चार्टड उडानमा सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा । चीन सरकारको २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
चार्टड उडानमा सीमित भइरहेको पोखरा विमानस्थलमा बिहीबार फेरि अर्को चार्टड उडान थपिएको छ । बिहीबार चीनको कुनमिङ विमानस्थलबाट १३४ यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको एयर बस ३१९ चार्टर्ड विमान पोखरामा दिउँसो २ः४० मा अवतरण गरेको हो । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक र अन्य प्रतिनिधिहरू लिएको विमान पोखरा आइपुगेको हो ।
अघिल्लो वर्ष पनि चीनबाट आएको विमानले खेलाडी र मेडिकल टिम ल्याएको थियो । यो वर्ष पनि चीनियाँ खेलाडी बोकेर यो विमानस्थल पोखरा आइपुगेको छ । विमानस्थल सञ्चालमा आएदेखि ८ वटा मात्र अन्तर्राष्ट्रिय उडान हुन सकेको विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले जानकारी दिइन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको हो । त्यसयता आन्तरिक उडान निरन्तर भइरहेपनि अन्तर्राष्ट्रिय उडान भने यति हुन सकेको छैन । अहिलेसम्म यो विमानस्थलबाट आन्तरिक उडानकै भर छ । चार्टर्ड फ्लाइट छिटफुट भए पनि नियमित उडान नहुँदा विमानस्थलको अपरेटिङ कस्टसमेत तिर्न धौधौ छ । विमानस्थललाई फुलफेजमा सञ्चालन गर्न सरकारले विभिन्न स्किम ल्याएपनि कार्यान्वयनको पाटो फितलो फितलो हुँदा विमानस्थलबाट उडान हुन नसकेको हो । केही समयअघि बंगलादेशको एयरलाइन्स एयर एस्ट्राले ढाकाबाट पोखरा उडान गर्न चासो देखाएको थियो । बंगलादेशबाट पोखरा नियमित उडान हुने चर्चा अहिले अहिले हराइसकेको छ ।
यद्यपि चार्टड उडान भने यदाकदा भइरहेका छन् । यसअघि सन् २०२३ नोभेम्बर २३ मै हिमालय एयरलाइन्स पोखरा अवतरण गरेको थियो । त्यो बेला चीनबाट ९५ जना यात्रु पोखरा आएका थिए । त्यसअघि सिचुआनले नै २०२३ जनवरी २१ मा पोखराका लागि पहिलो उडान गरेको थियो । फेवातालमा आयोजित ड्रागन बोटरेस फेस्टिभलमा सहभागी हुन त्यसबेला ८४ जना चिनियाँ पाहुना पोखरा आएका थिए । त्यसपछि सेप्टेम्बर ९ मा भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ड्रुक एयरको जहाज पोखरा अवतरण गरेको थियो । डु«कले पोखरा आउँदा ३ जना यात्रु ल्याएको थियो भने फर्किँदा ४२ विदेशी यात्रु लिएर उडेको थियो । यो उडानलाई प्राधिकरणले पहिलो व्यावसायिक उडान भनेको थियो । गत नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चीनका दुइवटा कार्गाे जहाज पोखरा ओर्लिएका थिए । यसपछि पनि पोखरा विमानस्थलमा २ वटा अन्तर्राष्ट्रिय फ्लाइट भएका छन् ।
विमानस्थल चलाउन अनेकथरी छुट
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको गर्न अनेकथरी छुट दिएको छ । एयरलायन्स कम्पनीलाई विभिन्न शीर्षकमा सरकारले सेवा शुल्कमा छुट दिएको छ । यद्यपि हालसम्म नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन । मन्त्रिपरिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने यात्रु सेवा, पार्किङ ल्यान्डिङ र नेभिगेसन सेवा शुल्कमा पूर्ण छुट दिने निर्णय भएको छ । सोही अनुसारको कार्ययोजना समेत बनेको छ । कार्ययोजनाले वायु सेवा कम्पनीहरू मागलाई सम्बोधन गरेपनि विदेशी वायुसेवा कम्पनीहरुले हालसम्म पोखरामा सीधा उडान गर्न सकेको छैनन् ।
सरकारले पर्यटन शुल्क नलिने, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट दिने व्यवस्था कार्ययोजनामा छ । हाल अन्तर्राष्ट्रिय हवाई उडान टिकटमा ३ हजार र पर्यटन शुल्क १ हजार रूपैयाँ लाग्ने व्यवस्था छ ।
कार्ययोजनाले अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई प्रोत्साहन गर्ने सम्बन्धमा हवाई टिकटमा लगाइने भ्याट छुट वा फिर्ता मिलाउन निर्देशन दिएको थियो ।
यसअघि नै सरकारले ४ महिनाभित्र आवश्यक नीतिगत व्यवस्था गर्ने उक्त कार्ययोजना बनाउने कार्ययोजना बनाएको थियो । यद्यपि त्यो कार्ययोजना कहाँ पुग्यो त्यो, सार्वजनिक भएको छैन । न त अन्तर्राष्ट्रिय उडान भर्न अन्य कुनै योजना बनेको छ । परराष्ट्रले कूटनीतिक पहलमार्फत् रोजगारका मुख्य गन्तव्य मुलुकमा जानका लागि आवश्यक पर्ने भिसा पोखरा विमानस्थलबाटै आवेदन गर्न र प्राप्त गर्न सक्ने कार्ययोजना बनेपनि कार्यान्वयन हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया