अग्निदहनको प्रचार पोखराबाट सुरु, मंसिर ७ गते रिलिज हुँदै

समाधान संवाददाता २०८१ कार्तिक २२ गते १८:४१

पोखरा । नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो ।

Advertisement

सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका नाम गरिएको कुकृत्यलाई देखेर सामाजिक चेतना फैलाउन सिनेमा निर्माण गरिएको बताए । “सुरुमा मान्छे बोक्सी हुन्न कहिल्यै किताब प्रकाशन गरिएको थियो । त्यसपछि गीत निर्माण भयो । सकरात्मक प्रतिक्रियाले पछि मात्रै सिनेमाको रुप लिएको हो ।”, उनले भने ।

सिनेमालाई अभियानकै रुपमा अगाडि बढाई देशका ५ सय भन्दा बढी ठाउँमा पुगेर प्रदर्शन समेत गरिएको उपाध्यायले जानकारी गराए । सिनेमा भोजपुरी र मैथली भाषामा समेत डब भएको छ । अब हिन्दी भाषामा डब हुन लागेको उनले बताए । उनले अग्निदहनले कमाएको रकम निर्माताको खल्टीमा नजाने र शिक्षा चेतनाकै माध्यमबाट मात्रै बोक्सी प्रथा उन्मुलन हुने उल्लेख गरे ।

Advertisement

निर्देशक घनश्याम लामिछानेले “अग्निदहन” मनोरञ्जनात्मक सिनेमा नभई सामाजिक चेतना प्रवाह गर्ने सिनेमा भएको बताए । पृथक सिनेमा बनाइएको र स्वच्छ भावनाले काम गरिएको सिनेमा भएकाले पनि हलमा समेत दर्शकको माया पाउनेमा उनी आशावादी छन् । सिनेमा ९० मिनेटको भएको र सिनेमा हेर्दा आफ्नै सामाजिक परिवेशको कथा भेटिने भनाई उनको छ ।
कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने सिनेमा अभिनयका लागि रोजाईमा पर्ने र अग्निदहन सोहि सिनेमा भएको बताए । बोक्सी प्रथा विरुद्धको कथामा कलाकारिता मार्फत गासिन पाउँदा खुशी लागेको भनाई उनको छ ।
कलाकार माओत्से गुरुङले सिनेमामा अन्धविश्वासलाई प्रशय दिने खालको भूमिका आफ्नो रहेको बताए । दशैंबाट यता नेपाली सिनेमाले हलमा गरेको व्यापार सकरात्मक भएको उल्लेख गर्दै समाज सेवाका लागि बनाइएको सिनेमालाई समेत दर्शकले माया दिने उनले उल्लेख गरे ।

कलाकार प्रमिला तुलाचन सिनेमामा बोक्सीका रुपमा प्रस्तुत भएकी छिन् । अहिले सम्म नगरेको पात्रका रुपमा आफुले अभिनय गरेको जानकारी उनले गराइन् । कलाकार तुलसी क्षेत्री लोकदोहोरी क्षेत्रबाट अभिनयमा आएकी हुन् । पहिलो चलचित्र भएकाले पनि आफ्नो भूमिकाले दर्शकको मन छुनेमा उनी आशावादी छिन् ।

Advertisement

लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, प्रश्निा आचार्य, माधवशरण पौडेल लगायतको अभिनय छ । सिनेमाका संरक्षक मोहनराज पौडेल हुन् । सिनेमाको गीत र टे«लर सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया