जेठोबुढो जोगाउँदै पाेखरा महानगर

पोखरा ।
पोखरेलीले बाहिरका आफन्तलाई पठाउने धेरैजसो कोसेलीमा जेठोबुढो चामल छुट्दैन । वासनादार, नरम, लामो र स्वादिलो जेठोबुढो चामल यहाँका स्थानीयको भान्छामा विशेष अवसरमा पाक्ने गर्छ । पोखराको पहिचान बन्दै गएको जेठोबुढो धान खेती घट्दै गएपछि यसको प्रवर्धन गर्न थालिएको छ ।
पोखरा महानगरले जेठोबुढो धान लगाउने किसानलाई बिउँमा अनुदानदेखि निशुल्क ढुवानीसमेत गर्र्दै आएको छ । महानगरले जेठोबुढो धानको समर्थन मूल्य प्रतिक्विन्टल ९ हजार ५ सय तोकेको छ । त्योभन्दा कममा किसानले बिक्री गर्ने अवस्था आईपरे महानगरले क्षतिपूर्ति दिने तयारी गरेको थियो ।
यसपालिबाट यहाँको लोकप्रिय रैथाने धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । खाद्यले प्रतिक्विन्टल १० हजारमा धान किन्न महानगरसँग सम्झौता गरेको छ । खाद्यकी निमित्त प्रादेशिक प्रमुख रञ्जना केसीले पोखराको कार्यालय र अन्यत्रका कार्यालयबाट किनिएको धानको चामल बिक्री गर्ने योजना सुनाइन् । २०८२ असार मसान्तसम्मका लागि यो सम्झौता गरिएको हो ।
पोखरा महानगरको करिब ४ हजार हेक्टरमा जेठोबुढो धान लगाइएको छ । यहाँ १४ हजार मेट्रिक टन जेठोबुढो धान उत्पादन हुने अनुमान गरिएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताइन् । त्यसमध्ये २५ प्रतिशत जति बिक्री हुने र बाँकी स्थानीय र किसानले नै खपत गर्ने उनको अनुमान छ ।
जेठोबुढोसहित विभिन्न धान खेती हुने पोखराका फाँटहरु पछिल्लो समय नासिँदै गएका छन् । रैथाने यो धान नासिँदै जाँदा महानगरले २०७६ बाट किसानलाई प्रोत्साहन गर्न थालेको थियो । ५ रोपनीभन्दा बढीमा जेठोबुढो खेती गर्नेलाई आर्थिक सहयोग गर्न थालेको महानगरले २०७७ मा समर्थन मूल्य तोेकेर घाटा नहुने सुनिश्चिता गरिदिएको थियो ।
पोखराका फाँटहरु क्रंक्रिटमा रुपान्तरण हुने र रैथाने बालीसमेत नासिने सम्भावना देखिएपछि महानगरले बिउँदेखि धन बिक्रीसम्म सघाउन थालेको छ
गएको असारमा महानगरले ५० प्रतिशत अनुदानमा करिब ८ हजार किलो जेठोबुढोको बिउँ किसानलाई वितरण गरेको थियो । आर्थिक विकास महाशाखा प्रमुख कडरिया भन्छन्, ‘२०७६ बाटै बिउँ उत्पादन सुरु गरेका थियौं । यसपालिबाट ब्रान्डिङसहित बिउँ र बजारीकरणमा सघाइरहेका छौं ।’ महानगरले वितरण गरेको धानको बिउँ यहीका किसानले उत्पादन गरेका हुन् ।
अहिले पोखराका फाँटमा हरियो र नढलेको अधिकांश धान जेठोबुढो हो । यो धान किसानले मुरीको ६ हजारसम्ममा बिक्री गर्दै आएका छन् । कुल धान खेती हुने क्षेत्रफलको ४० प्रतिशतमा जेठोबुढो रोपिने कडरियाको अनुमान छ । चिसो पानी लागिरहने फाँटमा राम्रो फल्ने जेठोबुढोको बासना र गुणस्तर भने घट्दै गएको जानकारहरु बताउँछन् ।
खाद्यले तत्काललाई जेठोबुढोको खरिद–बिक्रीको सम्झौता भए पनि आवश्यकता अनुसार अन्य रैथाने बालीसमेत खरिद–बिक्री गर्ने योजना बनाएको छ । महानगरका प्रमुख धनराज आचार्यले अब जेठोबुढो धानको बजारीकरण सुनिश्चित भएको उल्लेख गरे । ‘पोखरेली किसानको जेठोबुढो धान नबिक्ने हो कि भन्ने चिन्ता सकिएको छ । जेठोबुढो अब देशभरिका नागरिकहरूको चुलोमा पुग्ने अवस्था सुनिश्चित भएको छ,’ आचार्यले भने ।
महानगरले जेठोबुढोसहित ३५ कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ । कृषि एम्बुलेन्समार्फत् गाउँ गाउँबाट सित्तैमा कृषि उत्पादन ढुवानी गरिरहेको महानगरले पाँच स्थानमा किसान बजारसमेत सञ्चालन गरेको छ ।
तपाईको प्रतिक्रिया