पोखरामा गणेशमान र सुवर्णको योगदानको चर्चा
पोखरा । विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशको आयोजनामा शनिबार विचार गोष्ठी आयोजना गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सुवर्णशमशेर र गणेशमान सिंहले नेपाली कांग्रेसको विरासतलाई बचाउन दिएको योगदानबारे चर्चा गरे ।
उनले पार्टीमा लागेका कार्यकर्ताले सुवर्ण र सिंहको सिको गर्न सकेमात्र पनि प्रजातन्त्रमा ठूलो योगदान पुग्ने उल्लेख गरे । स्थापनाकालीन आदर्शलाई व्यवस्थापनमा उतार्दै अगाडि बढेमा कांग्रेस कसैसँग झुक्नु नपर्ने र सधैं जनताको विश्वास जित्न सकिने शर्माले औंल्याए ।
उनले भने विपी सिद्धान्त प्रयोग भए पनि कार्यान्यवयन नभएको हुँदा अब नेपाली काँग्रेसले त्यसलाई व्यवहारिक ज्ञानमा अगाडि बढाउनुपर्ने अवस्था आएको तर्क गरे । उनले राष्ट्र जोगाउनको लागि प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।
प्रदेश उपसभापति मेखलाल श्रेष्ठले सुवर्णशमशेरलेको पार्टी र राष्ट्रलाई गरेको आर्थिक योगदान र गणेशमानले प्रधानमन्त्री त्याग गरी संविधान प्राप्त हुनुमा ठूलो त्याग गरेको बताए । महामन्त्री विष्णुप्रसाद लामिछानेले अग्रज नेताहरुको त्याग र बलिदानीको आदर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक होमनाथ पौडेल, प्राडा वेदनाथ शर्मा, पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु), सदस्य कमल सापकोटा, कांग्रेस गण्डकी प्रदेश सदस्य शिरोमणि बराल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया