पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ आज, विद्यार्थीसहित १३ सय जना दौडँदै
पोखरा। हिमालयन टुरिजम फोरमको आयाजनामा हुने तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता शनिबार हुने भएको छ । पर्यटनको राजधानी पोखरास्थित लेकसाईड, बाराहीघाटबाट विभिन्न चारवटा विधा प्रतियोगिता हुनेछ । जसमा टिमतर्फ २० टिममा ७२ एथलेट, च्यालेन्ज इन्डिभिजुअलमा सय नेपाली र ५२ चिनिया गरी १५२ एथलेट, विद्यार्थी ४ सय ५० र हेप्पी रनमा ५ सय ७९ जना सहभागी हुनेछन् ।
प्रतियोगिता बिहान साढे ८ बजे शुरु हुने आयोजकले जानकारी दिएको छ । दौडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ कमर्स, होटल संघ नेपाल पोखरा, पोखरा पर्यटन परिषद, युवा परिषद, नेपाल खेलकुद पत्रकार पञ्च, नेपाल खेलकुद परिषद लगायतका विभिन्न संघ, संस्थाहरुसंगको साझेदारी र सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताले नेपाल तथा पोखराको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । यसले नेपाल तथा चाईनाबीचको सम्बन्ध अझ बजबुत र प्रगाढ बन्ने फोरमका अध्यक्ष तथा प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिए । उनका अनुसार चीनबाट १३४ जना खेलाडीसहितको टोली चार्टर बिमानद्वारा बिहिबार पोखरा आईसकेका छन् ।
नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ ।
खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ र रोइङ (बोटिङ) गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले कुल २२५८ मिटर उचाइ पार गर्नेछन् । यसैगरी, च्यालेन्ज इण्डिभिजुअल समूहमा ५० किलोमिटरको ट्रेलमा २३६६ मिटरको कुल उचाइ पार गर्ने मिडिया संयोजक ई. प्रतिकराज पहारीले जानकारी दिए ।
५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट पुगेर सम्पन्न हुनेछ ।
यस्तै २ किलोमिटर दुरीको विद्यार्थी दौडमा करिब ५ सय खेलाडी सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । यसका लागि बाराहीचोकदेखि ड्यामसाइडसम्मको रुट रहेको छ ।
५० किलोमिटर टिम समूहमा प्रथम हुने टिमले ४ लाख ५८ हजार ४ सय रुपैयाँ (२४ हजार चिनिया युआन) सहित मेडल र प्रमाणपत्र पनि पाउनेछन् । दोस्रो हुनेले मेडल र प्रमाणपत्रसहित ३ लाख ४३ हजार ८ सय (१८ हजार चिनिया युआन) र तेस्रो हुनेको लागि २ लाख २९ हजार २ सय (१२ हजार चिनिया युआन) पाउनेछन् । यस्तै, चौथोलाई १ लाख ५२ हजार ८ सय, पाचौँलाई लागि ९५ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
च्यालेन्स समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । यस स्पर्धामा प्रथमका लागि १ लाख ५२ हजार ८ सय (८ हजार चिनिया युआन), दोस्रोका लागि १ लाख १४ हजार ६ सय (६ हजार चिनिया युआन) र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय (२ हजार चिनिया युआन) प्राप्त गर्नेछन् ।
चौथोदेखि सातौँ हुने खेलाडीले ३८ हजार २ सय, आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीको लागि १९ हजार १ सय पुरस्कारको व्यवस्था गरिएको छ ।
विद्यार्थी दौडमा शीर्ष ६ (महिला÷पुरुष दुवै) खेलाडीको लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेका लागि ३० हजार, दोस्रोका लागि २५ र तेस्रोका लागि २० हजार रुपैया पुरस्कार राशी रहेको छ । चौथोदेखि छैठौँ हुने खेलाडीले १०/१० हजार रुपैयाँ पाउनेछन् । यस्तै, ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पोखरा पर्वतीय संग्राहलयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी भइसकेको छ ।
साहसिक खेलकुदको सहर पोखरामा यसहित इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।
तपाईको प्रतिक्रिया