भारतीय फूल आउँदा पोखराका किसानलाई मार

प्रमिला कुँवर २०८१ कार्तिक १४ गते ११:३२

पोखरा ।
फूलहरुको चाड तिहार सुरु भइसकेको छ । जताततै सयपत्री र मखमली ढकमक्क फूलेका छन् । बजारमा तिहारका लागि फूल, माला किन्ने र बेच्नेको भीड छ । पोखरामा आइतबारदेखि फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा पुष्प मेलासमेत जारी छ ।

Advertisement


आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेलामा पोखराका सबै नर्सरी एकै स्थानमा हुँदा अवलोकन गर्न र फूल किन्न सहज भएको मञ्जित जोशीले बताए । छानीछानी फूल किन्न पाइने तथा नर्सरीमा भन्दा मेलामा मूल्य पनि कम पर्ने उनको भनाइ छ ।


‘म फूलकोसौखिन छु । त्यसैले पहिलो दिन नै मेलामा आएको हुँ । सयपत्री, गोदावरी अन्य विभिन्न फूलसहित प्लान्टको अवलोकन गर्न सकिने हुँदा मेला प्रभावकारी होला,’ उनले भने । पुष्प मेला अरु समयमा पनि हुनपर्ने जोशीको माग छ ।

पोखरा १४ चाउथेस्थित गुरुङ मनकामना नर्सरीका सञ्चालक भूमि गुरुङ पहिलो दिनमै राम्रो व्यापार भएको सुनाउँछन् । उनी मेलामा प्लान्ट बेचिरहेका छन् ।


सयपत्रीका बेर्ना नर्सरीबाटै बिक्री भइसकेको उनले जानकारी दिए । वर्खाको पानीले दुई हजार जति सयपत्रीका बेर्ना मरेको उनले सुनाए । भने, ‘फूलको भर नहुँदा बेर्ना बेचेको हुँ । भने जस्तो दाम पनि पाएँ । अझै १५ सय जति बेर्ना छन् । माला प्रतिगोटा २ सयदेखि माथि बेच्न सकिए फाइदा हुने थियो ।’

Advertisement


मेला आम्दानीका लागि भन्दा पनि फूल प्रदर्शनीका लागि राखिएको हो । फूल किसानका लागि सरकारका तर्फबाट केही नभएको उनको गुनासो छ । महानगरले अनुदानमा दिने बिउ यहाँको वातावरणमा एडजस्ट नहुने खालको भएको उनले आरोप लगाए ।


भारतीय र बाहिरी जिल्लाबाट फूल आयात हुँदा पोखराका फूल किसान मर्का परेको केबलकार मनकामना नर्सरीका सञ्चालक शंकर गुरुङले सुनाए । पोखरासँगै कास्कीलाई फूलमा आत्मनिर्भर बनाउन सकिने भए पनि अनियमितताका कारण उत्पादन भएका फूल समेत बिक्री नभएको उनले गुनासो गरे ।


उनले पोखरा १३ दुईकुला काहुँखोलामा ३ हजार सयपत्री फूल लगाएका छन् । यसबाट ५ लाख जति आम्दानी हुनेमा उनी आशावादी छन् । प्रतिगोटा फूल ४/५ रुपैयाँमा बिक्री गर्न सके राम्रो नाफा हुने उनको भनाइ छ । उनी १० वर्षदेखि फूल खेतीमा छन् ।


‘गत वर्ष फूल धेरै उत्पादन भएको थियो तर बिक्री भएन । दुई/तीन लाख घाटा भयो, प्रतिगोटा फूल २/३ रुपैयाँमा दिँदा पनि किनेनन्,’ गुरुङले भने, ‘महानगरले प्रतिगोटा माला ३० रुपैयाँमा किन्न खोजेको थियो । ज्याला पनि नउठ्ने भएपछि लगिनँ, एक जनाको दिनको ज्याला नै ७ सय रुपैयाँ पर्छ ।’


भारतीय फूल प्रतिबन्ध भनिए पनि हरेक वर्ष ती फूल भित्रिने उनले बताए । फूल किसानका समस्यालाई सरकारले वेवास्ता गरेको गुरुङले आरोप लर्गा । उनका अनुसार जग्गा पाउन निकै समस्या पर्छ भने बिउ, मल, औषधी ६ महिनाअघि नै किन्नुपर्छ ।


फ्लोरिकल्चर एसोसिएसन कास्की अध्यक्ष रामप्रसाद सुवेदीले आम्दानीभन्दा पनि कति उपभोक्ताले मेला अवलोकन गरे भन्ने महत्वपूर्ण रहेको बताए । फूल प्रदर्शन गर्ने र उपभोक्तलाई जानकारी दिने उद्देश्य उनले सुनाए । ‘पहिलो पटक हो यहाँ मेला राखिएको । २० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा छ,’ उनी भन्छन् । मेलामा २४ प्रदर्शनी कक्ष छन् । व्यावसायिक २०, कृषि सामग्रीका २ र सूचनामूलक १ स्टल छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया