तो बेला लेख्ने शब्दहरु पनि नहुँदा रहेछन् । आँसुको मसी पनि रित्तिँदोरहेछ । मन भारी हुँदोरहेछ । आँखामा राखे पनि नबिझाउने प्रिय कान्छा धनञ्जय तिम्रो आत्माले शान्ति पाओस्, वैकुण्ठबास होस् । हार्दिक श्रद्धाञ्जली बाबू !


पोखरा ३३ भरतपोखरी, गैरागाउँ

तपाईको प्रतिक्रिया