सहकारी पीडितको आरोप

सरकारले जिबी लुकायो, रास्वपाले अफवाह फैल्यायो

समाधान संवाददाता २०८१ कार्तिक २४ गते ५:५६

पोखरा । सूर्यदर्शन सहकारीमका पीडितले सहकारीको रकम अपचलन गरी हजारौंको बिचल्ली पार्ने मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राईलाई सरकार र ठूला राजनीतिक दलहरुले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

Advertisement

सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जिबी राई पक्राउ पर्दा विभिन्न दलका नेताहरु समेत जोडिने र फँसिने डरकै कारण सरकारले नै उनलाई जोगाएको बताएका हुन् । पीडितको रकम फिर्ता गराउनका लागि अहिलेसम्म सरकारले कुनै पनि कार्ययोजना नल्याएको भन्दै उनले दुख मनाउ गरे । सरकारले नसक्ने भए पीडितको समितिलाई नै जिम्मा दिए समस्या सल्टाउने दाबी उनको थियो ।

समितिका अध्यक्ष किरण श्रेष्ठले भने, ‘जिबी राईलाई नेपाल ल्याउँदा रास्वपाको अर्का नेता जोडिने र कांग्रेस, एमालेका ठूला नेता पनि जोडिने देखिएकाले यिनीहरु सबै मिलेर जिबी राईलाई संरक्षण गरेको हो कि जस्तो देखिन्छ,’ उनले भने । सरकारले चाहेमा उनलाई तत्काल नेपाल ल्याउन सकिने संयोजक श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा श्रेष्ठले रास्वपाका कार्यकर्ताले झुटा आरोप लगाई सामाजिक सञ्जाल लगायतमा गरेको गलत प्रचार गर्नेलाई आवश्यक कानुनी कारवाही गर्न साइबर अपराध अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दर्ता गरेको बताए । शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले जिल्लाले ध्यान नदिए साइबर ब्युरोमा जाने जनाए । ‘रास्वपाका नेताहरुले सामाजिक सन्जाल र मिडियाहरुमा विना प्रमाण झुटा लाञ्छना लगाएका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो गतिविधिको क्रममा गल्तीको प्रमाण माफी माग्न तयार छौं ।’

उनले आफूहरु राजनीतिक दलका नेता तथा कार्यकर्ता नभएर सामान्य बचतकर्ता भएकोले झुटा लान्छना गलत किसिमका समाचार सम्प्रेषणले पारिवारिक जीवनलाई असर पर्ने बताए । उनले बिना आधार सामाजिक सञ्जालमा चरित्र हत्या गरे चुप लागेर नबस्ने चेतावनी दिए ।

Advertisement

संघर्ष समितिले नितान्तरुपमा बचत फिर्ताका लागि आन्दोलन गरेको जानकारी दिँदै उनले एकातिरको संघर्षलाई कमजोर बनाउन विषयान्तर गर्न खोजेको आरोप लगाए । अध्यक्ष श्रेष्ठले सरकार आफै लडेको भएकोले सघर्ष समिति चुप लागेर बसेको जनाए । उनले संघर्ष समितिले चाहेको खण्डमा रास्वपाले भन्दा ठूलो प्रदर्शन गर्नसक्ने चेतावनी दिए । उनले संघर्ष समितिले बचत फिर्ता गर्न धेरै प्रयास गरेको बताए ।

अहिलेको वर्तमान अवस्थामा सहकारीको समस्या र समाधान विषयमा दोषी र कारबाहीको विषयमा मात्र चर्चा परिचर्चा र बहस भइरहेकामा समितिले दुख मनाउ गरेको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘सहकारी पीडितको डुबेको रकम कसरी फिर्ता गर्ने या दुरुपयोग भएको बचत रकमको सुनिश्चितता कसरी गर्ने भन्ने कुरा हामी जिबी राईको समूह र विभिन्न कम्पनीबाट पीडित बनेका सहकारी पीडितको विषयमा कुनै ठोस पहल कदम नहुदा हामी अतिनै दुखी छौं ।’

पीडितको समस्या र पीडाको बारेमा बयान गर्न अब कुनै विषयनै बाँकी नरहेको भन्दै रवि लामिछानेका समर्थकले सहकारी पीडितमाथि सडकदेखि सामाजिक सञ्जाल फेसबुकसम्म विभिन्न किसिमका झुटा कुरा र झुटा लान्छाना लगाई पीडित कै चरित्रहत्या गरेको आरोप उनले लगायो । विज्ञप्तिमा भनिएको छ, ‘यतिका धेरै सहकारी पीडितको समस्या समाधान या सहानुभूतिको बारेमा सोचिदिनु पर्ने समयमा गलत तरिकाबाट समाचार सम्प्रेषण गरी हामी सहकारी पीडित, हाम्रो समाज र सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुलाई अन्धकारमा राख्ने प्रयास गरिएको छ ।’

देशको विकाश, भ्रष्ट्राचार को अन्त्य र सुशासनको प्रतिबद्धतासहित वैकल्पिक बाटोको रुपमा रोजिएको नेपालको चौथो ठूलो पार्टीबाट भएका गतिविधि सार्है लज्जास्पद भएको पीडितको भनाइ छ । ‘सूर्यदर्शन सहकारीको विषयमा हामी १८ हजार ७ सय बचतकर्ता र सम्पूर्ण जाहेरबाला नै समिति हौं । विषयान्तर गरी हामीलाई कमजोर पार्ने काम हुँदैछ, यो एउटा ठूलो घिनलाग्दो राजनीति हो,’ पीडितले भनेका छन् ।

संयोजक श्रेष्ठले सरकारले चाहेको खण्डमा सहकारी क्षेत्रको समस्यालाई हल गर्न सक्ने तर्क गरे । कार्यक्रममा संघर्ष समितिका सचिव दुर्गानाथ न्यौपाने, कृष्णप्रसाद जैसी लगायतले संघर्ष समितिले गरेका गतिविधिको बारेमा बोलेका थिए । सूर्यदर्शनमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड अपचलन भएको छ । यही ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीलगायत ४ जना अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनीहरुमाथि सूर्यदर्शनको रकम अवैध तवरले गोरखा मिडियामा लागि ठगी गरेको अभियोग छ ।

तपाईको प्रतिक्रिया