संवेदनशील भएर काम गर्न महानिरीक्षक कुँवरको निर्देशन

समाधान संवाददाता २०८१ कार्तिक ७ गते १३:५०

पोखरा ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निष्ठावान भई नागरिकको सेवामा तल्लीन हुन प्रहरीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार कुँवरले निर्देशन दिएका हुन् ।

Advertisement


कुँवरले आफ्नो क्षेत्रमा आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।


‘सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्छ । विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत क्रियाशील हुन अनुरोध छ,’ उनले भने, ‘व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो कर्तव्यमा आधारित भई तथा संवेदनशील भई काम गर्नुपर्छ ।’

Advertisement


कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया