बोटबिरुवालाई ३ गुणा चाँडो हुर्काउने प्रविधि ‘मियावाकी’ नेपालमा

समाधान संवाददाता २०८१ कार्तिक ७ गते १३:१३

पाेखरा ।

Advertisement

वन डढेलो तथा पहिरो नियन्त्रण र हरित सहरका लागि गण्डकीमा पहिलोपटक जापानिज मियावाकी प्रविधिको सफल परीक्षण गरिएको छ । यो प्रविधिबाट वृक्षरोपण गर्दा रैथाने जातका बोटबिरुवालाई नै अरुबेला भन्दा ३ गुणा चाँडो हुर्कने र १० गुणा बढी घना जंगल बन्ने गर्छ ।

पहिलो चरणमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा यो प्रविधि अन्तर्गत वृक्षरोपण गरिएको हो । यो प्रविधिलाई गण्डकीमा पहिलोपटक इन्डलेस इनेर्जीले भित्र्याएको छ । वन संरक्षण र प्राकृतिक विपत्तिबारे जापानी संरक्षणविद् अकिरा मियावाकीले आविष्कार गरेको यो वृक्षारोपण प्रविधिले सहरी तथा ग्रामीण क्षेत्रहरुमा रैथाने बोटबाटै चाँडै वनको रूप लिन्छ ।

Advertisement

पहिलो चरण अन्तर्गत इन्डलेस इनर्जीले तनहुमा यो वृक्षारोपण सुरु गरे पनि आगामी दिनमा गण्डकी प्रदेशका पहिरो प्रभावित तथा आगलागी प्रभावित क्षेत्रमा यो प्रविधि विस्तार गर्ने इन्डलेस इनर्जीका संस्थापक रवीन्द्र जिसीको भनाई छ ।

पहिलो वर्ष ३१ हजार ८ सय बिरुवा रोपिसकिएको छ । यो प्रविधिबाहेक पनि इन्डलेस इनर्जीले मधेश प्रदेशको बारा, गण्डकी प्रदेशको तनहु र कास्कीको सराङकोट, फूलबारी लगायतका क्षेत्रमा डढेलो प्रतिरोधात्मक वृक्षरोपण सुरु गरेको छ ।

Advertisement

इन्डलेस इनर्जीले आफूले गरेका वृक्षारोपणमा कम्तिमा पनि तीन वर्षका लागि रक्षक राख्ने, ती बोटबिरुवाहरूलाई आवश्यक पानी, मलजल र सबैको व्यवस्थापन गरेको छ । जुनसुकै वृक्षारोपणमा पनि वृक्षरोपण गर्नुभन्दा कम्तीमा पनि तीन वर्षसम्म ती बिरुवाहरूको संरक्षण अनिवार्य भएको इन्डलेस इनर्जीका संस्थापक रविन्द्र जिसी बताउँछन् ।

इन्डलेस इनर्जीले थालेको यो अभियानलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सूर्य नेपालले आवस्यक सहयोग गरेको हो । पछिल्लो समय सूर्य नेपालले प्राकृतिक संरक्षणका लागि भन्दै सहयोगको घेरा बढाउँदै लैजाने सूर्य नेपालले जनाएको छ ।

आगामी दिनमा बाढी पहिरो तथा डडेलोको सम्भावित जिल्ला तथा क्षेत्रहरूमा केन्द्रित हुनेगरी वृक्षारोपण कार्यक्रमलाई अगाडि बढाउने र केन्द्र, प्रदेश तथा स्थानीय तहले सहयोग मागेको खण्डमा प्राविधिक तथा थप आवश्यक सहयोग गरेर प्राकृतिक विपत्तिमा सरकारले थालेका अभियानमा आफूहरूले पनि सहकार्य गर्ने इन्डलेस इनर्जीले जनाएको छ ।

तपाईको प्रतिक्रिया