मिस पोखरा फाइनल १० गते

समाधान संवाददाता २०८१ कार्तिक ८ गते १०:३५

पोखरा ।
पोखरा जेसीजले ११ औं संस्करणको ‘मिस पोखरा २०२४’ गर्न लागेको छ । युवतीहरुको क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनका लागि विशेष अवसर प्रदान गर्ने उद्देश्यले यही कात्तिक १० गते सौन्दर्य प्रतियोगिता गर्न लागेको पोखरा जेसिज वर्ष २ं०२४ का अध्यक्ष देवराज शर्माले जानकारी दिए ।

Advertisement


पोखरा जेसिजले सन १९९५ देखि मिस पोखरा गर्दै आएको छ । अहिले इभेन्ट फर यु प्रालिसँगको सहकार्यमा मिस पोखरा गर्न लागिएको हो । प्रतियोगिताको सबै प्रारम्भिक चरणका कार्यक्रम पूरा गरी ग्रान्ड फिनाले तयारीमा जुटेको अध्यक्ष शर्माले बताए ।


डाँफे हाउजिङ एन्ड रियल स्टेट प्रालिको प्रस्तुतिमा हुने प्रतियोगिताको मुख्य प्रायोजकमा किम्बो केरटिन नेपाल छ । अध्यक्ष शर्माले मिस पोखरामा १७ देखि २५ वर्ष उमेर समूहका कक्षा १२ उत्तीर्ण गरेका १७ अविवाहित युवतीले प्रतिस्पर्धा गर्ने जनाए ।

Advertisement


‘प्रतियोगीलाई विषय विज्ञबाट सञ्चार सीप, उद्घोषण, भाषणकला, महिला सशक्तीकरण, नेतृत्व, व्यक्तित्व विकासका तालिमका अलवा ट्यालेन्ट सो भएको छ,’ उनले भने, ‘मिस पोखराबाट सहभागीको सकारात्क सोच विकास हुनुका साथै समाज रुपान्तरणमा योगदान गर्न सक्ने छन् ।’ उनले युवालाई समाजमा स्थापित गर्न सके देश विकासमा सहयोग पुग्ने दाबी गरे ।

मिस पोखराले ताजसहित स्कुटर र नगद ५० हजार पाउँदा विभिन्न १३ विधामा सहभागीले उपाधि जित्ने

Advertisement


पोखरा जेसिजका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक श्रीकृष्ण सुनारले विविध फरक १० विधाका उपशीर्षकसहित १३ विषयका शीर्षकमा सहभागीलाई उपाधि प्रदान गरिने जानकारी दिए ।


मिस पोखराको विजेताले ताज, स्कुटर, ५० हजार नगदसहित आकर्षक उपहार प्राप्त गर्ने उनले उल्लेख गरे । फस्ट रनर अपले ताज, ३० हजार नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । उनले सेकेन्ड रनर अपले ताज, २० हजार नगदसहित आकर्षक गिफ्ट ह्याम्पर हात पार्ने बताए ।


बेस्ट पर्सनालिटी, ट्यालेन्ट, स्माइल, बेस्ट हेयर, क्याट वाक, ड्रेस, फोटोजेनिक, भ्युअर च्वाइस, मिस पपुलारिटी र इन्टेक्टमा विद्यागत अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने संयोजक सुनारले जनाए ।


इभेन्ट फर यु प्रालिका अध्यक्ष विशाल गुरुङले मिस पोखरा पोखराको मात्र नभए राष्ट्रिय स्तरको विशेष कार्यक्रम भएको दाबी गरे । उनले मिस पोखराबाट २८ लाख ५ हजार आम्दानी र २६ लाख ४५ हजार खर्च हुने बताए । उनले अडिसनबाट छनोट भएका युवतीलाई अभिमुखीकरण र परामर्श, आवश्यक तालिम, फोटोसुट, भिडियोसुट, प्रोफाइल, प्रोमोसुट लगायत गतिविधिमा सामेल गराइएको जानकारी दिए ।


मिस पोखराको विजेताले आगामी मिस नेपालको छनोट प्रक्रियामा अडिसन विना अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउने छन् । विजेताले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराउने सुनौलो अवसर प्रदान गर्ने उनको तर्क छ । कार्यक्रममा पोखरा जेसिजका सामाजिक क्षेत्रका उपाध्यक्ष पवित्रा अधिकारी, महासचिव तिलकप्रसाद लामिछाने, सञ्जय पौडेल लगायतले मिस पोखराको बारेमा बोलेका थिए ।


सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले युवाको नेतृत्व तथा व्यक्तित्व विकासका अलवा सामाजिक विकासका गतिविधि अगाडि बढाएको छ । पोखरा जेसीज नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तर्गतको शाखा हो । मातृ शाखा काठमाडौं जेसीज भएको पोखरा जेसीज नेपाल जेसीजको छैटौं शाखा पर्छ । नेपालमा सन् १९६४ मा जेसीआई स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया