तिहारमा गुञ्जिन्छन् यी गीत

काठमाडौं । उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ। घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ।
‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीतले तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ। पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ। अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लको अभिनय रहेको यस गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। यादव खरेलको रचना गरेको सो गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन्।
‘दियो बाली साँझको’ पनि गीत उत्तिकै लोकप्रिय छ। चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन्। कुशुम गजमेरले शब्द रचना तथा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेको सो गीतमा गायिका आशा भोस्लेले स्वर दिएका छन्। निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका छन्।
मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’ मा समावेश ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो। गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको उक्त गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन्। अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत हुनुभएको सो गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ।
चलचित्र ‘विजय पराजय’ मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै सबैको रोजाइमा पर्ने गरेका छन्। नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार तथा गायक कर्णराज गिरीले बताए।
उनले भने, ‘ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो। गीतिसङग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहिँ कारण तिहार मात्र नभई दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन्।’
गायक गिरीले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए। पछिल्लो समय चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन्। तर, सङख्या निकै न्यून छ। पछिल्लो समय बनेका गीतसङगीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेको छैन। पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको उनको भनाइ छ।
‘नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन् सक्छ। मेरो रोजाईमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन्। नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्’, गायक गिरीले भने। रासस









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया