न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति

समाधान संवाददाता २०८१ कार्तिक ७ गते ७:३७

पोखरा । देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयास थालेका छन् । त्यसका लागि मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गरेका छन् ।

Advertisement

गठित समितिको संयोजकमा चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाइँ संयोजक छन् । यसैगरी, वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि सदस्य छन् । समितिमा अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साईन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव तोकिएका छन् ।

समितिले देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी सम्भाव्य स्थानको पहिचान गर्नेछ । समितिलाई अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेश गर्न भनिएको छ ।

अहिले न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेको छ, मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भने, यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर मन्त्रीबाट मन्त्रीस्तरीय निर्णमार्फत अध्ययन समिति गठन भएको छ। बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैर सरकारी क्षेत्रबाट मात्र भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया