पर्यटकको लर्को लाग्न थालेपछि मुस्ताङमा स्याउ खेती मासेर होटल
मुस्ताङमा सुविधासम्पन्न सिन्तामणि रिसोर्टसहित ३२५ होटल
जोमसोम । मुस्ताङमा बर्सेनि ५ लाखको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक भित्रिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा गतवर्ष मात्रै ३ लाख ५४ हजार ९२७ आन्तरिक र ९९ हजार ३९९ जना सार्क तथा तेस्रो मुलुकका विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।
राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) निर्माणधीन सडक सहज हुँदै जान थालेपछि मुस्ताङमा बर्सेनि पर्यटक आवागमन वृद्धि भइरहेको छ । राष्ट्रिय गौरवको सडक अन्तर्गत म्याग्दी र मुस्ताङको प्रवेशद्वार घाँसादेखि मुक्तिनाथसम्मको सडकमा करिव ९० प्रतिशत कालोपत्रे भइसकेको छ । कागबेनीदेखि उत्तरी कोरलानाकासम्मको सडकमा ग्राभेल विस्तार भएको छ । कोरला सडकखण्डको ठाउँठाउमा पक्की पुल बनेका छन् । जिल्ला मुस्ताङ प्रवेश गर्ने सडक समृद्ध बन्दै जान थालेका मुस्ताङ घुम्ने पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ । त्यसो त पर्यटकीय सिजनमा पोखरा—जोमसोम हवाई सेवा उपलब्ध हुने भएकाले पनि मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि यहाँसम्म आइपुग्न कुनै कठिनाइ छैन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुले मुस्ताङ जिल्लालाई घुम्नै पर्ने सूचीमा राखेका छन् । सामाजिक सञ्जाल फेसबुक, टिकटक आदिमार्फत् पर्यटकले पोस्ट गरेको भिडियोबाट पनि मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पुगेको हो । त्यसो त मुस्ताङमा दर्जनौ स्वदेशी तथा विदेशी चलचित्र, डकुमेन्ट्री लगायत विभिन्न श्रव्यदृष्य सामाग्री प्रशारण हुन थालेपछि स्वदेशी र विदेशी पर्यटकको ध्यान मुस्ताङतर्फ मोडिएको हो ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर, प्रसिद्ध श्राद्धस्थल कागबेनीधाम, दामोदरकुण्ड, प्राचिन तिब्बती कलासंस्कृति झल्किने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता, पृथक भूगोल, कालिगण्डकी नदीको मनमोहक भूगोल, हिमाली दृष्यावलोकन, तालतलैया र गुफाले पर्यटक तानिरहेका छन् ।
हिमाली सम्यता, संस्कृति रहनसहन, भेषभूषा र मौलिकतासँगै यहाँको लोभलाग्दो स्याउ बगान लगायतका कारण मुस्ताङ अन्य जिल्लाभन्दा विशेष खास महत्व बोकेको जिल्लाको रुपमा लिने गरिन्छ ।
राउण्ड अन्नपूर्ण चक्रीय पदमार्ग, तिलिचो पदमार्ग र धौलागिरी हिमाल आरोहण् र यहाँका एकआपसमा जोडिएका गुजमुच्च प्राचिन ढुंगा र माटोले निर्मित घरहरु लगायत कारण पर्यटकको ध्यान मुस्ताङतर्फ पर्न थालेको हो । विभिन्न खोज अनुसन्धान र हिमाली सौन्दर्यमा रमाउन मुस्ताङ निकै महत्वपूर्ण स्थानमा पर्छ ।
मुस्ताङसम्म आउने सडक यातायात सहज बन्दै जान थालेपछि यहाँ पर्यटक लक्षित होटलहरु पनि थपिदै जान थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङको विवरण अनुसार जोमसोममा अवस्थित लक्जरियस मोडलको सिन्तामणि रिसोर्टसहित ३ सय २५ वटा होटल सञ्चालनमा छन् । सिन्तामणि रिसोर्ट मुस्ताङ जिल्लाकै सबैभन्दा महंगो रिसोर्ट हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार मुस्ताङका ५ स्थानीय तहमा संञ्चालित ३ सय २५ वटा होटलहरु सञ्चालनमा छन् । उनका अनुसार मुस्ताङको सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकामा १ सय ६३, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ६३, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ३०, लोमान्थाङ गाउँपालिकामा २० र थासाङ गाउँपालिकामा ४९ होटल सञ्चालनमा छन् ।
मुस्ताङका प्रहरी नायव उपरीक्षक बोगटीका अनुसार मुस्ताङमा सञ्चालित होटलहरुले एकैसाथ पर्यटक व्यवस्थापन गर्नपरे ७ हजारसम्म क्षमता रहेको उल्लेख गरे । पर्यटनको सिजनमा मुस्ताङ आउने सडक अवरुद्ध हुदा एकै साथ पर्यटक आउदा यहाँका होटलहरुले पर्यटक व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ ।
मुस्ताङका अधिकांश होटलहरु घरधनी आफैले सञ्चालन गरेका छन् । केहीले भने घर भाडामा लिएर होटल सञ्चालन गरेको प्रहरी नायव उपरीक्षक बोगटीको भनाइ छ । मुस्ताङमा बर्सेनि अनुकुल मौसममा पर्यटकको चाप बढ्दा यहाँको होटलको क्षमताले थेग्न नसक्ने कतिपयको बुझाइ छ । सडकमार्गमा घर भएकाहरु आफैले होटल चलाएको र नया होटल सञ्चालन गर्न चाहने व्यक्तिलाई आवश्यक स्थानमा जग्गा व्यवस्थापन नहुदा नयाँ होटल खोल्न समेत अप्ठ्यारो छ ।
मुस्ताङमा कुल भूगोलको १ प्रतिशत पनि नापी नभएको र नापी नभएको सार्वजनिक स्थानीय तहले लिजमा दिन पाउने प्रावधान सुनिश्चित नहुदा नयाँ होटलको संरचना निर्माणमा बाधा परेको हो । पछिल्लो समय मुस्ताङका कतिपयले स्याउ बगैचा मासेर होटलको भौतिक संरचना निर्माण गरिसकेका छन् । स्याउ खेतीभन्दा पर्यटक लक्षित होटलबाट मनग्गे आम्दानी हुने भएकाले यहाँका स्थानीय नागरिकहरुले स्याउ खेती मासेर होटल घर बनाउन थालेका हुन ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया