नारायण गोपालको बायोपिक बनाउने सायमीको घोषणा

सायमीको ‘स्वरसम्राट नारायणगोपाल’ विमोचन

समाधान संवाददाता २०८१ कार्तिक २५ गते ८:५४

पोखरा ।
स्वरसम्राट नारायण गोपालको जीवनी सम्बन्धी पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ । पोखराबाट प्रसारण हुने एभरेस्ट एफएमको आयोजनामा शनिबार पोखरामा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा, वष्ठि साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, पत्रकार दुर्गा भण्डारी, हार्मोनी अध्यक्ष इतु जोजिजु, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक प्रकाश सायमीले एकसाथ पुस्तकको विमोचन गरेका हुन् ।

Advertisement


लेखक सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे । उनले कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरेका हुन् । सायमीले पचासको दशकमा ‘सिमाना’लगायत चर्चित चलचित्रहरु निर्माण गरेका थिए ।

पछि रेडियो कर्ममा लागेपछि उनले चलचित्र निर्माणबाट विश्राम लिए । तिनै सायमीले करीब तीन दशकपछि चलचित्र बनाउने घोषणा गर्दै भने, ‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु । सोही चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दैछु ।’ उनले आफूले चलचित्र निर्देशन नछाडेको बरु केही विश्राम लिएर पुनः फर्किन लागेको स्पष्ट पारे ।

Advertisement


पुस्तक विमोचन कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्तत्र्रिmयात्मक संवाद गर्दै लेखक तथा अध्येता सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गरे ।


पुस्तकका लेखक सायमीले स्वरसम्राट नारायणगोपालको पोखरासँग गहिरो सम्बन्ध रहेको बताए । पेमलासँगको बिहेपछि सिधै पोखरा आएको, कवि भूपी शेरचनसँगको निकटता लगायत कारणले पनि नारायणगोपाल पोखरासँग निकट रहेको पुष्टि हुने उनको दाबी छ । पोखरामा गरिएको पुस्तक विमोचन आफ्नो गृह विमोचन भएको बताए । साठीको दशकको अन्त्यतिर पोखरामा रेडियो अन्नपूर्णको स्टेसन म्यानेजर भएर आएका उनले स्मृति ताजगी गर्दै भने, ‘पोखरासँग मेरो छुट्टै अट्याचमेन्ट छ । म पोखरा आएर झनै अग्लिएँ । थप स्थापित भएँ अनि न्यानो माया पाएँ ।’

Advertisement


कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए । उनले भने, ‘अनुसन्धानमा समर्पित सायमीको यो पुस्तक जीवन्त पुस्तकमध्येको एक हो ।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताए । उनले भने,‘जगदीश घिमिरेको आत्मवृतान्तपछि सायमीको स्वरसम्राट नारायणगोपाल पठनीय पुस्तकका रुपमा आएको छ ।’


वरिष्ठ लोक गायीका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताइन् । त्यसको एक अंश स्वरसम्राट नारायणगोपाल पुस्तक रहेको भन्दै उनले भनिन्, ‘उहाँको कारण नारायणगोपाललाई थप अजम्बरी बनाउन सघाएको छ ।’ उनले सायमीलाई पोखरेली भन्न मन लाग्ने र पोखरेली भन्दा गर्व लाग्नेपनि बताइन् ।


कार्यक्रममा वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, टीकाबहादुर कार्की लगायतले पनि स्वरसम्राट नारायणगोपाल र लेखक प्रकाश सायमीको व्यक्तित्व र पोखरासँगको सम्बन्धबारे बोलेका थिए ।


सिटिजन फर्निचर प्रालि न्युरोड पोखराको सहयोगमा भएको कार्यक्रमको सुरु र अन्त्यमा पोखरेली गायक रामभक्त जोजिजुले स्वरसम्राट नारायणगोपालप्रति ट्रिब्युट दिएर गरिएको कार्यक्रमको सञ्चालन एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सञ्चालक दीपेन्द्र श्रेष्ठले र एभरेस्ट मिडिया हाउसकी कार्यकारी अध्यक्ष कर्मकुमारी गुरुङ धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया