हिमाली गाथा अर्थात् ‘अमरभूमि’ सार्वजनिक

समाधान संवाददाता २०८१ कार्तिक ६ गते १०:५६

काठमाडौं ।
हिमाली अन्वेषक एवं ग्रामीण विकास अभियन्ता नरबहादुर लामा (जिग्मे) द्वारा लिखित अमरभूमि पुस्तक काठमाडौंमा लोकापर्ण गरिएको छ । ‘दिगो सुख र अमरत्वको खोजीमा’ निस्केका लामाको पुस्तक ‘अमरभूमि’ले मुक्तिमार्ग देखाएको छ ।

Advertisement


प्रकाशक बुक्स हिमालयले शनिबार आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, बौद्ध दर्शनका विद्वान मिलन शाक्य, साहित्य पोस्ट डट् कमका सम्पादक अश्विनी कोइराला, खेन्पो कर्मा राग्पे, लेखक जिग्मे र प्रकाशक पवन शाक्यले पुस्तक लोकार्पण गरेका हुन् ।

ललितपुरको बुक्स हिमालयले प्रकाशन गरेको पुस्तकको मूल्य ७ सय रुपैयाँ राखिएको छ । पुस्तकको बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत गृह जिल्ला हुम्लाको स्वास्थ्य क्षेत्रमा लगानी गरिने भएको छ ।

Advertisement


पुस्तक लोकापर्ण गर्ने अतिथिहरूका साथै शिक्षक धनबहादुर लामा र लेखक जगबहादुर बुढाले पनि पुस्तकको प्रशंसा गरेका थिए । उनीहरूले यो पुस्तकको अंग्रेजी संस्करण निकाल्नुपर्ने सुझाव दिएका छन् ।


हुम्लाको सिमकोट गाउँपालिका–३, लिमाटाङमा जन्मेहुर्केका ४७ वर्ष जिग्मे पर्यटन व्यवसायी हुन् । ग्रामीण विकास अभियन्ता जिग्मेको यो पुस्तक सन १९९० को दशकको कर्णाली क्षेत्रको सामाजिक, आर्थिक परिवर्तनहरूको पृष्ठभूमिबाट सुरु हुन्छ ।

Advertisement

प्रारम्भिक अध्यायहरूमा लेखकले हुम्ला र कैलाश क्षेत्रको भूगोल यात्रा पहिल्याउँदै, समाजमा विकास र समृद्धिको समाधान खोज्दै हिँडेका छन् ।

पछिल्ला अध्यायहरूमा चिन्तनमा गहिरिँदै विगत, वर्तमानका सिद्धहरू, तिनको उपदेश, यात्रा वृत्तान्तहरू पहिल्याउँदै बाह्य संसार र भित्री चेतनाको सम्बन्ध, नालिवेलीहरू केलाएका छन् । भूगोल, इतिहास, आध्यात्मिकताको यो सगोल यात्रा अघि वढाउँदै निखारिएको दृष्टिमा सुखी समाज र शुद्ध भूमि वा नयाँ परिवेशमा वेयुल, शाम्बाला, सांंग्रिलाको द्वार खोल्ने प्रयास गरेका छन् ।

तपाईको प्रतिक्रिया