स्वास्थ्य बिमा व्यवस्थित गर्ने मन्त्री पौडेलको भनाइ
पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको जनाएका छन् । स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको उनको भनाइ छ ।
स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा बिमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुुपर्ने धारणा राखे । स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बिमाको रकम ५ लाख पुर्याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले सुनाए ।
देशको बजेटको ४ प्रतिशतमात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उनले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुर्याउनु आवश्यक भएको धारणा राखे । आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभई त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उनको भनाइ छ ।
सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार, जलन रोगको निःशुल्क उपचार जस्ता विषयलाई अघि सारेको जनाउँदै उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरहेको जनाए ।
पोखरामा वृद्धाश्रममा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्ष उनले सुरुआत गरे । आवश्यक स्वास्थ्य उपकरण एवं औषधीका लागि सहयोग गर्ने उनको भनाइ छ । पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले वृद्धाश्रम सञ्चालन भएयता निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताए ।
ज्येष्ठ नागरिकहरूमा समस्याका रुपमा देखिने विस्मृतिजन्य रोग उपचारका लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले जानकारी दिए । वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले २०५३ सालमा स्याउलाले छाएको छाप्रोमा तीन जना ज्येष्ठ नागरिकलाई राखेर सुरु गरिएको वृद्धाश्रम हाल सुविधा सम्पन्न भवनमा सञ्चालन भएको जानकारी दिए ।
वृद्धाश्रममा हाल ५३ जना असहाय ज्येष्ठ नागरिक आश्रय लिँदै आएका छन् । कार्यक्रममा वृद्धाश्रममा अक्षयकोष स्थापनार्थ सहयोगका साथै ज्येष्ठ नागरिकका क्षेत्रमा योगदान पुर्याएको भन्दै सीता बास्तोला, नरबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया