गिट्टी र बालुवाको दिगो उत्खनन सम्बन्धी तालिम

समाधान संवाददाता २०८१ कार्तिक २३ गते १९:३४

पोखरा ।
पोखरामा गिट्टी र बालुवाको दिगो उत्खनन सम्बन्धी तीन दिने तालिम सुरु भएको छ। ईन्भाइरोमेन्ट एण्ड इन्जिनियरिङ रिसर्च सेन्टरको आयोजनामा र युएसएआइडी जल जगलको सहयोगमा तालिम भएको हो।

Advertisement

वातावरण विद सुरेश भट्टराईले गिट्टी र बालुवाको उत्खनन दिगो रुपमा गर्नुपर्ने आवश्यक रहेको बताए । कति सम्म उत्खनन गर्न पाउने नियम बनाएर स्थानीयकरण गर्नुपर्ने उनको सुझाव छ।

गिट्टी र बालुवाको दोहनले माछा र चरा प्रत्यक्ष असर पर्ने भट्टराईले जानकारी दिए । उनीहरूको आवागमनमा कमी आउने, बासस्थान हराउने, प्रजनन क्षमतामा कमी आउने, ध्वनी प्रदुषणले उनीहरूको ब्यबहारमा परिवर्तन आउने लगायतका असर पर्ने उनको भनाइ छ ।

ईन्भाइरोमेन्ट एण्ड इन्जिनियरिङ रिसर्च सेन्टरका टिम लिडर तथा वातावरण विद नवराज पोखरेलले नदीजन्य पदार्थको उत्खनन सम्बन्धमा नीति नियम बना या पनि कार्यान्वयन हुन नसकेको बताए । नीति नियम सहज नहुँदा विकासका योजनाहरू अलपत्र पर्ने समस्या भएको उनले सुनाए ।

अध्ययन बिना, प्राविधिकको अनुपस्थितिमा, मन लागे जति उत्खनन गर्ने चलन रहेको उनले बताए । ‘सरकारले नदीजन्य पदार्थको सहि उपयोग गर्न सकेकाे छैन । टेन्डर आह्‍वानको सूचना धेरै ढिलो निकाल्छ । जुन समय सम्म चोरी निकासी भइसकेको हुन्छ,’ उनले भने।

Advertisement

नदीजन्य पदार्थको उत्खननमा बेलैमा ध्यान नदीए भविष्यमा ठूलो समस्या आउने सहभागीको भनाइ थियो। ढुंगा गिट्टी, बालुवाको उत्खनन, प्रशोधन, ढुवानी र बिक्री वितरणसम्म नै बेथिति बनेको उनीहरुले बताए । प्राकृतिक सम्पदाको उपयोग गरेबापत राजस्व नै नतिर्ने, क्रसर उद्योग दर्ता नै नहुनेसम्मका समस्या रहेको उनीहरुले औंल्याए ।

कार्यक्रममा रिसर्च सेन्टरका नवराज सापकोटा, पुरञ्जन सापकोटा र तारा आले र सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिति थियो । तालिम आइतबार सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया