क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने

समाधान संवाददाता २०८१ कार्तिक २५ गते १३:४६

काठमाडौँ । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन यही कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ।

 साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुहुने महासंघले जानकारी दिएको छ।

Advertisement

महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति  अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू, साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए ।

महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी हुने महासंघले जनाएको छ । यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्नेछ। तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

Advertisement

 महासंघको स्थापना २०७० सालमा भएको थियो, जसको उद्देश्य देशभर छरिएर रहेका क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूलाई एकताबद्ध गर्नु र व्यवसायीहरूको हकहितका लागि पहल गर्नु हो। २०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

यस महाधिवेशनको आयोजनासँगै महासंघले उद्योगका समस्याहरूको समाधानका लागि र व्यवसायीहरूको हितमा सकारात्मक कदम चाल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया