ठगीमा संलग्न जोसुकैलाई कारवाही गर्नुपर्छः पोखरेल

पोखरा ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा होस् या भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टीको भए पनि कानुनी कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । उनले अनियमितता र भ्रष्टाचारमा फस्ने जो पनि दण्डको भागिदार बन्नुपर्ने उल्लेख गरे ।
‘सहकारीको मामिला, अपराध कर्म, भ्रष्टाचार र अनियमिततामा संलग्न व्यक्तिले छुट पाउँदैन । कानुनी रुपमा दण्डको भागिदार बन्न पर्छ । चलेको मुद्दालाई अगाडि बढाउनु पर्छ,’ उनले भने, ‘अरु दललाई जोडेर हेर्ने विषय होइन । सहकारीको रकम अपचलनमा दोषी देखिएका जुनसुकै पार्टीको नेता तथा कार्यकर्तालाई कानुनी रुपमा कारवाही हुनुपर्छ ।’
पोखरेलले सहकारी ठगी र भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई निलम्बन गर्न सुझाव दिए । उनले चलेको मुद्दालाई प्रभावित पार्नुभन्दा पनि सरकारी निकायलाई छानबिनको लागि सहज बनाउनुपर्ने बताए । पोखरेलले कानुनी शासन, विधि र पद्धतिलाई उल्लंघन गर्ने विषय स्वीकार्य नहुने उल्लेख गरे ।
एमाले कास्कीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम दसैं, तिहार, छठ, नेपाल संवत ११४५, इद, छठ, तमु ल्होसार लगायतको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजीवि, मजदुर, किसान, शिक्षक, प्राध्यापक, सुरक्षा, निकाय, उद्योगी व्यापारी लगायतको सहभागिता थियो ।
कार्यक्रममा पोखरेलले लोकतान्त्रिक विधि अनुसार सबै चल्नुपर्नेमो जोड दिँदै कानुन विधिले गरेको फैसलालाई सबैले मान्नैपर्ने विचार राखे । प्रमुख दलहरुबाट विगतमा भएका त्रुटि, कमजोरीलाई सच्याएर अगाडि बढेको जानकारी दिदै उनले चुनावमा एमाले र कांग्रेसले एकअर्कामा प्रतिष्पर्धा गरे पनि देशको आवश्यकता अनुसार अहिले सत्ता सहकार्य भएको प्रष्ट पारे ।
उनले सामाजिक सद्भावलाई बलियो बनाएर राष्ट्रिय एकतालाई सुदृढ बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे । उनले राष्ट्रिय एजेन्डामा सबै दल एक ठाउँमा उभिनुपर्ने तर्क गरे ।
एमाले गण्डकी इन्चार्ज किरण गुरुङले लोकतन्त्र र विधिको शासनको विकल्पमा अराजकता बन्न नसक्ने तर्क गरे । पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले कानुनी शासनको परिपालना र सुशासन प्रवद्र्धनले लोकतन्त्र सुदृढ हुने बताए । उनले असभ्य प्रदर्शनले नयाँ नेपाल बन्न नसक्ने उल्लेख गरे ।
नेपाली कांग्रेस कास्कीमा सभापति किशोरदत्त बरालले अदालतमा चलेको मुद्दालाई सडकबाट प्रभाव पार्न नमिल्ने चर्चा गरे । उनले चुनावको तीन महिनाको अवधिमा एकापसमा प्रतिस्पर्धा गरे पनि बाँकी ९ महिनाको अवधिमा सबै दल मिलेर देश बनाउनुपर्ने बताए ।
कार्यक्रममा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतले बोलेका थिए । कार्यक्रममा कलाकारहरु तारापति सुवेदी, जीवन दाहाल र शिवहरि ढुंगानाले सांस्कृतिक प्रस्तुति राखेका थिए ।
तपाईको प्रतिक्रिया