रविलाई हाजिर जमानीमा छोड्न अस्वीकार, ६ दिन म्याद थप

समाधान संवाददाता २०८१ कार्तिक ५ गते १२:३३
फाइल फोटो

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ठगी र संगठित अपराधको अनुसन्धानमा रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कात्तिक २ गतेदेखि लागु हुने गरी ६ दिन म्याद थप भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले हाजिरी जमानीमा छाड्न इन्कार गर्दै पहिलो पटक ६ दिनको म्याद थप गर्न अनुमति दिएका हुन् ।

Advertisement


जिल्ला अदालतमा आइतबार भएको बहसमा रविको तर्फबाट अधिवक्ता डाक्टर नारायण कँडेल, यज्ञमणि न्यौपाने वहस गरेका थिए । उनीहरुले सहकारीको रकम अपचनमा संलग्न रहेको कुनै प्रमाणसमेत नभएको तर्क गर्दै हाजिर जमानीमा छाड्न माग गरेका थिए । सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले बसह गरेकी थिइन् ।

हाजिरी जमानीमा छाड्न अस्वीकार गर्दै न्यायाधीश नवराज दाहालको इजलासले प्रहरीले माग गरे बमोजिम ६ दिन म्याद थप गर्न अनुमति दिएका हुन् । उनलाई शुक्रबारदेखि नै लागु हुने गरी म्याद थप गरिएको हुँदा प्रहरीले ७ गतेसम्म मात्र हिरासतमा लिन सक्छ । अनुसन्धान नटुगिए, फेरि अदालतसँग अनुमति लिएर हिरासतमा राख्न सक्छ ।


प्रहरीले आइतबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले अदालत बाहिर रिहाइको माग गरेका थिए । सडकमा दबाब दिँदै लामिछानेलाई हाजिर जमानीमा रिहा गराउने रास्वपको रणनीति भने असफल भएको छ ।


रास्वपाका उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ लगायतकाहरु सडक आन्दोलनबाट अदालतलाई दबाबमा पार्न आइतबार निरन्तर विरोध प्रदर्शनमा उत्रे । आइतबार विरोध प्रदर्शनमा धकेलाधकेल भएपनि शनिबारको विरोध प्रदर्शन सामान्य नै थियो ।

Advertisement

निषेधित क्षेत्र तोडेर प्रदर्शन, पक्राउ परेकालाई प्रहरीले छाड्यो


प्रदर्शनलाई मध्यनजर गर्दै कास्की जिल्ला प्रशासनले निषेधित क्षेत्र तोकेको छ । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय वरिपरिको ४ किलोमिटर क्षेत्रमा प्रदर्शन नपाइने गरी प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी सिडिओ)भरतमणि पाण्डेले आइतबार मध्यान्ह निषेधित क्षेत्रको आदेश जारी गरेका थिए । निषेधित क्षेत्र सहिदचोक आसपासका क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्र तोकिएको थियो ।


तर रास्वपाका नेता तथा कार्यकर्ताहरूले निषेधित क्षेत्रमात्र तोडेनन्, सिडिओ कार्यालयको गेट अगाडि नै दिनभरि प्रदर्शन गरिरहे । त्यसक्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहरा हानेर रास्वपा नेता, कार्यकर्तालाई तितरबितर बनाएको थियो । सोही प्रहरी माथि आक्रमण गर्ने एक जनालाई पक्राउ गरेको थियो । यद्यपि बेलुका छाडिएको कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए । ‘उहाँले नियन्त्रणमा लिएर बैदाम प्रहरी कार्यालय पुर्‍याइएको थियो । बेलुका उहाँलाई छाडिएको छ,’ डिएसपी शर्माले भने, ‘आन्दोलनमा त्यस्तो केही भएन । घाइते भएको पनि थाहा भएन । पक्राउ पर्नुभएको एक जनालाई छाडिएको छ ।’


सहिद चोकमा चर्को नाराबाजी हुँदा अदालत जाने बाटो पनि छेकिएको थियो । त्यसैले प्रहरीले रविलाई घुमाउँरो बाटो प्रयोग गर्दै लेकसाइड हुँदै अदालत उपस्थित गराएको थियो । त्यसको सुइको नेता कार्यकर्ताले धेरै ढिला पाएका थिए । त्यसक्रममा आन्दोलनको समाचार संकलन गरिरहेका पत्रकारलाई पार्टी विरोधी भन्दै हातपातसमेत भएको थियो । जसको नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर विरोध गरिसकेको छ । प्राइम टेलिभिजनका पत्रकार र क्यामरा पर्सनमाथि हातपात गर्दै उनीहरूले क्यामरा नै तोडफोडको प्रयास गरेका थिए । आन्दोलनमा नयाँ अनुहार देखिए घुसपैठ गर्न आएको भन्दै उनीहरुले कुटपिट समेत गरेका थिए ।


म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा लामिछानेले अदालतको परिसरमा वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विपक्षमा कडा टिप्पणी गरेका छन् । उनले यो सरकार नढलेसम्म आन्दोलन गर्न पार्टीका कार्यकर्ताहरूलाई आह्वान गरेका थिए ।

एकातिर समर्थन अर्कोतर्फ विरोध
सहिदचोकमा रविको रिहाइको माग गर्दै विरोध भइरहँदा राष्ट्रबैंक चोकमा भने सूर्यदर्शन सहकारीका पीडितले न्यायको माग गरिरहेका थिए । यद्यपि मुठभेड हुन सक्ने भन्दै प्रहरीले दुवै समूहलाई भेट हुन दिएन । बेलुका साँझमा बहस सकियो, अनि भीड तितरबितर भएको थियो ।

तपाईको प्रतिक्रिया