मृत्यु र भ्रष्टाचार
नटार्न सकिने न त रोक्न सकिने मृत्यु । तर, शाश्वत सत्य मृत्यु कहिलेकाहीँ अत्यन्तै हृदयविदारक र अस्वाभाविक झै लाग्छ । सबै मर्छन् । तर, केही व्यक्ति मरेर पनि बाँचेका हुन्छन् । विषय अति नै मननीय छ । अर्थात् हरेक जीवित पदार्थको अन्त्य हुन्छ हुन्छ मृत्यु निश्चित छ । त्यसैले बाँच्नु अल्पकालीन हो, भने मर्नु दीर्घकालीन, मानिसले जगत्बाट बहिर्गमनलाई त्यसैगरी सहनुपर्छ, जसरी आगमनलाई ।
पौराणिककालदेखि नै मानिसहरूले, अझ भनौं पुराणहरूमा वर्णित कथाहरू अनुसार त त्यसकालमै मानिसहरूले मृत्युमथि विजय पाउने चाहना राख्दै आएको र त्यसका लागि उपायहरूको खोजी गर्दै आएको पाइन्छ । तर सम्भव देखिएन । अहिलेसम्मको शाश्वत सत्यचाहिँ के हो भने जीवनपछि मृत्यु अनिवार्य छ ।
बाबुले पति शिवजी गरिब भएकाले गरेको अपमानले भएको मानसिक पीडाका कारण सतीदेवीले यज्ञ अग्निमा हामफालेर आत्महत्या गर्दा, आत्महत्याले शिवजी मानसिक रूपमा नै विक्षिप्त भई र सतीको लास नै उठाएर हिँडेका विषय पनि हाम्रा ग्रन्थमा पाइन्छ । क्षणभरको आवेगमा आएर आत्महत्या गर्ने सतीदेवीप्रतिको शिवजीको आशक्ति र नजिकका मानिसको मृत्यु हुँदा मानसिक रूपमा विक्षिप्त हुने विषय पनि सामान्य नै लाग्छ ।
मानसिक रूपमा विक्षिप्त हुँदा कसैले सहायता गर्न सक्थ्यो कि ? रामले सीतालाई दिएको दुःखको हीनताबोधले उनलाई पीडा हुँदा सरयु नदीमा डुबेर गरेको जीवनको अन्त्य मानसिक विक्षिप्त भएकै कारण भएको पीडा भनी बुझ्न पनि कठिनाइ रहेन । रामायणमा रामको वा दशरथको मृत्यु भएको कुरालाई हेर्दा मानसिक समस्या कि असत्यप्रतिको विद्रोह ? आत्महत्या कि आत्मदाह, शंकाको घेरामा रहन सक्ला, तर कृष्णले अर्जुनलाई युद्धको संघारमा विचलित मानसिकतावाट स्वचालित बनाउँदा पाएको सफलता पनि मननीय नै छ । तर भीष्मपितामह र हिरण्यकशिपुको हृदयविदारक मृत्यु पनि टारिएन । कारण फरक होलान् तर मृत्यु सत्य हो भगवान्देखि असुर जे होस् टारेर टर्न सक्दैन ।
फेरि आम मान्छेकै कुरा गरौं । कोभिड–१९ महामारीको सामना गर्नु भनेको अनिश्चितता र जीवनयापनका चिन्ताहरूसँग जुध्नु र भविष्यका लागि आशाहरू सिर्जना गर्न संघर्ष गर्नु पनि थियो । कतिको ज्यान गयो त कति बेपर्वाह रहे । जे होस् कसैले चाहेर नचाहेर पनि मृत्युलाई टार्न सकेन ।
तर यति हुँदाहुँदै पनि कतिपय मानिसमा अजम्बरी देहझै मुलुकलाई कंगाल बनाएर व्यक्ति मोटाउने प्रवृत्ति भने अध्यावधिक छ । मुख्यसचिवलाई नै भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता परेको छ । भ्रष्टाचारले बालबालिकाका सपना चुँडिन्छ, बाआमाको ओखतीमूलो धुतिन्छ, युवाको रोजगारी खोसिन्छ, अर्थतन्त्र कमजोर हुन्छ, समृद्धि लुटिन्छ, अति सम्पूर्ण राष्ट्र असफलताको दलदलमा भासिँदै जान्छ र राज्यको अस्तित्वको अन्त्यसमेत हुन सक्छ ।
खराब व्यवहारको नतिजा सही हुनै सक्दैन । न त यसले स्वयं व्यक्तिलाई सकारात्मक प्रभाव पार्छ त राष्ट्रलाई । अनैतिकता केवल दुःखको कारण हो, भने सदाचार र नैतिक चरित्र व्यक्ति, परिवार र समाज तनाव हरणको शत्रु हो । त्यसैले भ्रष्टाचारीको जीवन पापको रास मात्र हो र मृत्यु मस्त्र्यलोकको भारको अवशान मात्र ।
मृत्युलाई त्यति सस्तो पनि नबनाउँ कि कसैको मृत्युको कुरा गर्दा लाज पनि नलजाओस् । आम मानिसमा के विषय अनुभूति हुनु आवश्यक छ भने मर्नु र बाँच्नुभन्दा पनि बाँच्छौँ भने कसरी बाँच्छौँ, मर्छौं त कसरी मर्छाैं भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । मुलुकलाई कंगाल बनाएर व्यक्ति मोटाउने प्रवृत्ति भड्किएको मृतात्मा सरह नै हो । सार्थक जीवनका लागि व्यक्तिको रुचि, खुबी र ज्ञानको आधारमा पेसा व्यवसाय अवलम्बन गर्ने र अवलम्बन गरेको पेसा व्यवसायको विशिष्ट अनुशासन र आचारसंहिताको पालना गर्नै पर्छ ।
भष्ट्रचारले बालबालिकाका सपना चँडिन्छ, बाआमाको ओखतीमूलो धतिन्छ, युवाको रोजगारी खोसिन्छ ।
पूर्वीय दर्शनमा स्थापित षड्दर्शनका मूलभूत मान्यताहरू छचल्किए झै लाग्छ । हाम्रो संस्कार र सभ्यतालाई युग, समाज र जीवनसापेक्ष ग्रहण गरी त्यसलाई मानवजीवन, धर्तीको कल्याणको आधार मान्नु पनि हो । जसमा लोककल्याणकारी भावना, मानवसेवा र समाजसेवाको चेतना, आध्यात्मिक चिन्तन र सत्कार्य आफनो जीवन अर्पण गर्ने आत्मा र ईश्वरीय सत्ताप्रति विश्वास रहेको विषय उल्लेख छ ।
परोपकारी र लोकहितकारी भावनाबाट प्राप्त आनन्द अनित्य र विपरिणामी भौतिक जगत्भन्दा परको अमृततत्व जीवनको प्राप्ति नै हो अनि अज्ञानता, क्षणिक स्वार्थ र सांसारिक सुखभोगको अभिलाषा मुक्तिमार्गको अवरोध हो । लोभ, ईष्या, मोह र लालचाबाट मुक्त भई ईश्वरीय परम प्राप्तिलाई जीवनको लक्ष्य बनाएमा जीवन सबै खालका दुःखबाट मुक्त हुन्छ भन्ने आध्यात्मिक चिन्तनसमेत प्रस्तुत भएको छ ।
भनिन्छ, मानिस मरे पनि यश, कीर्ति र चेतना मर्दैन । आत्माले त अर्को जन्म लिन्छ । जसरी एउटा सलाईको काँटी आफू निभ्ने निश्चित हुँदाहुँदै पनि दियो जलाउन आतुर हुन्छ । त्यसरी नै एउटा आत्माले अर्कोलाई मुक्ति मिल्न सक्दछ । के जीवनको अन्त मृत्यु हो ? भागवत गीताले जीवन अनि मृत्युका बारे मान्छेको जीवन र आत्मालाई जोडेर मृत्युलाई मुक्तिका रूपमा व्याख्या गरेको पाइन्छ । त्यस्तै आदिकवि भानुभक्त आचार्यको कविता ‘देह र आत्मा’ले पनि आत्मा शरीर परिवर्तन गर्दै हिँड्दछ, न कुनै हतियारले यसलाई नष्ट गर्न सक्छ, न त हावाले सुकाउन सक्छ, आत्मा अजर अमर छ भन्ने सार उल्लेख गरेको छ ।
हरेक जीवन एउटा नयाँ देह हो । जहाँ आत्मालाई आत्मिक शुद्धता र चेतनाका आधारमा नयाँ जीवन्तता प्रदान गरिन्छ । विशिष्ट जीवन प्राप्त गर्न भने चेतनामा नियन्त्रण गर्न जरुरी मानिन्छ, चेतनशीलतामा कमी भएमा तल्लो तहको जीवन प्राप्त हुने बताइन्छ । जीवनको वास्तविक मूल्य र उद्देश्य मृत्युलाई एउटा अर्थपूर्ण समाधिको स्वरूप दिनका लागि हो भन्ने हिन्दु शास्त्रहरू केन्द्रित देखिन्छन् । त्यसैले मृत्युलाई जीवनको अन्त्य नभई अनन्त यात्रामा सानो अंश मनन् गर्नुपर्ने देखिन्छ ।
बौद्ध दर्शनमा अष्टमार्गमा आठ सिद्धान्तहरू अपनाउन आग्रह गरिएको छ । बुद्धले लालसाको दमन गर्न र मोक्ष प्राप्त गर्न अष्टाङ मार्गको प्रतिपादन गरेका हुन् । जसअनुसारका नियमहरू सम्यक दृष्टिकोण, सम्यक वाणी, सम्यक संकल्प, सम्यक कर्म, सम्यक निर्वाह, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि हुन् । दुःखहरू हटाउन तथा एकाग्रतासँग विचार, भावना स्थिर र शुद्ध अष्टमार्ग महत्वपूर्ण रहन्छ जुन आधुनिक नैतिकता र सदाचारमा आधारित छ । जसको अभ्यासबाट मनको एकाग्रताबाट शुद्ध ज्ञानको अनुभूति हुने र धर्मको सागरमा छलांग मार्न सकिने विषय उल्लेख छ । सम्पूर्ण मनुष्य जगत्को कल्याण गर्नेको मृत्यु पनि अमर हुने निष्कर्ष छ ।
अन्त्यमा, ‘वचनको ऋषि र व्यवहारको सिसी’ प्रवृत्ति व्यक्ति र संगठन पतनको द्योतक हो । ‘मनको सफा र वचनको पक्का’ नेतृत्व संस्थागत समृद्धिको आधारभूत सर्त हो । व्यक्तिका जिम्मेवारी फरक होलान् । तर प्रत्येक जीवनको उत्तिकै महत्व हुन्छ । कुनै पेसामा राष्ट्रप्रतिको दायित्व बढी होला त कसैको कम । बढी दायित्वयुक्त व्यक्ति झन् बढी नैतिक, सदाचारी र विभेदरहित हुनुपर्छ ।
किनकि उसलाई समाजले पछ्याइरहेको हुन्छ र उसको फराकिलो प्रभाव पनि रहेको हुन्छ । खराब आचरण र व्यवहारले मानिस, जीवनभर दुःखका शृंखलामा परिरहन्छ । र ऊ बाँचेर पनि पलपल मरिरहेको हुन्छ । तर जुन मानिस निस्वार्थपूर्वक सामाजिक कल्याणका लागि मर्छ, ऊ प्रेरणाको रथारोहण गर्छ । त्यसैले दुःख आर्य सत्य हो र दुःखको कारण आफू र आफन्तप्रति भौतिकको आशक्ति हो भन्ने बोध नभएसम्म दुःखको निवारण गर्न सकिँदैन । र, दुःखको निवारणको लागि आर्य अष्टांगिक मार्गको बोध र पालनाबाट सम्भव छ । जसका लागि नियमसंगत सबैप्रतिको समभाव र सहानुभूति हो भन्ने कुराको अनुभूति अनिवार्य देखिन्छ । अनिमात्रै सम्यक समाधि प्राप्त गर्न सहज हुन्छ ।
मृत्यु शाश्वत सत्य नै हो । अतः जिम्मेवारी जेसुकै होस् । आफ्नो अन्तरनिहित स्वार्थ र लोभवाट मुक्त भई स्वार्थहीन, सदाचारी, जवाफदेही, पारदर्शी, इमान्दार र उदाहरणीय व्यवहार गर्न सकेमा व्यक्ति मरेर पनि बाँच्न सक्छ । समाधिको बाबजुद समाजले उसको यश, कीर्ति पुस्तौ पुस्ताका लागि स्मरणको पानामा कैद गर्नेछ । र, यस्तो मृत्यु अत्यन्तै हृदयविदारक र अस्वाभाविक झै लाग्नेछ किन कि ऊ मरेर पनि बाँचिरहेछ ।
तिमिल्सिना, गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन् ।
तपाईको प्रतिक्रिया