ट्रेकिङ गाइड बन्ने रेखाको लक्ष्य

प्रमिला कुँवर २०८१ कार्तिक ११ गते १०:२४

पोखरा ।
सानैदेखि घुम्न रमाउने लमजुङकी रेखा गुरुङ पदयात्रा (ट्रेकिङ) गरिरहेकी छन् । पर्यटकीय गतविधि नजिकबाट नियालेकी रेखाको यही कारण पनि यात्रा र पदयात्रामा रूचि बढेको छ । उनी पदयात्रामा खुबै रूचि राख्छिन् । फुर्सदमा नजिकका गन्तव्यहरूमा हाइकिङ पनि जान्छिन् ।

Advertisement


पोखराको लेकसाइडमा रहेको थ्री सिस्टर एडभेन्चर ट्रेकिङ कम्पनीमा उनी डेढ वर्षदेखि सहायक गाइडको रुपमा कार्यरत छिन् । उनी कम्पनीमार्फत् सहायक पथ प्रदर्शक (गाइड) बनेर विभिन्न पर्यटकीय गन्तव्यमा पुगिसकेकी छन् ।


पदयात्रा सुन्दा जति रमाइलो लाग्छ, यात्राका क्रममा उत्तिकै जटिलता आउन सक्ने अन्नपूर्ण आधार शिविरमा भेटिएकी गुरुङले बताइन् । गन्तव्य, मौसम र रूटअनुसार सबै कुरामा ध्यान दिनुपर्ने हुँदा यो पेसा चुनौतीपूर्ण रहेको उनको भनाइ छ । जे काम गर्न पनि आत्मविश्वास चाहिने उनी बताउँछिन् ।

Advertisement


‘जुनसुकै काम गर्दा आत्मविश्वास र हौसला चाहिन्छ । ठाउँ र परिवेशअनुसार शारीरिक र मानसिक रूपमा पनि बलियो हुनुपर्छ,’ उनले भनिन्, ‘ट्रेकिङ पनि एड्भेन्चर हो । हिमाल, डाँडापाँखा घुम्न मन छ, यसरी हिँड्दा आम्दानी पनि चित्त बुझ्दो छ ।’


२० वर्षीया गुरुङको लक्ष्य ट्रेकिङ गाइड (पथ प्रदर्शक) बन्नु हो । उनले एक महिना तालिम लिएर लाइसेन्स प्राप्त गरिसकेकी छन् । तालिममा सूचना लिने र दिने तरिका, बिफ्रिङ गर्ने तरिका, कुन मौसममा कुन गन्तव्यमा ट्रेकिङ लैजाने, झोला प्याक गर्ने, हिमाल आरोहण र त्यसको विवरण लगायत थुप्रै कुराहरू सिकाइने उनले जानकारी दिइन् ।

Advertisement


ट्रेकिङ गाइड बन्न परिवारको साथ र सहयोग पाएको उनले बताइन् । उनकी आमा पहिला ट्रेकिङ गाइडको रुपमा कार्यरत थिइन् । पर्यटन क्षेत्रमा लाग्न आमाबाटै प्रेरणा मिलेको उनी सुनाउँछिन् । गाइड बनेर, पर्यटकहरूलाई घुमाउँदै, देशभरका उनीहरूले चाहेको गन्तव्यसम्म पुर्‍याउने उनको सपना हो । पेसासँगै उनी आफ्नो रहर पनि पूरा गर्न चाहन्छिन् ।

गन्तव्य, मौसम र रूटअनुसार सबै कुरामा ध्यान दिनुपर्ने हुँदा यो पेसा चुनौतीपूर्ण छ


उनको पहिलो ट्रेक लान्द्रुक, घान्द्रुक हो । पहिलो ट्रेक भएपनि हिड्न गाह्रो नभएको उनको अनुभव छ । उनले घोरेपानीदेखि अन्नपूर्ण आधार शिविरसम्म, मर्दीदेखि खोप्रा, अस्ट्रियन क्याम्प (ठूलाखर्क) लगायत विभिन्न पर्यटकीय गन्तव्य पुगिसकेकी छन् ।


‘घोरेपानीदेखि अन्नपूर्ण आधार शिविरसम्म र मर्दीदेखि खोप्रासम्म ११ दिन लामो पदयात्रा गरेकी थिए । मलाई एकदमै जान मन लागेको ठाउँ एबिसी हो र सबैभन्दा रमाइलो पनि एबिसीमै भयो,’ गुरुङले भनिन्, ‘अहिले पदयात्रा गर्न सहज छ । सबै ठाउँमा नेटवर्क वाइफाईको व्यवस्था छ । बाटो चिनेपछि झन् सजिलो हुन्छ । पानी खाने हिँड्ने तरिका पनि जान्नुपर्छ । हाम्रो सामानको लिमिट हुन्छ । १० केजीसम्ममात्र लैजान पाइन्छ । जसले गर्दा काम गर्न सहज वातावरण छ ।’

रेखा गुरुङ


पर्यटकलाई जाने ठाउँका बारेमा साथै त्यहाँ पाइने सुविधा, तामक्रम, मौसमका बारेमा सम्पूर्ण जानकारी दिएर ट्रेक जाँदा प्रभावकारी हुने गुरुङको धारणा छ । पर्यटकले कुन ठाउँमा जाने, कति तापक्रममा जाँदै छौं, के के लाने, के गर्ने सबै कुराको जानकारी लिएर जान उनले सुझाइन् ।


सिभिल इन्जिनियरिङमा डिप्लोमा कोर्स गरेकी गुरुङको इन्जिनियरिङमा स्नातक गर्ने योजना छ । पढाइ र पेशालाई सँगसँगै लैजाने उनको सोच छ । मोटरबाटो, होटल, नेटवर्क, वाईफाईले गर्दा अहिले पदयात्रा गर्न निकै सहज भएको रेखा बताउँछिन् ।
मोटरबाटोले गर्दा पदयात्रा छोटिएकामा ट्रेकिङ गाइड सौरभचन्द्र ढकालले चिन्ता व्यक्त गर्छन् ।

२१/२६ दिनसम्म लाग्ने बाटो छोटिएर अहिले ५ दिनमै एबिसि पुग्न सकिने उनले बताए । पदयात्रा छोटिँदा पर्यटन व्यवसायी, पोर्टर, गाइड, राष्ट्र लगायतलाई घाटा लागेको उनको भनाइ छ । मोटर बाटो बन्द गरेर वा नयाँ ठाउँ पत्ता लगाएर पदयात्रा लम्बाउनु पर्ने उनले औंल्याए ।


‘पर्यटकीय सिजनकै मुखमा प्राकृतिक विपद् आउँदा पदयात्रा पनि मार परेको छ । पदमार्गमा सुरक्षा निकायको उपस्थिति, सञ्चारको पहुँच, स्वास्थ्य सेवाको ग्यारेन्टी गर्दै प्रचारप्रसार गर्ने आवश्यक छ,’ ढकालले भने ।


विश्वका १० उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविर पनि एक हो । विश्वकै दशौं अग्लो ८०९१ मिटर उचाईको अन्नपूर्ण हिमाल नजिकैबाट अवलोकन गर्नका लागि पनि यस शिविरमा स्वदेशी र विदेशी पर्यटक आउने गरेका छन् ।


हिमाली पदयात्रा आफैमा साहसिक यात्रा मानिन्छ । यात्रामा देखिने दृश्य र नजिकबाटै हिमालको अवलोकन गर्न पाइने हुदाँ हिमाली पदयात्रा निकै आकर्षणको रुपमा छ । बर्खा सकिएर सिजन सुरु भएसँगै अन्नपूर्ण हिमाल हेर्न कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविरमा यतिबेला पर्यटकको बाक्लो भिड देख्न सकिन्छ ।


यसो त पछिल्लो समय नेपालीहरुले दशै तिहारको समयलाई घुम्न छुट्ट्याउन थालेका छन् । पदयात्रामा केही कठिन भएपनि हिमालको काखमा पुगेपछि निकै आनन्दित भएको पर्यटकको भनाइ छ । समुद्र सतहदेखि ४१३० मिटर उचाइमा रहेको कास्कीको अन्नपूर्ण आधार शिविर छोम्रोङ, सिनुवा, बेम्बो, हिमालय, देउराली, माछापुच्छ्रे बेस क्याम्प हुँदै शिविर पुग्न ५ देखि ८ दिनको पदयात्रा गर्नुपर्ने हुन्छ ।


अन्नपूर्ण आधार शिविर पुग्न अहिले दैनिक २४० जना पर्यटकले छोम्रोङ पर्यटक चेकपोस्टमा इन्ट्री गर्ने गर्छन्, त्यसमा पनि ८० प्रतिशत भन्दा बढी विदेशी पर्यटक रहेको चेकपोष्टले जनाएको छ । तर यो संख्या अघिल्लो वर्षको तुलनामा निकै कम रहेको चेकपोस्टको तथ्यांकले देखाएको छ । चेकपोस्टका अनुसार अघिल्लो वर्ष यस समयमा दैनिक ५०० जना बढीले इन्ट्री गरेका थिए ।


बाढी पहिरोको घटना, बाटोघाटोको समस्या र नेपाल आउने विदेशी पर्यटकमै कमी भएकाले पछिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको आवागमनमा कमी भएको अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगतको छोम्रोङ पर्यटक चेकपोस्टका इन्चार्ज नेत्र शर्माले बताए । साथै सिजन अझै बाँकी रहेकाले उल्लेख्य पर्यटक भित्रिनेमा शर्मा आशावादी छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया