पुण्यप्रसाद भट्टराईले ल्याए `गण्डकी कविता मञ्जरी´

समाधान संवाददाता २०८१ कार्तिक १३ गते १४:०८

पोखरा ।

Advertisement

 छन्दकवि पुण्यप्रसाद भट्टराईद्वारा लिखित `गण्डकी कविता मञ्जरी´ कविता सङ्ग्रह सार्वजनिक भएको छ ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा शनिबार आयोजित एक कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व  प्रा. डा. रामप्रसाद भट्टराईले उक्त कृतिको लोकार्पण गरेका हुन् । कृतिको लोकार्पण गर्दै भट्टराईले कृतिमा पूर्वीय दर्शन र जीवन जगतका विविध पक्षको चित्रण भएको बताए । कृतिमा विषयगत विविधता, छन्दगत अनेकता र शिल्पगत कुशलता रहेको भनी लेखकलाई बधाई दिनुका साथै साहित्यिक यात्राको शुभकामना व्यक्त गरे ।

कृतिका समीक्षक प्रा. डा. जगन्नाथ रेग्मीले लेखकलाई बहुआयमिक व्यक्तित्वका रुपमा चिनाए । रेग्मीले कविता कृतिलाई विविध रस, अलङ्कार, छन्द, बक्रोक्ति, व्यङ्ग्य र गुणले युक्त भावको पुञ्जको उपमा दिए । कृतिमा अक्षरमालिका शैली, समस्यापूर्ति शैली, संवादात्मक शैली र विविध भाव, विषय तथा छन्दको प्रयोग भएकाले कृति पठनीय र संग्रहणीय रहेको स्पष्ट पारे ।

लेखक पुण्यप्रसाद भट्टराईले आफू सानैदेखि सिर्जनामा रुचि राख्ने र समयक्रमसँगै शास्त्रीय छन्दका कविता लेख्न सफल  भएको बताए । यसपूर्व आफ्नो चन्द्रकला नाटिका र हितोपदेश गरी दुई वटा अनुवादित कृति प्रकाशित भएको र मेरो कोट खण्डकाव्य, हाम्रो तनहुँ खण्डकाव्य, नारीको पुकार कविता संग्रह तथा अन्य फुटकर कविता प्रकाशोन्मुख अवस्थामा रहेको पनि खुलस्त पारे । कृतिमा आठ वटा छन्दमा ४५ वटा कविता संकलित छन् । 

Advertisement

कार्यक्रममा साहित्यकार शिव त्रिपाठी, बसन्त चालिसे र एडविन भट्टराईले कविता कृतिभित्रका एक एक वटा कविता वाचन गरेका थिए भने भने कमला भट्टराई र श्रीराम सिग्देलले सिर्जना  वाचन गरेका थिए । प्रकाशकको तर्फबाट मन्तव्य राख्दै लेखकका सुपुत्र विजय भट्टराईले बुबाका सिर्जनालाई पुस्तकाकार रूपमा प्रकाशन गर्न पाउँदा खुसी भएको अनुभव व्यक्त गरे । कृतिको प्रकाशन पत्नी सीतादेवी भट्टराईले र सम्पादन छोरी सुभद्रा भट्टराईले गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष विष्णुप्रसाद शर्मालाई विद्यावारिधि उपाधि प्राप्त गरेको खुसियालीमा लेखकका तर्फबाट सम्मान गरिएको थियो भने परिवारका तर्फबाट प्रमुख अतिथि प्रा. डा. रामप्रसाद भट्टराईले लेखक पुण्यप्रसाद भट्टराई र प्रकाशक सीतादेवी भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

संस्थाका अध्यक्ष डा. विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य डा. पीताम्बर पौडेलले राखेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव डा. भानुभक्त आचार्यले गरेका थिए । संस्थाले स्थापना कालदेखि नै सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक कार्य गर्दै आएको  बताइएको छ 

तपाईको प्रतिक्रिया