एभरेस्टको रक्तदानमा २५१ युनिट रगत संकलन

पोखरा ।
एभरेस्ट एफएम पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदानबाट २ सय ५१ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि आयोजित कार्यक्रममा २ सय ३ पुरुष र ४८ महिलाले रगत दिएका हुन् ।
कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल, तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफन्ट गण्डकी, सिटिजन फर्निचर, पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप)लगायतका संघ, संस्थाको संस्थागत सहभागिता छ । एफएमकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरिन् ।
विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको आह्वानमा रक्तदान कार्यक्रम आयोजना गरिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जनाए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री देवकोटाले खेर जाने रगत दान गरेर मृत्युसँग लडिरहेका बिरामीको ज्यान बचाउन सकिने उल्लेख गरे ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले एफएमको जीवन बचाउने अभियानमा आफू सँधै सहभागी हुँदै आएको र यस पटक पनि निरन्तरता दिएको बताए । एफएमकी कार्यकारी अध्यक्ष गुरुङलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको उल्लेख गरिन् ।
प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले नियमित रक्तदान गरेर आफू पनि स्वस्थ बन्ने र अरुकोपनि ज्यान बचाउन सकिने बताए ।
तपाईको प्रतिक्रिया