पोखराको चापाकोटमा स्वास्थ्यचौकीको नयाँ भवन

समाधान संवाददाता २०८१ कार्तिक ९ गते ६:१९

पोखरा । पोखरा महानगरपालिका वडा नं.२३ मा नवनिर्मित चापाकोट स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । पोखरा महानगरपालिकाद्धारा निर्माण गरिएको उक्त साढे दुई तलाको उक्त भवन अत्याधुनिक र सुविधा सम्पन्न छ ।

Advertisement

भवनको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले स्वास्थ्यका आधारभूत सेवाहरू स्थानीय स्तर मै उपलब्ध हुने गरी पूर्वाधार तयार र आवश्यक जनशक्तिको व्यवस्थापनमा महानगरपालिका लागिरहेको बताउनुभयो । महानगरपालिकाका मातहत ५१ वटा स्वास्थ्य संस्थाहरूको संरचना तयार गरी नागरिकहरूलाई सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो । ती सबै स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला सेवा सहितको सेवा प्रवाह गर्ने गरी आवश्यक तयारी थालिएको उहाँले बताउनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइले सहज सेवा प्रवाहका लागि स्वास्थ्य चौकी भवन एक महत्त्वपूर्ण पुँजीका रूपमा निर्माण भएको बताउनुभयो । उक्त सेवा केन्द्र मार्फत वडा नं.२३ र छिमेकी वडाका बासिन्दाहरूलाई समेत स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य चौकी व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्थापनका लागि महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय मानवीर सुनारले जग्गा दान गर्नुभएको हो। उहाँलाई नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत चौलागाइ, वडा अध्यक्ष रामकाजी गुरुङ लगायतले सम्मान गर्नुभएको थियो ।

स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य सेवा, सुत्केरी सेवा, नियमित खोप सेवा, दन्त सेवा लगायत सेवाहरू उपलब्ध छन् । स्वास्थ्य चौकी भवन ३ करोड ८० लाखमा निर्माण गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया