डेंगी नियन्त्रणका लागि सामुदायिक सचेतना जरुरी

समाधान संवाददाता २०८१ कार्तिक ११ गते ११:३१

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले महामारी नियन्त्रणका स्वयं सेवक तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई डेंगी रोग संक्रमण तथा रोकथामसम्बन्धी अभिमुखीकरण गरेको छ ।


कार्यक्रममा जिल्ला शाखा कास्कका पदाधिकारी तथा सदस्य, स्वयंसेवक र महिला स्वास्थ्य स्वयंसेवक गरी ४४ जनाको सहभागिता रहेको रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए । अभिमुखीकरणमा रेडक्रस कास्कीका डेंगी रोग रोकथाम तथा नियन्त्रणका फोकल पर्सन नवराज भण्डारीले सहजीकरण गरेका छन् ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति शर्माले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआईसी)सँगको सहकार्यमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि ३ महिने अभियान सञ्चालन गरेको जानकारी दिए । उनले रेडक्रसले ५ पालिकाका ४८ उपशाखामार्फत वडा तथा समुदाय स्तरमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान गरेको बताए ।

Advertisement


सभापति शर्माले स्वास्थ्य क्षेत्रको महामारीमा समुदाय सचेत र सशक्त भएको खण्डमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सहज हुने दाबी गरे । उनले सिकेको ज्ञान कार्यक्षेत्र र समुदाय स्तरमा विस्तार गर्न आग्रह गरे ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति उर्मिला खड्काले रेडक्रसले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि समुदाय स्तरमा प्रभावकारी कार्यक्रम गरेको दाबी गरिन् । उनले डेंगी रोग फैलाउने लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान सञ्चालन गरेको उल्लेख गरिन् । महिला सामुदायिक स्वास्थ्य स्वयंसेवी सञ्जाल कास्कीका अध्यक्ष भीमा पौडेलले स्वास्थ्य सेवालाई समुदाय स्तरमा प्रभावकारी ढंगले पुर्‍याउन स्वयं सेवीको भूमिका रहेको जानकारी दिइन् ।

Advertisement


रेडक्रस कास्की शाखाका कार्यवहाक मन्त्री रमा कोइराला, उपकोषाध्यक्ष विष्णुप्रसाद भण्डारी, कार्यसमितिका सदस्य रमेशराज भण्डारी, कार्यालयका प्रमुख मोहनसिंह खड्काले सबै सरोकारवालाको समन्वय र सहकार्यमा सचेतनामूलक कार्यक्रम गरेको खण्डमा डेंगी रोग संक्रमण रोकथाम तथा नियन्त्रण सम्भव भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया