गोरखा—५ मा उम्मेदवार छान्दै दलहरु

पोखरा ।
देशभर विभिन्न स्थानमा रिक्त जनप्रतिनिधिका ठाउँमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । देशभर रिक्त भएका विभिन्न ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुँदै छ । त्यस क्रममा गण्डकीको एक ठाउँमा मात्रै उपनिर्वाचन हुनेछ । त्यो हो—गोरखा नगरपालिकाको वडा नम्बर ५ । उक्त निर्वाचनका लागि दलहरु उम्मेदवारको टुंगो लगाउने तयारीमा छन् ।
गोखरा ५ का तत्कालीन वडाध्यक्ष खिलबहादुर रानाको गत वर्ष निधन भएको थियो । उक्त पदका लागि पनि उपनिर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले गरेको आह्वान अनुसार दल दर्ताको काम भने सकिएको छ ।
गोरखा ५ का दिवंगत वडाध्यक्ष राना एमालेका तर्फबाट निर्वाचित थिए । उनको ठाउँमा एमालेले उनकै पत्नी दुर्गामाया थापा रानालाई उम्मेदवार बनाउने चर्चा छ । एमाले वडा कमिटीले उनीसहित वडा कमिटी अध्यक्ष होमबहादुर थापा र मानबहादुर रानाको नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । एमालेले २३ गते उम्मेदवार टुंगो लगाउने जनाएको छ ।
नेपाली कांग्रेसले भाइकाजी आलेलाई उठाउने पक्का गरिसकेको छ । वडा इकाई समितिबाट आलेको नाम सर्वसम्मत सिफारिस भएर आएको नेपाली कांग्रेस गोरखा जिल्ला समिति सचिव किशोरजंग थापाले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रबाट विष्णु राना र रामशरण बानियाँको नाम चर्चामा छ । उनीहरुमध्ये एक जनाकै नाम टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गरिने जानकारी माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर गुरुङ ‘रमण’ले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबारसम्म उम्मेदवार टुंगो लगाइसकेको छैन । रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले उम्मेदवार चयनका लागि जिल्लाबाट नाम सिफारिस मागिएको जानकारी दिए । उनकै भनाइमा जिल्लाले बिहीबारसम्म नाम सिफरिस गर्ने छ । निर्वाचन जित्ने उम्मेदवारको खोजी जारी रहेको रास्वपा गोरखा संयोजक सुवर्ण क्षेत्रीले बताए । ‘जो पायो त्यसैलाई उम्मेदवार बनाउने कुरा भएन, जित्न सक्ने उम्मेदवार भेट्न मुस्किल भइरहेको छ,’ उनले भने ।
२०७९ को स्थानीय तह निर्वाचनमा गोरखा ५ मा खिलबहादुर राना ४५३ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसकी गीता थापा मगरले ४२८ मत ल्याएकी थिइन् । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि मंसिर १६ गते निर्वाचन हुनेछ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया