प्लाष्टिकजन्य माला पसलमा पाेखरा महानगरकाे अनुगमन

समाधान संवाददाता २०८१ कार्तिक १४ गते १२:२०

पोखरा ।
पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लास्टिकजन्य फुलका माला र फूलका गुच्छा बिक्री गर्ने ८ वटा पसलमा अनुगमन गरिएको छ ।

Advertisement


नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । २०७९ साउन १२ गतेबाट राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो ।


सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरले विगत ३ वर्षदेखि पोखरामा प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरणमा रोक लगाएको छ । महानगरले प्रतिबन्धित प्लाष्टिकजन्य सामग्री बिक्री गर्ने पसलहरुमा अनुगमन गरेको हो । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा प्लाष्टिकका फूल र माला बढि आयात हुने र बिक्री वितरण हुने भएकाले अनुगमन गरिएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव अनिल कार्कीले जानकारी दिए ।


अनुगमनका क्रममा ८ पसलबाट ३० हजार मुूल्य बराबरको प्लाष्टिकजन्य फुुलका गुच्छा र माला जफत गरिएको छ भने सञ्चालकहरुलाई एक साताभित्र पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । पोखरा वडा नम्बर ९ मा रहेको पुष्पराज प्लावर एन्ड ब्याडिङ सप, सृष्टि फलावर, गढीमाई टेन्ट हाउस, पोखरा ४ मा रहेको एनएस फोटो फ्रेम एन्ड गिफ्ट कलेक्सन, गणेश पूजा सामग्री भण्डार, महाकाली पूजा सामग्री भण्डार र पोखरा ८ को एभरग्रिन फलावर सपमा अनुगमन गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।


प्लाष्टिकजन्य फूलका माला बिक्री वितरणमा गरिएको अनुगमन प्रभावकारी देखिएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनले लगातर तेस्रो वर्षप नि अनुगमन गर्दा विगतमा जस्तो प्लाष्टिका फूल र माला कम भएको बताउँदै अनुगमन प्रभावकारी देखिएको बताए ।

Advertisement


उनले नेपाल सरकारले प्रतिबन्ध लगाएपछि पोखरामा पूर्ण रुपमा रोक लगाइएको र अनुगमनले ब्यवसायीहरुपनि सचेत भएकाले प्लाष्टिकजन्य पुष्पगुच्छा र माला आयातमा कमी आएको बताए । वातावरण संरक्षण ऐनको तफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनमा रहेको छ । महानगरले गत वर्ष १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।


अनुगमनमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख अनिल कार्की, सहकारी तथा उद्योग शाखा अधिकृत ऋषिराम सापकोटा, सहकारी तथा उद्योग शाखाका राजु सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगरस्तरीय समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, पत्रकार र नगर प्रहरीहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया