वामपन्थी ज्येष्ठ नागरिकको भेला ९ र १० गते हुने
पोखरा ।
पञ्चायती शासन व्यवस्थाको काल खण्डमा कम्युनिस्ट आन्दोलनमा होमिएर युवा उमेर व्यतीत गरेकाहरुबिच अनुभव आदानप्रदान गर्ने उद्देश्यले पहिलो पल्ट पोखरामा भेला गर्न लागिएको छ ।
वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीले ज्येष्ठ कम्युनिस्ट नागरिकको योगदान स्मरण गर्दै यही कात्तिकको ९ र १० गते भेला गर्न लागेको कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनले कार्यक्रममा प्रदेशका सबै जिल्लाका जुनसुकै कम्युनिस्ट पार्टीमा रहेर या स्वतन्त्र रुपमा काम गरेका ज्येष्ठ नागरिक सहभागी हुने बताए ।
भेलामा ७० वर्ष उमेर पार गरेका (महिला र दलितको हकमा ६५ वर्ष ) ज्येष्ठ नागरिकको सहभागिता रहनेछ । २०४६ भन्दा पहिले बामपन्थी आन्दोलनमा सहभागी भएर योगदान गरेका ज्येष्ठ नागरिकको सहभागिता रहने उनले उल्लेख गरे । कार्यक्रमको लागि ५ सय ३ ज्येष्ठ नागरिकसँग सम्पर्क भइसकेको छ ।
‘पञ्चायत कालमा वामपन्थी आन्दोलनमा लाग्न कठिन थियो,’ उनले भने, ‘स्वदेश र प्रवासमा रहेर भूमिगत तथा खुला रुपमा संगठित हुँदै धेरै योद्धाले जेल नेल तथा कठोर यातना सहेर गरेको आन्दोलनले गणतन्त्र स्थापना भएको हो ।’ अहिले उमेर र सक्रियताको दृष्टिले जीवनको उत्तरार्धमा पुगेका पुस्ताको योगदानलाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको आचार्यले औंल्याए ।
कार्यक्रममा सहभागी सबैको अनुभवलाई श्रव्यदृश्यका माध्यमबाट अभिलेखीकरण गरिनेछ । सहभागी सबैको विवरण फर्म भरेर अभिलेखीकरणलाई व्यवस्थित गर्ने संयोजक आचार्यले सुनाए ।
पार्टी विशेषको आग्रहबाट मुक्त साझा मञ्चको रुपमा गरिने कार्यक्रमप्रति सबै वामपन्थी दल र स्वतन्त्र रुपमा रहेका बामपन्थीहरुको शुभेच्छा रहने उनको भनाइ छ । वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीका सहसंयोजक मोहन केसीले कार्यक्रमले एउटा कम्युनिस्ट पार्टीले अर्कोलाई छोइछिटो गर्ने परिपाटी अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले राजकीय सेवा, सुविधा नपाएर पनि आधारभूत तहमा बसेर कम्युनिस्ट आन्दोलनमा योगदान गरेका ज्येष्ठ कम्युनिस्टलाई सम्मान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकीका सचिव झलक सुवेदी, सदस्यहरु पुण्यप्रसाद पौडेल, रामराज रेग्मी, पूर्ण गिरी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया